पोखरामा मध्यराति यति ठूलो प्लान

पोखरामा मध्यराति यति ठूलो प्लान

एउटा नारा छ प्रहरी मेरो साथी । राम्रो हुँदा एक हदसम्म यो ठीकै पनि होला तर सानो केही बिठ्याइँ मात्र होस् त प्रहरीले लाठी हान्न छोड्लान् ? यस्तै पछिल्लो उदाहरण हुन् पोखराका सुजन गहतराज । यता आउने कुन प्रहरी प्रमुखसँग उनको हिमचिम बाक्लिएन होला ? महँगो रक्सी खुवाउनेदेखि दोहोरी साँझ, डिस्कोमा आफ्नै गाडीमा बसाएर कुन हाकिमलाई पुर्‍याएनन् होला ? वडा प्रहरी कार्यालय बैदाममा डिएसपी राजेन्द्र श्रेष्ठ हुँदा उनको फुर्तिफार्ती स्थानीयले निकै अस्वाभाविक ठान्थे । राजेन्द्र श्रेष्ठकै पालामा हिरासतबाटै हत्कडीसहित थुनुवा भागे पनि । भागेका थुनुवालाई भोलिपल्ट समात्न सफल पनि भए तर यसैमा खेलेर उनलाई दुईहप्ताअघि मात्रै ट्राफिक व्यवस्थापन महाशाखामा तानियो । 

बैदाममा अहिले हेडक्वार्टरबाट सन्तोष निरौला खटिएका छन् । उनैको स्वागतमा महँगो बुके बोकेर हाजिर भए सुजन । स्वागत सेलाउन नपाउँदै सुजनको हातमा निरौला हत्कडी लगाउन बाध्य भए । कारण बिमाको लोभमा आफ्नै पसलमा आगो झोसेको हो । घटना साउन १६ गतेको हो । खाना खाइवरी सुत्ने तर्खरमा रहेका सुजनलाई साढे दशबजे आसपास साथी पवन नेपालको फोन गर्‍यो । पोखरा बस्ने यी दुबैको स्थायी घर भने स्याङ्जा आँधिखोला हो । दुबै काङ्ग्रेस कार्यकर्ता । सुजन फोन आएलगत्तै ग ३ च ६२६६ नम्बरको गाडी निकालेर हुइँकिए । पोखरा महानगरपालिका –६ नारेश्वर चोकस्थित  मुक्तिनाथ सपिङ सेन्टरका साहु सुजन र व्यवहार बिग्रेर थला परेका पवनको भेट ड्यामसाइडस्थिते झिर रेष्टुरेण्टमा भयो । झिरमा बसेर पिर बिसाउँदै प्रशस्त बियर पिए । यसै क्रममा पवनले आफूले सफल पोल्ट्री फार्ममा आगो लगाएर इन्स्योरेन्सबाट ३१ लाख चप्काएको भन्दै उकाए । पवनलाई गत चैत्र २ गते २ करोड १० लाखको हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडमा विमा गरेको थाहा थियो यसर्थ मापसेले मैमत्त भएका सुजनलाई दिमाग भुटिदिए । घर हिँडेका उनीहरू पसलमा पसे रातको २ बजेतिर । पसलमा १०/१५ मीनेट जति बसेर सुजन निस्किए भने पवन भित्रै बसे । सुजन आफ्नै गाडी लिएर केही पर पुग्दा पवन निस्किए । पवन निस्कँदा ठुलो आवाज आएर पसल जल्न थाल्यो । 

सो सपिङ सेन्टर रहेको घर गण्डकी कलेजका डाक्टर थानेश्वर पहारीको हो । भुइँ तलामा सपिङ सेन्टर त्यसमाथि उपकार सहकारी संस्था । माथिल्लो तलामा घरबेटी र भाडामा बस्ने दुई दर्जन बढी मान्छे । समयमै बैदाम प्रहरीलाई पसल सम्मुखका स्थानीयले खबर गरिदिए । खबर मात्रै गरिदिएनन् पहिलेदेखिको सबै हर्कत मोबाइलमा कैद गरेका थिए । महानगरको दमकल, प्रहरी फोर्स र स्थानीयको सक्रियतामा करिब एकघण्टामा आगो नियन्त्रणमा त आयो पसल भने पूर्ण नष्ट भयो । भोलिपल्टै सुजनले इन्स्योरेन्स दावी गर्दै निवेदन पेश गरे भने घटनाको सत्यतथ्य पत्ता लगाइदिन प्रहरीमा उजुर हाले । जब विमा दावी गर्दै निवेदन दिएको घरबेटीले चाल पाए अनि सुजनलाई च्याप्न थाले । प्रहरीलाई भन्दा पहिले नै पसल जलाउनमा सुजनहरूकै हात रहेको भिडियो प्रहारीको हातमा पुगिसकेको थियो । 

पहारीले सुजनलाई सबै कुरा भने अनि १ करोड ३० लाख क्षतिपूर्तिको माग गरे । विमाबाट २ करोड माथि नै आएपनि करोड बढीको आफ्नो लगानी हिसाबकिताब गर्दा घरबेटीको मागमा सहमति हुन नसके पनि वडा अध्यक्षको रोहवरमा ८० लाख क्षतिपूर्ति दिने, घरबेटीले कतै उजुरबाजुर नगर्ने, घर मर्मत आफैंले गर्ने र विमा रकम प्राप्तिको लागि सहयोग गर्ने मञ्जुरी नाम साउन १७ मा भयो । सुजनले १० लाख ३० लाख र ४० लाखको तीनवटा चेक थमाउँदै भदौ ५ मा १० लाख दिने सहमति तोडे । पहारीले सहमति गरेको भोलिपल्टै ४० लाख माग गरे । सुजनले तत्कालै यत्रो रकम दिन नसक्ने भनेपछि ७५ लाख मागदाबी सहित वडा प्रहरी कार्यालयमा उजुर हाले । उता इन्स्योरेन्स कम्पनीलाई पनि भिडियोसमेत दिएर विमा रकमबाट बञ्चित गराउने दाउमा थिए । विमा कम्पनीलाई पनि के खोज्छस् काना आँखो भनेझैं भयो । उसले पनि सुजनलाई विमा रकममा दावी बिरोध नगर्ने भन्दै कागज गरिदियो । अनुसन्धानको सुइ सुजन र उनको साथी पवन नेपालको थाप्लोमा सोझियो । सिसिटिभी फुटेज हेर्दा आगालागीमा उनीहरूकै करामत देखियो । 

घटनाको चारदिनपछि पक्राउ परेका उनीहरूमाथि अपाराधिक उपद्रव गर्न नहुने मुद्दा चलेको छ । २७ गते म्याद थप गरी अनुसन्धानका लागि हिरासतमा छन् दुई भाइ । यदि घटना पुष्टि भए २ वर्षदेखि ५ वर्षसम्म कैद र ५० हजारदेखि १ लाखसम्म जरिवानाको प्रावधान छ । 

-अञ्जनकुमार हिमालीबाट

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू