धर्मका नाममा नेपाललाई यसरी ध्वस्त बनाइँदैछ
धर्म के हो ? विश्वास हो, आस्था हो, कर्तव्य हो, अनुशासन हो, पहिचान हो, अस्तित्व हो । धर्म के होइन ? अन्धविश्वास होइन, आडम्बर होइन । धर्म प्रकट कसरी हुन्छ ? भगवानको पूजापाठ गरेर, भजन किर्तन गाएर, मन्त्र जपेर, पुराण लगाएर ? कि मानव सेवामा समर्पित भएर ? यसमा सबैको बुझाई एकरूप छैन, तथापि धर्म यस्तो हतियार हो जसले भौगोलिक सीमाभन्दा बाहिर रहेका मान्छेलाई समेत यौटै भावनात्मक डोरीले बाँधेको हुन्छ ।
तर, धर्मलाई आस्था, विश्वास र कर्तव्यका रुपमा होइन, अन्धविश्वास र अराजकताका रुपमा लिने प्रवृत्ति मौलाउँदो छ । धर्मको आडमा समाजमा बिकृति फैलिरहेको छ । ‘राज्य विप्लव’को तहमा दुरुपयोग गरिंदैछ । पशुपतिनाथ मन्दिर प्राङ्गणमा एक महिना (साउनभर) चलेको कोटीहोम महायज्ञका नाममा भएको ‘धार्मिक महोत्सव’ र आयोजकले राज्यमाथि तेर्स्याएको चुनौतीको सन्दर्भ हो यो ।
हिन्दुहरुले पवित्र भूमिका रुपमा पुज्ने पशुपति क्षेत्र दुई सताअघि रणभूमिमा परिणत भयो । कोटीहोमका मुख्य आयोजक विजय कृष्णमूर्ति अर्थात् विजय भण्डारीसँगै उनका अन्धभक्तको जत्था प्रहरीमाथि आक्रमणमा उत्रियो । धर्मको आडमा अनेकौँ आपराधिक घटनामा जोडिएका पात्र हुन् भण्डारी । झण्डै डेढ दशकअघि ठगीको आरोपमा पटक–पटक प्रहरी हिरासतमा पुगेका थिए उनी । तसर्थ भण्डारी राज्यको नजरमा एकजना आरोपी हुन् । तर, धर्मको नशामा लठ्ठिएको भीडले यथार्थ बुझ्ने चेष्टा गरेन, फलतः एउटा ‘अपराधी’को अगाडि राज्य झुक्नुपर्यो ।
भण्डारी मुख्य आयोजक रहेको उक्त कोटीहोम आफैँमा विवादित छ । वास्तवमा धर्मको नाममा कसरी आममान्छेलाई प्रभावमा पारेर लुटधन्दा चलाइन्छ भन्ने यो घटना एउटा प्रतिनिधि उदाहरणमात्रै हो । पछिल्लो समय धर्मका नाममा हुने अराजक गतिविधि राज्यले नियन्त्रण गर्नै नसक्ने तहमा विस्तार हुँदैछ ।
खासगरी भारतीय सीमासँग जोडिएका तराईका जिल्लामा विभिन्न धार्मिक समूहबीच विवाद र भिडन्त हुने गरेको छ । केही समयअघि जनकपुरमा हिन्दुहरुले क्रिश्चियनलाई मोसो दलेर लखेटे । बाँकेमा दुई धार्मिक समुदाय आमने–सामने हुँदा झडपको रुप लियो । सुनसरीको हरिनगरमा धार्मिक विवादले उग्ररुप लिँदा धेरै दिनसम्म कर्फ्यु लगाउनुपर्ने अवस्था निम्तियो । त्यसअघि धरानमा गोरु काटेर खाएको विषयले पनि दुई धार्मिक समुदाय सडकमा उत्रिएका थिए ।
कुनै समय उच्च धार्मिक सद्भाव कायम रहने गरेको नेपालमा हिन्दु धर्मको प्रचार गर्ने बहानामा भारतबाट अनेक प्रकृतिका पात्रहरु आइरहेका छन् । धर्मगुरु, प्रवचक, साधुसन्तलगायत विविध भेषमा नेपाल छिर्नेहरुमाथि राज्यको निगरानी छैन मात्र होइन, मन्त्री,दलका नेता, जनप्रतिनिधि नै स्वागतका निम्ति प्रतिष्पर्धा गरिरहेका हुन्छन् । जब दुई समुदाय भिडन्तमा उत्रिन्छ तब प्रहरी परिचालन गर्नेबाहेक राज्यले कुनै भूमिका देखाउन नसक्दा अतिवादीहरुले यसरी खुलेआम प्रवेश पाइरहेका छन् र विजयकृष्ण भण्डारी जस्ताको मनोबल उठिरहेको छ ।
