थप नियामक नथप्न निजी क्षेत्रको आग्रह

थप नियामक नथप्न निजी क्षेत्रको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र हेर्न थप नियामक नथप्न आग्रह गरेका छन् । सरकारसहित अन्य सरोकारवालाको सहकार्यमा महासंघले आयोजना गरेको ‘स्टार्टअप नेन्सन २०३०’ मा उनले हाल निजी क्षेत्र हेर्ने डेढ दर्जन निकाय रहेको भन्दै थप नियामक नथप्न अनुरोध गरेका हुन् । 

सरकारले पछिल्लो समय निजी क्षेत्रलाई महत्व दिएको आफुहरुले महसुस गर्दै आएको उल्लेख गर्दै अध्यक्ष ढकालले लामो समयदेखि उठाउँदै आएको उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गर्ने अर्थ मन्त्रालयको निर्णयप्रति खुशी समेत व्यक्त गरे  

‘यसले अन्तरनिकाय समन्वय गरी अल्प, मध्य र दीर्घकालीन महत्वका विषयमा महत्त्वपूर्ण निर्णय गर्नेछ,’ उनले भने । तर, बैंक तथा वित्तिय संस्थासम्बन्धी ऐनको प्रस्तावमा भने एक प्रतिशतभन्दा बढी सेयर हुनेले कुनै पनि संस्थाबाट ऋण लिन नपाउने व्यवस्था गरिएकोमा आपत्ति जनाउँदै उनले यसले आर्थिक वृद्धिमा असर पर्ने बताए । 

अध्यक्ष ढकालले उद्यमशीलता विकास गर्नुपर्ने बेलामा निजी क्षेत्रलाई निरुत्साहित गर्न नहुने भन्दै युवाहरुलाई उद्यमी बनाउन र अर्थतन्त्रमा योगदान पुर्याउन ढिलो भइसकेको पनि औंल्याए । ‘अमेरिकामा स्टार्टअपले करिब २५ प्रतिशत रोजगारी सिर्जना गरेको विभिन्न अध्ययनले देखाएका छन् । भारत संसारको तेस्रो ठुलो स्टार्टअप सञ्जाल भएको मुलुक बनेको छ । हामीजस्तै अति कम विकसित मुलुक बंगलादेशमा वर्षको करिब दश अर्ब स्टार्ट अपमा लगानी हुन थालेको छ,’ उनले भने, ‘हामीकहाँ पनि यो सम्भावना छ । नेपालमा ६५ प्रतिशत जनसंख्या १५ देखि ६४ वर्ष उमेर समूहका छन । ती युवाहरु नेपालमा निजी क्षेत्र फस्टाउन नसक्दा रोजगारी दिन सक्ने निजी क्षेत्र भएको मध्यपूर्व र मलेसियामा काम खोज्न गएका छन् ।’

अहिले नेपालले पनि तीव्र आर्थिक विस्तार गर्ने सम्भावना रहेको उल्लेख गर्दै उनले थपे, ‘हालसम्मकै उच्च विदेशी मुद्राको सञ्चिति छ । भुक्तानी सन्तुलन सहज अवस्थामा छ । बैंकसँग लगानी गर्न पर्याप्त रकम छ । क्रेडिट रेटिंग पनि भइरहेकाले विदेशी लगानी आउने सम्भावना छ ।’
 

टिप्पणीहरू