सेयर खेलाडीहरुको योजना पूरा भएपछि नेप्सेको अनुरोध

सेयर खेलाडीहरुको योजना पूरा भएपछि नेप्सेको अनुरोध

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले विश्लेषकको लहैलहैमा लागेर सेयरमा लगानी नगर्न सचेत गराएको छ । नेप्सेले आज सूचना जारी गर्दै मुलुकमा हालसम्म कुनै पनि निकायबाट कसैलाई पनि बजार विश्लेषकको रुपमा दर्ता वा मान्यता प्रदान नगरिएको स्पष्ट पारेको छ । 

फेसबुक, ट्विटर, क्लबहाउसलगायत सामाजिक सञ्जाल वा आम सञ्चारका माध्यममा त्यस्ता विश्लेषक वा विज्ञका नाममा आउने विश्लेषणलाई मात्र आधार बनाई बजारमा लगानी गर्दा जोखिममा पर्न सकिने नेप्सेको ठहर छ । नेप्सेले यथार्थ बुझेर मात्र लगानीसम्बन्धी निर्णय लिन पनि लगानीकर्तालाई आग्रह गरेको छ । 

सूचनामा उल्लेख छ, ‘नेपालमा हालसम्म कुनै पनि निकायबाट कसैलाई पनि बजार विश्लेषकको रुपमा दर्ता गर्ने वा मान्यता प्रदान गर्ने गरिएको छैन । फेसबुक, ट्विटर, क्लबहाउसलगायतका सामाजिक सञ्जाल वा आम सञ्चारका माध्यममा त्यस्ता विश्लेषक वा विज्ञका नाममा आउने विश्लेषणलाई मात्र आधार बनाई लगानी गर्दा जोखिममा पर्न सकिन्छ । त्यसैले, यथार्थ बुझेर लगानीसम्बन्धी निर्णय गर्न नेप्से सम्बन्धित सबैलाई अनुरोध गर्दछ ।’

असार मध्यदेखि अप्रत्याशित रुपमा बढ्न थालेको सेयर बजारले केही समययता खासै उचाइ लिन सकिरहेको छैन । १८ सय बिन्दुमा झरिसकेको नेप्से गत साउन ३१ गते एकाएक बढेर तीन हजार बिन्दुमा पुगेको थियो । सो दिन झण्डै ३० अर्बको कारोबार भयो । जुन हालसम्मकै उच्च पनि हो । 

तर, अहिले नेप्से पुनः घटेर २५ सयको बिन्दुमा पुगेको छ । त्यस्तै, अहिले कारोबार पनि पाँचदेखि छ अर्बमा सीमित हुदैँ गएको छ । यता, बजार घट्न थालेपछि गत बुधबार अर्थमन्त्री विष्णु पौडेल नेप्से कार्यालय नै पुग्नुभयो । उहाँले नेप्से तीन हजार बिन्दुबाट २५ सय अंकमा झर्नुको जवाफ माग गर्नुहुँदै बजारलाई लयमा फर्काउन निर्देशन समेत दिनुभएको थियो ।

टिप्पणीहरू