प्रधानमन्त्रीको पछि लागेका फिल्म निर्देशकको करोडौं स्वाहा, श्रीमतीको सँधै गनगन

प्रधानमन्त्रीको पछि लागेका फिल्म निर्देशकको करोडौं स्वाहा, श्रीमतीको सँधै गनगन

प्रधानमन्त्री केपी शर्मा ओली अभिनित चलचित्र  ‘नमेटिने घाउ’ फ्लप भएको छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीले समेत अतिथि भूमिका निभाएको उक्त चलचित्रले दुई करोड लगानी डुबाएको हो । 

अभिनेता रंमित ढुंगानाले निर्देशन गरेको यस चलचित्रको प्रचार–प्रसारका लागि कुनै कसर बाँकी राखिएको थिएन । गत शुक्रबार प्रदर्शनमा आएदेखि हलमा दर्शकको संख्या शून्य हुँदै गएको छ ।

सामान्यताया ः एउटा चलचित्र चल्नु वा फ्लप हुनुमा धेरै कुराले फरक पार्छ । चलचित्रले पाउने दैनिक शो संख्या र प्राइम टाइम, चलचित्र वितरक, चलचित्रको कथा, कलाकार आदी–आदी । यी सबै कुराहरु मिलेर चलचित्रले प्रदर्शनको मितिदेखि एक दुई दिनसम्म दर्शकलाई हलसम्म तान्न सक्यो भने बल्ल ‘वर्ड अफ माउथ’ले ठाउँ पाउँछ । चलचित्रको कन्टेन राम्रो भयो भने हप्तौंसम्म चल्छ, राम्रो भएन भने दुई तीन दिनमै पर्दाबाट उत्रिन्छ । 

तर ‘नमेटिने घाउ’ले भने ‘वर्ड अफ माउथ’को लागि समेत दर्शक पाउन सकेन । प्रदर्शनको आज चौथो दिनमा आइपुग्दा हलमा चलचित्र हेरेर प्रतिक्रिया दिने दर्शकको अभाव देखिएको छ । 

चलचित्र डुबेपछि यतिबेला निर्मातासमेत रहेका निर्देशक ढुंगाना तनावमा छन् । चलचित्र बनाउँदा लगानी गरेको दुई करोड स्वाहा भएको उनले स्वीकारेका छन् । ‘नराम्ररी डुबे नि, के गर्नु, लगानी सबै स्वाहा भयो, आश गर्ने ठाउँ छैन,’ उनले जनआस्थासँग भने, ‘म चकित पर्या छु, के भा हो, भा हो ।’ 

रमितले चलचित्र निर्माण गर्दा कथा र छायाङ्कनमा गरेको मिहेनत पनि सबै खरानी भएको जिकिर गरे । ‘१२५ जनालाई ५५ दिन विभिन्न जिल्ला पुर्याएर खिच्या थिएँ, मेरो त क्यामेरा नै अरुको भन्दा ठूलावाला । लाइट मात्रै २२ लाखको हो । दुई करोड हारहारी हो, सबै मेहनत खरानी भयो’, उनले थपे । 

‘सामाजिक सञ्जालमा त राम्रै चर्चा भएको थियो, हलमा किन दर्शक गएनन् होला ?’ भन्ने जनआस्थाको प्रश्नमा रमिले जवाफ दिए, ‘पोलिटिक्स नि सर । म राजनीति गर्ने मान्छे होइन । एसिड आक्रमणका परेका पीडितहरुसँग छलफल गर्दा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र यी यी सांसदहरुले अध्यादेश ल्याएर हामीलाई सहयोग गरेका हुन् भन्ने भयो । मैले पनि कथाको माग अनुसार उहाँलाई फिल्मको लागि प्रस्ताव गरे । तर अहिले पूरै बाइकट (बहिष्कार) गरियो ।’

‘यसलाई बाइकट नै भन्न मिल्छ र ?’ भन्ने प्रतिप्रश्नमा उनले थपे, ‘यो पक्का बाइकट हो नि । पहिलो कुरा त जनतामा नेताहरु प्रति निकै वितृष्ण देखियो । नेता र राजनीति भन्न बित्तिकै जनतालाई इरिटेड लाग्दो रहेछ, अचेल । दोश्रो, यहाँ अनेकौ पार्टी छन् । एउटा पार्टीका कार्यकर्ताले अर्को पार्टीको नेतालाई बहिष्कार गर्ने नै भए । कतिसम्म भने मेरै घरको भतिजको मोबाइलमा ओलीको फिल्म बहिष्कार गर्नुपर्छ है भन्ने मेसेज आएको देखेँ । पूरै साइबर सेनाहरुले मेसेज फैलाउदा रहेछन् । यो त पक्का बाइकट हो सर । म त्यही बहिष्कारको शिकार भए । तनाव भाको छ । सोच्दै नसोच्या भयो, यो त ।’

रमितले हलमा दर्शकको संख्या देखेर चलचित्रमा अभिनय गरेका प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्री नेपालसहित सांसद पौडेल र शाहीलाई फिल्म हेर्न निमन्त्रणा दिने जाँगर समेत नचलेको बताए । भने, ‘अहिलेसम्म खबर गर्या छैन सर, जाँगर नि चल्या छैन ।’ 

चलचित्र सामाजिक कथावस्तुमा केन्द्रित भएपनि दर्शकमा राजनीतिक विषयवस्तु हो कि भन्ने भ्रम सिर्जना भएको रमितको अनुमान छ । बरु अहिले चलचित्रको लगानी (दुई करोड) फिर्ता नहुने संकेत देखिएपछि घरका अन्य सदस्यहरुले गाली गर्न थालेको रमितले सुनाए । अमेरिकामा भएकी श्रीमतिले पनि गाली गरेको उनको दुःखेसो छ । 

‘फिल्मको हालत देखेपछि घरका मान्छेले गाली गरेर छुट्टै तनाव छ फेरि, पैसा कुरा हो, डुबेपछि कराउने नै भए’, उनले दुखेसो पोखे, ‘उता मेरो श्रीमति अमेरिकामा छे, म वर्षमा एक पटकमात्रै त्यहाँ जाने हो । उसले नि मायाप्रेम, एक्शनको फिल्म बनाउन छाडेर के को देशभक्ति फिल्म बनाउने भूत चढ्या छ त भनेर गाली गरेको गर्यै छ ।’ 

आफूलाई भने देशभक्ति भावना र सन्देशका चलचित्र बनाउन मन लाग्ने रमितको अनुभव छ । सुनाउँछन्, ‘घरकाले गाली गर्छन्, मलाई फेरि देश, राष्ट्रप्रेमवाला बनाउन मन लाग्छ । यो फिल्म चलेको भए मलाई पृथ्वीनारायण शाहको जीवनबारे फिल्म बनाउन मन थियो । के गर्नु, सबै सकियो । पहिला बुद्ध बर्न इन् नेपाललाई पनि दर्शकले बुझ्न सकेनन् । खै, के हो–के हो । चकित छु सर, म त ।’

अन्त्यमा उनले, चलचित्रको २० प्रतिशत लगानी पनि नउठ्ने संकेत देखिएपछि चलचित्र वितरक मनोज राठीसँग पनि चलचित्रको कलेक्सनबारे जानकारी नलिएको बताए ।

टिप्पणीहरू