नेपालमा बेलाबेला प्रकट हुने धार्मिक विवादको जरोसम्म पुगेर दीर्घकालीन समाधान खोज्न ढिला भैसकेको छ । यसका लागि धार्मिक अतिवादीहरुलाई नियन्त्रण गर्दा अलोकप्रिय होइने चिन्ताबाट शासकहरु मुक्त हुनै पर्छ । धर्मका नाममा चलिरहेका लुटधन्दा र राज्यविरुद्धकै अपराधको तहमा किन विकसित हुँदैछ ? यसको कारण नखोजी समाधान निस्कँदैन ।
वास्तवमा नेपालमा धार्मिक द्वन्द्वको मुख्य बिऊ भारतीय जनता पार्टी (भाजपा)को मातृ पार्टी आरएसएस हो । पछिल्लो लोकसभा चुनावपछि भाजपासँग सम्बन्ध चिसिएको र त्यसको असर चुनावी परिणाममा देखिएको आरएसएसको दाबी रहँदै आएको छ । उसका गतिविधि भारतकै लागिसमेत टाउको दुःखाईको विषय बनिरहेको अवस्थामा नेपालले यसबारे जरैसम्म पुगेर अध्ययन गर्नुपर्ने हुन्छ । किनभने आरएसएसका गतिविधि शुद्ध धार्मिक नभई धर्मको आवरणमा आफू अनुकूल राज्य चलाउनेतर्फ लक्ष्यित देखिन्छ । धार्मिक लडाकू उत्पादन गर्न तालिम दिने, ब्यारेक सञ्चालन गर्नेजस्ता गतिविधि भारतमा चलिरहेको छ । धर्मान्तरणको यो उग्र प्रवृत्ति त्यहाँबाट विकास हुँदै नेपालसम्म आइपुगेकोमा सायदै कसैको शंका होला !
जानकारहरुका अनुसार नेपालमा पनि आरएसएसको प्रभाव धार्मिक गतिविधिमा मात्र सीमित छैन । प्रत्येक राजनीतिक दलमा उसको शक्तिशाली नेटवर्क छ । कतिसम्म भने चुनावमा कसलाई टिकट दिने भन्नेसम्मको हस्तक्षेप गर्नसक्छ । हिन्दुराष्ट्रको पक्षमा वकालत गर्ने राप्रपामात्र होइन धर्मप्रति नरम दृष्टिकोण राख्ने कांग्रेसमा झन् धेरै आरएसएसको प्रभाव छ, भनिन्छ ।
गत चुनावताका टिकट वितरणमा कांग्रेसभित्र आरएसएस घुसेको र अमरेशकुमार सिंहलाई आउट गरिएको जानकारहरुको दाबी रहँदै आएको छ । जबकि त्यतिबेलासम्म अमरेशको साउथ ब्लकसँग सम्बन्ध बिग्रिसकेको थिएन । व्यक्तिगत हिसाबमा भारतीय विदेश मन्त्रालय र यहाँस्थित राजदूतसँग दोस्ती राम्रै थियो । तर, उता भाजपासँग सम्बन्ध चिसिँदै गरेको अवस्थामा उन्मुक्त रहेको आरएसएसका नेपाल प्रमुख र अमरेशबीच द्वन्द्व चर्कियो । त्यसकै आधारमा बूढानिलकण्ठलाई दबाब दिएर आरएसएसले कांग्रेसको उम्मेदवारी लिष्टबाट उनको नाम हटाइदियो । त्यसपछि स्वतन्त्र उठेर अहिले संसदमा छन् ।
अर्कोतिर, नेपालभर नेटवर्क रहेको आरएसएसले खासगरी तराईमा सञ्चालित मिडियामार्फत आफ्नो प्रभाव विस्तार गरिरहेको छ । बाहिर नदेखिए पनि भित्रभित्र मिडियाका मालिक उसको कब्जामा परिरहेका छन् । पहिले भारतीय दूतावासमार्फत हुने गरेको आर्थिक सहयोग अहिले आरएसएसमार्फत जाने गरेको छ । यी सबै घटनाक्रमलाई केलाइरहेको उच्च प्रहरी स्रोत भन्छ– ‘अहिले नेपालमा देखिएको धार्मिक द्वन्द्व यसैको उत्पादन हो ।’
