बैंकक शिखर सम्मेलनअघि नयाँ दिल्लीमा छलफल, उद्योगमन्त्री सहभागी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी भारतको राजधानी नयाँ दिल्ली जानुभएको छ । उहाँ आजदेखि आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) व्यापार सम्मेलनमा सहभागी हुन उहाँ त्यसतर्फ जानुभएको बताइएको छ ।
सम्मेलनमा बिम्स्टेकबाट नेपालको व्यापार व्यवसाय प्रवद्र्धनमा लिन सकिने फाइदा र भारतसँगको व्यावसायिक हितका विषयमा छलफल गरिने जानकारी दिइएको छ । भारतीय विदेश मन्त्रालयको सहकार्यमा कन्फेडेरेसन अफ इन्डियन इन्डष्ट्रीजले आयोजना गरेको सम्मेलनले नेपालका लागि दक्षिण एसिसाली र पूर्वी एसियाली क्षेत्रीय सौविध्यपूर्ण बजार पहुँच अभिवृद्धि, नेपालको स्तरोन्नति पश्चात नेपालले बजार पहुँच सुविधा गुमाउने सन्दर्भमा नयाँ क्षेत्रीय बजारमा सौविध्यपूर्ण बजार पहुँच प्राप्त हुने र नोक्सानी न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
उहाँ शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ । बिम्स्टेकका सरकार प्रमुखहरुको शिखर सम्मेलन आगामी भदौमा बैंककमा हुँदैछ । नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्याण्ड यसका सदस्य राष्ट्रहरु हुन् ।
टिप्पणीहरू