रवि लामिछानेले फेरि नागरिकता त्याग्नसक्ने मुकुल ढकालको आशंका

रवि लामिछानेले फेरि नागरिकता त्याग्नसक्ने मुकुल ढकालको आशंका
सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका तत्कालीन महामन्त्री मुकुल ढकालले रवि लामिछानेजस्ता नागरिकता त्यागेका भगौडालाई राज्यको कुनैपनि जिम्मेवारीमा राख्न नहुने बताएका छन् । उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै आज बुझाएको सुझावमा उक्त धारणा राखेका हुन् । 

उनले गत जेठ पहिलो सातादेखि झण्डै एक महिनासम्म मुलुकका ३८ जिल्लाका २०७९ जना सर्वसाधारणसँग गरिएको प्रत्यक्ष भेटमा प्राप्त सुझाव संकलन गर्ने क्रममा उक्त विषय पनि प्राप्त भएको पत्रमा उल्लेख गरेका छन् । उनले प्रशासन सुधार, स्थानीय सरकारका भ्रष्टाचार र बेथिति नियन्त्रण, मीटर ब्याज पीडितको समस्या, खानेपानीलगायत किसानको समस्या, अस्पतालसम्म पुग्ने सडक, शैक्षिक क्यालेण्डरलगायत विषय समेटेर प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । 

बुँदा नम्बर १५ मा संविधान संशोधनका लागि सुझाव भन्दै ढकालले लेखेका छन्, ‘एक पटक नेपाली नागरिकता त्यागेका व्यक्तिले फेरी नेपाली नागरिकता लिएमा त्यस्तो नेपाली नागरिकलाई नेपालको संविधानको धारा २८९ (१) बमोजिम मनोनयन वा नियुक्त हुन दिनुहुँदैन ।’ नाम उल्लेख नगरिए पनि यो स्पष्टसँग उनकै पार्टी रास्वपाका सभापति रवि लामिछाने लक्षित रहेको स्वतः अनुमान गर्न सकिन्छ । 

यसबारे स्पष्ट पार्दै भनिएको छ, ‘वयस्क भइसकेपछि नागरिकता त्याग्ने व्यक्ति राज्यको महत्वपूर्ण उच्च ओहोदामा नियुक्ति हुँदा ती व्यक्तिको मगजमा फेरी राष्ट्र त्यागिदिने मनोविज्ञान नआउला भन्न नसकिने भएकाले यो व्यवस्था संविधानको मर्म कार्यान्वयनका लागि संविधानमा नै राखिन आवश्यक छ ।’
 

टिप्पणीहरू