उताका सिके पनि महिला हिंसामा, यताको डिभोर्स मुद्दा जारी

उताका सिके पनि महिला हिंसामा, यताको डिभोर्स मुद्दा जारी

लुम्बिनी प्रदेशका पूर्वसामाजिक विकासमन्त्री एवम् जनमत पार्टी प्रदेश सभा सदस्य चन्द्रकेश (सिके) गुप्ताविरुद्ध महिला हिंसासम्बन्धी उजुरी दर्ता भएको छ । 

गुप्तापत्नी कान्तिले राष्ट्रिय महिला आयोग र जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा गुप्ता र उनको परिवारविरुद्ध मानसिक र शारीरिक हिंसाको आरोप लगाउँदै कारबाहीको मागसहित उजुर हालेकी छन् ।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ निवासी गुप्तासँग छ वर्षअघि नवलपरासीको प्रतापपुर गाउँपालिका–९ निवासी कान्तिकुमारी यादवको परम्परागत मागी विवाह भएको थियो । श्रीमान र सासू–ससुराले नियमित रुपमा मानसिक तथा शारीरिक यातना दिएको जनाउँदै पीडित कान्तिले उजुरी दिएपछि प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले दुवै पक्षलाई राखेर छलफल गराएका थिए । यद्यपि गम्भीर विवाद टुंगो लागेको छैन । 

गत वर्ष पनि गुप्ताविरुद्ध यस्तै उजुरी परेको थियो । त्यतिबेला मन्त्रीको जिम्मेवारीमा रहेकाले आगामी दिनमा पुनः गल्ती नदोहोर्याउने लिखित प्रतिबद्धता जनाएपछि छाडिएको थियो । तर उनी नसुध्रिएकाले उजुरी गर्नुपरेको कान्तिले बताइन् । गुप्ता रुपन्देहीको क्षेत्र नम्बर ५ (२) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । उनीहरुका ४ वर्षकी छोरी र २ वर्षका छोरा छन्। 

यता जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले भने श्रीमतीसँग सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा दायर गरेका छन् । ससुराली खलकले उनले श्रीमतीमाथि १० वर्षदेखि घरेलु हिँसा मच्चाएको आरोप लगाएका छन् । भारतीय नागरिक श्रीमती सोनी सिन्धु रानी सँधै माइत गएर बस्न खोज्ने,विभिन्न बहानामा झगडा गरिरहने भएकाले सम्बन्ध विच्छेद गर्नुपरेको राउतले फिराद पत्रमा उल्लेख गरेका छन् । 

तर सोनीका माइती पक्षको राउतले एक दशकदेखि श्रीमतीमाथि घरेलु हिंसा गरेको आरोप छ । सोनीले सिकेलाई पटक–पटक परस्त्रीसँग रंगेहात फेला पारेको ससुराली पक्षको दावी छ । भनिएको छ, ‘गत स्थानीय तह निर्वाचनअघि र उपराष्ट्रपति निर्वाचनपछि उनी त्यस्तै अवस्थामा फेला परेकाले दम्पतीबीच झडप भएको थियो । सो क्रममा सिके, सोनी र सँगै फेला परेकी महिलालाई  चोटपटक लागेको थियो ।’ पटक पटक राउत महिलासँग फेला परेपछि सोनीले एक पटक विष सेवनको प्रयास गरेको माइती पक्षले खुलाएको छ ।

 

टिप्पणीहरू