बलिदानलाई ख्यालख्याल नठान्न प्रधानमन्त्रीको सुझाव
प्रधानमन्त्री केपी शर्मा ओलीले १८ वर्षको अथक प्रयासपछि संक्रमणकालीन न्यायसम्बन्धी विधयेकमा सहमति जुटेकामा खुशी व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उहाँले नेपालको शान्ति प्रक्रिया दुनियाँका लागि उदाहरणीय भएको पनि बताउनुभयो ।
‘केही देशहरुमा मात्रै यति राम्ररी शान्ति प्रक्रिया सफल भएका छन् र हामी पनि द्वन्द्व अन्त्य गरेर शान्ति स्थापना गर्न सफल भयौं’, प्रधानमन्त्रीले भन्नुभयो, ‘यसमा म खुुसी व्यक्त गर्दछुु । यो हाम्रो सफलता दुनियाँका लागि उपयोगी हुन सक्नेछन् ।’ प्रधानमन्त्री ओलीले लोकतन्त्रमा संविधान संशोधन सामान्य कुरा रहेको पनि बताउनुभयो ।
लोकतान्त्रिक प्रणालीमा संविधान संशोधनीय दस्तावेज रहेको उहाँको भनाई छ । संविधान संशोधनबारे बोल्दै उहाँले यसलाई थप प्रभावकारी बनाउन समयानुकुल गराइने भनिएको स्पष्ट पार्नुभएको छ ।
त्यस्तै, प्रधानमन्त्रीले लोकतन्त्रकै लागि लाखौँ जनताले बलिदानी गरेको स्मरण गर्दै लोकतन्त्रप्रतिको आफ्नो प्रतिबद्धतामा शंका नगर्न पनि आग्रह गर्नुभयो । ‘हामी लोकतन्त्रको लागि लडेका हौँ, बलिदान दिएका हौँ, बलिदान ख्याल ख्यालकै कुरा हैन, कठिन कुरा हो । यसका लागि धेरै जनताको रगत बगेको छ । एक दुई जनाको हैन’, प्रधानमन्त्री ओलीले भन्नुभयो ।
टिप्पणीहरू