जो कहिल्यै जिल्ला नआए पनि ‘इन्चार्ज र अध्यक्ष’

जो कहिल्यै जिल्ला नआए पनि ‘इन्चार्ज र अध्यक्ष’
सुन्नुहोस्

‘बा’ले किन जहिल्यै रोल्पालाई हेप्छन् ? कि दाइ पोखरेलको रवैया हो ! यत्ति भनेपछि एमाले नै हुँ भन्न मलाई के मुस्किल ! रोल्पा पार्टीमा रगत र पसिना बगाएका सबै एमालेजन बराबर हुनुपर्छ । तर, एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले कार्यविभाजन अर्थात् जिम्मेवारी बाँडफाँड गर्दा किन सोच–विचार गरेनन् ! यसो भन्दै गर्दा कमरेड बादलको पछि लागेर एमाले भित्रिएका रोल्पाका एकथरि कमरेड पनि नमज्जा मानिरहेका छन् ।

भर्खरै आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको जागिर सक्किएपछि एमाले रोल्पाको इन्चार्ज बनाइएका गोकुल घर्तीप्रति एमालेपंक्ति रुष्ट छ। दशैं र तिहारको मौका छोपी वर्ष दिनमा एकपटक जिल्ला आउने कमरेडलाई इन्चार्जको भारी बोकाउँदा बन्छ त पार्टी ? जसलाई रोल्पा पार्टीप्रति कुनै चासो छैन,उसैलाई इन्चार्ज ? अध्यक्ष र महासचिवमाथि उब्जिएका यस्ता धेरै प्रश्न जीवितै छन्,जसको लेखाजोखा भइरहने छ । कुरो, गोकुल कमरेडको मात्रै होइन, उहाँसमेत मुख्य नाइके रहेको विवादित जिल्ला अधिवेशनको पनि हो । कहिल्यै जिल्ला नबस्ने, दाङनिवासी अमृतकुमार बुढालाई जिल्ला अध्यक्ष बनाउँदा एमाले पंक्ति चिन्तित छ। अब त झन् गोकुलको प्रवेशपछि एमाले रोल्पामा भाँडभैलो शुरु भएको छ।

कहाँसम्म भने जिल्ला इन्चार्ज र जिल्ला अध्यक्षको त्रिवेणी गाउँपालिकामै अहिलेसम्म बैठक बस्न सकेको छैन । अनि, बन्छ त रोल्पामा एमाले,अनि खुशी हुन्छन् कार्यकर्ता ? जिल्लाको कमान्ड सम्हाल्न गोकुल र अमृतले महासचिव पोखरेलको दयामाया पाएपछि कुमार दशौदी,नवीन रोका, यमुना रोका,ईश्वरी घर्ती,शान्तराम वलीहरु विचराको अवस्थामा पुगेका छन् ।

नवीनचाहिँ इन्चार्ज खोसिएपछि मौन छन् । अन्तिममा अध्यक्ष कमरेडलाई भन्न मन छ, ‘बा भन्दै काठमाडौँमै बस्ने,राजनीतिक नियुक्ति खाँदासम्म जिल्लामा पाइलो नटेक्ने,पार्टी कामबाहेक सबै गर्ने तर जनताको काम नगर्नेलाई हामीले नेता मान्नुपर्ने र शान्तरामजस्ता त्यागीलाई कहिलेसम्म सल्लाहकार समितिमै थन्काउने?’

एमाले जिल्ला सचिवालय सदस्य, रोल्पा

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू