यौन उत्तेजनालाई रोक्न नसकेपछिको अधोगति

यौन उत्तेजनालाई रोक्न नसकेपछिको अधोगति
सुन्नुहोस्

यौन उत्तेजनाले मानिसलाई कतिसम्म हानी गर्छ, त्यो अभिनेता पल शाहलाई हेरे पुग्छ । म्युजिक भिडियो हुँदै चलचित्रमा जमेका पललाई के कमी थियो र !
 

नाम र दाम सबै थियो । दाङका उनी काठमाडौँमा घर बनाउदै थिए । जग्गा किनेर तयार, बैंक खातामा पाँच करोडभन्दा बढी रकम, विभिन्न प्रोजेक्टबाट पैसा लिनै बाँकी । दर्शकले भन्न थालेका थिए, ‘नेपालको सुपरस्टार नै पल शाह हो’ । तर एक नाबालिका गायिकामाथि बलात्कारको आरोपपछि उनले सबै गुमाए । पछिल्ला दिनमा उनको करिअर नै ओरालो लागेको भन्न थालिएको छ । 

एक वर्ष कारगारमा बसेका पल अहिले बलात्कारको मुद्दाबाट मुक्त भइसकेका छन् । पीडितले मुद्दा फिर्ता लिएपछि उनी फुक्का भएका हुन् । तर उनीमथि लागेको आरोप भने जीवनभर दाग बन्ने निश्चित छ । जसको असर देखिन थालिसकेको छ । 

उनी कारगारमुक्त भएपछि चलचित्र ‘पुजार सार्की’मा देखिए । तर मुख्य भूमिका दिइएन । जब कि उनी शीर्ष भूमिकामा देखिने अभिनेता हुन् । त्यसपछि उनले ‘रावायण’मा काम गरे । यो झन् यसरी सुपरफ्लप भइदियो कि हलमा चलचित्र हेर्न दर्शकहरुको खडेरी नै पर्यो । यद्यपि, चलचित्र फ्लप हुनुमा अभिनेत्री पूजा शर्मा पनि पुरक कारण हुन् । तर जसको भरमा चलचित्र हिट हुने अनुमान गरिएको थियो, उनी नै दर्शकको गालीको शिकार बने । अन्ततः निर्माण टिमको चार करोड लगानी स्वाहा भयो । 

‘रावायण’पछि पल कल्लीमा जोडिएका थिए । निर्माण टिमले पललाई फिचर्ड गरेर पहिलो लुक्स पोस्टरसमेत सार्वजनिक गरिसकेको थियो । पलले चलचित्रको लागि एडभान्स समेत लिइसकेको बताइन्छ । तर अहिले उनलाई चलचित्रबाट एकाएक निकालिएको खबर छ । 

पलका शुभचिन्तकहरुमा देखिँदै गएको विभाजन, उनको विवाद र घट्दो क्रेजको कारण निर्माण टिमले निकालेको भनिएको छ । स्रोतका अनुसार ‘कल्ली’का अन्य कलाकारले अडान लिएका छन्, ‘यदि पलले काम गर्ने भए हामी गर्दैनौं ।’

निर्माण टिमले अहिले पललाई हटाएर अभिनेता सौगात मल्ल र अर्पण थापालाई अनुबन्धित गरेको छ । पल ऋणमा भएको थाहा पाएपछि उनले लिएको पेश्की रकम फिर्ता नमाग्ने पनि निर्माण टिमले जनाएको छ । स्रोतले भन्यो, ‘पललाई हटाए पनि एडभान्स फिर्ता माग्दैनौं, उहाँ आफैं अफ्ठ्यारोमा हुनुहुन्छ भन्ने सुनेका छौं ।’

यति मात्रै होइन, पलले छायांकन सकाएको चलचित्र ‘मावावी’ निर्माण टिमले पनि प्रदर्शन मिति सारेको छ । कार्तिक १५ गतेबाट रिलिज हुने भनिएको यो चलचित्र पलकै कारण हलहरुमा शो नपाउने र दर्शक नआउने अनुमान गरेर निर्माण टिमले मिति सारेको हो । प्रदर्शनको नयाँ मिति पनि घोषणा गरिएको छैन । जबकि चलचित्रको सम्पूर्ण पोष्ट प्रोडक्सन सकिसकेको बताइन्छ । पलकै कारण यो चलचित्रको भविष्यका धरापमा परेको चर्चा छ, सिनेवृत्तमा । 

पललाई चलचित्रमा मात्रै होइन, म्युजिक भिडियोबाट समेत बहिष्कार गर्न थालिएको देखिन्छ । नेपाली म्युजिक भिडियो इतिहासलाई हेर्ने हो भने पल मात्र एक यस्ता मोडल हुन्, जसमाथि निर्माताले आँखा चिम्लेर पैसा लगाउँथे । तर अहिले उनै पललाई म्युजिक भिडियोका निर्माताहरुले प्रोजेक्टमा अनुबन्धित गर्न छाडेका छन् । महिनामा १५ देखि २० वटा म्युजिक भिडियो सार्वजनिक हुने पलको अहिले हम्मे हम्मे ३–४ वटा भिडियो सार्वजनिक भइरहेका छन्। 

कुनैबेला ‘पल पल’ भनेर चिच्याउने युवतीहरुले नै अहिले उनलाई गाली गर्न थालेका हुन् । लोकप्रियता घटेको छ । अब उनले आफ्नो करिअरलाई पहिलेकै उचाइमा पुर्याउन कसरी अघि बढ्छन्, त्यो बिस्तारै थाहा होला । तर उनलाई महशुस भइरहने कुरा हुनेछः ती गायिकामाथि मैले गलत गरेँ ।

टिप्पणीहरू