बालुवाटार पुगेका सबै मुख्यमन्त्री नियुक्ति विवादबारे मौन

बालुवाटार पुगेका सबै मुख्यमन्त्री नियुक्ति विवादबारे मौन

प्रधानमन्त्री केपी शर्मा ओलीसँग लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुले सामूहिक भेटघाट गरेका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यसहित नौ जना मन्त्रीहरु प्रधानमन्त्री ओलीलाई भेट्न सरकारी निवास बालुवाटार पुगेका हुन् । 

लुम्बिनीका बहुवर्षीय योजनाहरु सम्पन्न गर्न प्रधानमन्त्री ओलीसँग सहयोग मागिएको भौतिक पूर्वाधारमन्त्री भूमिश्वर ढकालले जानकारी दिए । ‘प्रदेशमा नयाँ सरकार बनेपछि मन्त्रीहरुले प्रधानमन्त्रीसँग भेट्नु स्वाभाविक नै हो’, उनले जनआस्थासँग भने, ‘प्रदेशका महत्वपूर्ण योजना, प्रादेशिक अस्पताललगायतको विषयमा छलफल भयो ।’ 

जवाफमा प्रधानमन्त्री ओलीले सहयोगको प्रतिबद्धता जनाउनुभएको मन्त्री ढकालले जानकारी दिए । ‘उहाँले पनि जनताको आँखामा पर्ने गरी काम गर्न र जनताको हितमा कार्य गर्न आग्रह गर्नुभयो । त्यसमा आफ्नो पूर्ण सहयोग हुनेछ भन्नुभयो ’, भेटबारे उनले सुनाए । 

एमाले उपाध्यक्ष एवम् अर्थमन्त्री विष्णु पौडेल र महासचिव शंकर पोखरेलको गुटबीच लुम्बिनी एमालेमा बेलाबखत विभिन्न आरोह अवरोह भइरहन्छ । साउन ८ गते प्रदेश संसदीय दलका तत्कालीन नेता लिला गिरी मुख्यमन्त्री बन्ने पक्का भएको अवस्थामा अन्तिम क्षणमा उपनेता आचार्यलाई मुख्यमन्त्री दिइएको हो ।

आजको भेटमा उपाध्यक्ष पौडेल र महासचिव पोखरेल पनि बालुवाटार पुग्नुभएको थियो । तर प्रधानमन्त्री ओलीले मुख्यमन्त्री नियुक्तिको समयमा सिर्जित विवादबारे केही उल्लेख नगर्नुभएको सहभागीहरुले बताए ।

टिप्पणीहरू