प्रधानमन्त्री ओलीलाई कतारको निम्तो

प्रधानमन्त्री ओलीलाई कतारको निम्तो
सुन्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीलाई कतार भ्रमणको निम्तो आएको छ ।  

नेपालका लागि कतारी राजदूत मिसल मोहम्मद अल अन्सारीले आगामी अक्टोबरमा हुने एशियन कोअपरेशन डायलग (एसिडी)मा सहभागी हुन त्यहाँका राजाको तर्फबाट निमन्त्रणा दिएका हुन् । प्रधानमन्त्रीलाई निम्तो पत्र हस्तान्तरण गर्न राजदूत अन्सारी हिजो साँझ सिंहदरबार पुगेका थिए । 

३५ मुलुक आबद्ध एसिडीमा नेपाल सन् २०१६ देखि सदस्य रहँदै आएको छ । तर, प्रधानमन्त्रीको कतार भ्रमण हुने नहुने निश्चित छैन । 

नेपालका प्रधानमन्त्रीले सबैभन्दा पहिले भारत गएर विदेश भ्रमणको सुरुवात गर्ने प्रचलन रहँदै आएको छ । २०६५ मा पहिलो पटक प्रधानमन्त्री हुँदा पुष्पकमल दाहाल प्रचण्डले बेइजिङलाई आफ्नो पहिलो विदेश भ्रमणको गन्तव्य बनाउनुभएको थियो । त्यसपछिका प्रधानमन्त्री झलनाथ खनालबाहेक सबै प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारत नै भयो । 

असार ३० गते प्रधानमन्त्री नियुक्त हुनुभएका ओलीलाई नयाँ दिल्लीले औपचारिक भ्रमणको निम्तो दिइसकेको छैन । तर,उहाँ आगामी महिना थाइल्याण्ड जाने कार्यक्रम तय भएको छ । भदौ १९ र २० गते हुने छैटौं बिम्स्टेक शिखर सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री ओली थाइल्याण्ड जान लाग्नुभएको छ । 

सम्मेलनमा नेपालसहित भारत,बंगलादेश,भुटान, म्यानमार र श्रीलंकाका राष्ट्रप्रमुख तथा प्रतिनिधिको सहभागिता रहनेछ ।

टिप्पणीहरू