लुम्बिनीका मन्त्रीहरूले बल्ल प्रधानमन्त्रीका कथा सुन्न पाए

लुम्बिनीका मन्त्रीहरूले बल्ल प्रधानमन्त्रीका कथा सुन्न पाए

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारी टोली शुक्रबारदेखि काठमाडौंमा अड्किएको छ । मन्त्रिमण्डल गठनसङ्गै प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटका लागि आएको उक्त टोलीले बल्ल आज दिउँसो समय पाएको छ । 

पहिले शुक्रबारको निम्ति समय तोकिएको थियो । त्यसैले टोली गत बिहीबार आयो । तर,प्रधानमन्त्रीको निजी सचिवालयले उहाँको स्वास्थ्यमा समस्या देखाउँदै दुई दिन भेटघाट रोकिदियो । त्यसपछि उनीहरु यतै रोकिए ।

आज दिउँसो सरकारी निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले अनेकौं कथा,कहानी र सन्दर्भ सुनाउनुभएको सहभागी एकजना मन्त्रीले बताए । महासचिव शंकर पोखरेल शुरुदेखि नै त्यहाँ भए पनि उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल एक घण्टा ढिलो बालुवाटार पुग्नुभएको थियो ।

‘पार्टीभित्र गुटबन्दी गर्नेलाई तह लगाउँछु । लुम्बिनीको मुख्यमन्त्री मेरै रोजाइमा छानिएको हो । चेतनारायणजी राम्रोसँग काम गर्नुहोला ।’

केन्द्र र प्रदेशको नयाँ गठबन्धनको कथा र कहानी सुनाउँदै गर्दा अर्थमन्त्री पौडेल पुगेपछि प्रधानमन्त्रीको बोली र शैली एकाएक फेरिँदा सहभागीहरु अक्क न बक्क बनेका थिए । प्रधानमन्त्रीको भनाईको सारसंक्षेप उल्लेख गर्दै एक जना प्रदेशमन्त्रीले भने,‘पार्टीभित्र गुटबन्दी गर्नेलाई तह लगाउँछु । लुम्बिनीको मुख्यमन्त्री मेरै रोजाइमा छानिएको हो । चेतनारायणजी राम्रोसँग काम गर्नुहोला ।’

तर, यसअघि प्रस्तावित मुख्यमन्त्री लीला गिरीले मिडियाबाजी गरेकोमा भने प्रधानमन्त्रीले चित्त दुखाउनुभयो । सामूहिक भेटमा प्रधानमन्त्रीले पटकपटक भूमिश्वर ढकालको नाम लिएर प्रशंसा गर्नुभएको बताइन्छ । ढकाल महासचिव पोखरेल निकट रुपन्देहीका एमाले नेता हुन् । 

एउटै जिल्लाका पौडेलको अघिल्तिर गरिएको भूमिश्वरको तारिफले उताका मन्त्रीहरूबीच राम्रै चर्चा पाएको थियो । माहौल त्यस्तै बनेपछि एक घण्टा ढिलो आइपुग्नुभएका मन्त्री पौडेल महासचिवभन्दा पहिले नै निस्कनुभयो । 

महासचिवसँगै निस्केका मुख्यमन्त्री आचार्य र मन्त्री भूमिश्वर त्यहाँबाट सोझै च्यासलस्थित पार्टी कार्यालय पुगे । काँग्रेसी कोटाका मन्त्री रोज राणा भने दलबलसहित सिनामंगलस्थित कटिया हाउसमा छिरेका थिए ।

टिप्पणीहरू