विगतमा पनि धार्मिक विवादका घटना नभएको होइन । तर,त्यस्ता विरोध शान्त र शालीन प्रकृतिका हुन्थे । डरलाग्दो अवस्था के छ भने यस्ता उग्रता क्रमशः बढ्दै गएकोमा कुनै एक व्यक्तिभन्दा पनि त्यसले प्रवृत्तिकै रुप लिंदैछ । र, अझै विकराल रुप लिनसक्ने खतरा छ ।
हिन्दु धर्मको संरक्षण गर्नेभन्दा पनि शक्ति र पहुँच देखाएर राज्य शक्ति कब्जा गर्नेतर्फ यो प्रवृत्ति अग्रसर छ । ‘यस किसिमको प्रवृत्ति क्रमशः विकास भएर गएको छ र भविष्यमा अझ बिकराल रुप लिने खतरा देखिन्छ’, उच्च प्रहरी स्रोत भन्छ, ‘यो कसैको नियन्त्रणमा पनि छैन । राप्रपा वा कुनै पार्टी, विश्व हिन्दु महासंघको कन्ट्रोलमा देखिंदैन ।’
हिन्दुत्वका नाममा यसरी अराजकता बढिरहँदा अर्कोतिर क्रिश्चियनहरु पनि बिस्तारै सल्बलाउन थालेको प्रहरी स्रोतको बुझाई छ । खासगरी पूर्वी नेपालमा त्यसको प्रभाव देखिन थालेको छ । धरान उपमहानगरका मेयर हर्क साम्पाङ राई र पद्मसुन्दर लावतीका छोरा डा. महेन्द्र लावतीलगायतले पहिचानका नाममा जानेर–नजानेर त्यसको अगुवाई गरिरहेको दावी गरिन्छ । कतै हिन्दुलाई उचाल्ने त कतै क्रिश्चियनलाई उराल्ने र मुलुकलाई द्वन्द्वमा लैजाने भूमिका दुर्गा प्रसाईंको टोलीले पनि खेलिरहेको छ । राजावादीहरु त घोषितरुपमै लागेकै छन् ।
यस सन्दर्भमा बंगलादेशको घटना नेपालका लागि शिक्षा हुनसक्छ । जस्तो, चटगाउँ हिलसाइड जुन बर्मा, बंगलादेश र भारतको त्रिदेशीय बिन्दु पनि हो । त्यहाँ केही प्रतिशत इजरायली यहुदी छन् । हमासविरुद्धको आक्रमणमा लगभग साढे २ सय फाइटर त्यहाँबाट लड्न गएका थिए । त्यो क्षेत्रमा क्रिश्चियनहरुका लागि अगाडि सरेको अमेरिका र युरोपियन युनियनले नेशनल आर्मी नामक विद्रोही समूह खडा गरेको छ ।
विद्यार्थी आन्दोलनको सानो झिल्कोले सत्ता डढाएपछि देश छोडेर भागेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले उक्त त्रिदेशीय बिन्दुमा अमेरिकी फौज तैनाथ गर्न नदिएका कारण आफ्नो सत्ता ढलेको दाबी गर्नुले पनि धेरैकुरा प्रष्ट हुन्छ ।
यता, मणिपुरमा पारिपट्टी बर्माबाट मान्छे छिरिराखेका छन् । आफूहरुलाई अल्पमतमा पार्ने हिसाबले क्रिश्चियनहरुले मान्छे प्रवेश गराइरहेको हिन्दुवादीहरुको आरोप छ । यस्तै प्रकृतिको ‘मुभमेन्ट’ का लागि नेपालमा पनि ‘युथ काउन्सिल’का नाममा युवाहरुलाई संगठित पार्ने काम भैरहेको छ । आवश्यक परेका बखत सामाजिक सञ्जालमार्फत प्रयोग गर्ने उद्धेश्यले तयार पारिएको काउन्सिललाई पश्चिमाहरुको सहयोग छ, भनिन्छ ।
टिप्पणीहरू