महानायकको चहलपहल, बिहेपछि झनै बोल्ड आँचल
अभिनेत्री केकी अधिकारीले ‘बोक्सीको घर'बाट राम्रो स्वाद चाखिन् । डेढ दशकको करिअरमा उनले ३४ वटा चलचित्रमा काम गरिन्, तर 'बोक्सीको घर'ले पहिलोपल्ट १० करोडभन्दा बढीको बक्स अफिस कलेक्शन दियो ।
उनै केकी अब ‘घर नम्बर २’ मा देखिने भएकी छन् । चलचित्रको निर्माण टिमले उनीसहित उपासना ठकुरीलाई अनुबन्धित गरेको हो । उपासना केही दिनअघि मात्रै रुकुममा ‘खुस्मा’को छायांकन सकेर काठमाडौँ फर्केकी थिइन् । लगत्तै नयाँ चलचित्रमा जोडिएकी हुन् ।
त्यसो त यो चलचित्रलाई ‘के घर के डेरा’को दोश्रो स्वीक्वेल भनिएको छ । चर्चित लेखक बुद्धिसागरकाे कथामा दिपेन्द्र के खनालले निर्देशन गर्ने चलचित्रमा अभिनेता खगेन्द्र लामिछाने, आर्यन सिग्देल र निश्चल बस्नेत यसअघि नै फाइनल भैसकेका छन् ।
त्यस्तै, महानायक राजेश हमाल लामो समयपछि चलचित्रको पर्दामा देखिदैछन् । केही दिनअघि निर्देशक दिवाकर भट्टराईले उनलाई साइन गराएको बुझिएको छ । तर, चलचत्रिको नाम र हमालको भूमिकाबारे भने केही खुलाइएको छैन । निर्माण पक्षले केही दिनपछि औपचारिक कार्यक्रम गरेर सरप्राइज दिने बताएको छ ।
उता अभिनेत्री आँचल शर्मालाई पनि चलचित्रमा भ्याइ-नभ्याई छ । बिहेपछि अभिनेत्रीहरुले फिल्म पाउदैनन् भन्ने भाष्य चिर्न सफल भएकी छन्, उनी । पछिल्लो समय आँचलको ‘डिग्री माइला’ रिलिज भएको थियो । आगामी भदौ १४ गते ‘वर एण्ड बधु’ रिलिज हुँदैछ ।फिल्ममा उनले विवेक कर्माचार्यसँग रोमान्स गरेको गीत/भिडियोबाट थाहा हुन्छ । यसबाहेक आँचलले साइन गरेका दुई वटा चलचित्र पनि छायांकनको तयारीमा छन् ।
‘जेरी अन टप’ मा आँचलले पहिलाे पटक अनमोल केसीसँग काम गर्दैछिन् । जसकाे छायांकन आगामी भदौ पहिलो हप्ताबाट शुरु हुने बताइएको छ । त्यस्तै, कृषा चौलागाईले निर्देशन गर्न लागेको ‘पिताम्बर’मा पनि उनी अनुबन्धित छिन् ।रोचक के छ भने, यो चलचित्रको छायांकन पनि आगामी भदौबाटै थालिने बुझिएको छ । अब आँचलले कसरी छायांकनको तालिका मिलाउछिन्, त्यो भने हेर्न बाँकी छ ।
सामाजिक सञ्जालमा आँचललाई ‘बिहे राम्रै फापेको’ टिप्पणीसमेत हुन थालेको छ । सञ्जालमा बोल्ड तस्वीर र भिडियो शेयर गरेर दर्शकको ध्यान केन्द्रित गर्नमा पनि उनी माहिर नै छिन् । खास त, बिहेअघि भन्दा उनले झनै खुलेर आफूलाई अभिव्यक्त गरिरहेको देखिन्छ ।
टिप्पणीहरू