प्रधानमन्त्री र मेयरको फेसबुकमा सान्त्वना,प्रदेश सरकार मौन

प्रधानमन्त्री र मेयरको फेसबुकमा सान्त्वना,प्रदेश सरकार मौन

बाढी,पहिरो र डुबानले मुलुकमा ठूलो विपत्ति निम्तिएको छ । राजधानी उपत्यकामै पछिल्लो १२ घण्टामा २१ जनाको निधन,पाँच बेपत्ता र नौ जना घाइते भएका छन् । राजधानीमा मात्रै ३२ जनाको निधन, १२ बेपत्ता र दर्जनौंं घाइते भइसकेका छन् । 

वर्षा रोकिने छाँट छैन । उपत्यका जोड्नेलगायत अधिकांश ठूला साना राजमार्ग क्षतिग्रस्त भएको अवस्था छ । बाढीले तातोपानीस्थित चीनसँगको सीमानाका मितेरीपुल र सिन्धुलीमा पक्की पुल बगाएको छ । धेरै ठाउँमा पहिरो गएकाले जोखिम झन् बढेको छ ।

उद्धारमा खटिएका सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले पर्याप्त डुंगा तथा उद्धार सामग्रीको अभावमा प्रभावकारी कदम चाल्न नसकेको बताएका छन् । सेना पनि उद्धारमा खटिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले चार दिनअघि मुलुकको अधिकांश भूभागमा बिहीबार रातिदेखि आइतबारसम्म लगातार वर्षाको अनुमान गरेको थियो । तर, सुरक्षा निकायहरुबाहेक सरकारका तीन वटै तहले यसतर्फ कुनै तयारी नगरेको भन्दै बाढी,पहिरो र डुबान प्रभावित क्षेत्रका स्थानीयले आक्रोश पोखेका छन् ।

भिषण पहिरो, बाढीका कारण आगामी बिहीबारदेखि शुरु हुने दशैं मनाउन थातथलो जान तयार भएका सर्वसाधाण अप्ठेरोमा परेका छन् । विपत र क्षतिको समग्र अवस्थालाई हेर्दा सरकारले प्रकोप न्यूनीकरणका लागि पर्याप्त तयारी नगरेको स्पष्ट हुन्छ । मौसम पूर्वानुमान महाशाखाले चार दिनअघि मुलुकको अधिकांश भूभागमा बिहीबार रातिदेखि आइतबारसम्म लगातार वर्षाको अनुमान गरेको थियो । तर, सुरक्षा निकायहरुबाहेक सरकारका तीन वटै तहले यसतर्फ कुनै तयारी नगरेको भन्दै बाढी,पहिरो र डुबान प्रभावित क्षेत्रका स्थानीयले आक्रोश पोखेका छन् ।

यता, राजधानीको काठमाडौं महानगर प्रमुख बालेन साहले सामाजिक सञ्जालमा स्टाटस लेखेर आफ्नो पदीय दायित्व र जिम्मेवारीको धर्म निर्वाह गरेका छन् । उनले नगर प्रहरीका १७ टोलीमा तीन सय जना परिचालन गरिएको बताउँदै राजधानीका विभिन्न स्थानमा महानगरको टोली खटिएको दाबी गरेका छन् । 

संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्न जानुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले बोस्टनबाट सामाजिक सञ्जालमा लेख्दै ‘नेपालमा झरी पर्दा यता मनमा पहिरो गएजस्तो भइरहेको’ उल्लेख गर्नुभएको छ । उहाँले आफू हार्वर्ड विश्वविद्यालयको कार्यक्रममा सहभागी रहेको जनाउँदै सुरक्षा सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ । तर, विपद् न्यूनीकरणका तयारीबारे राज्य बेखबर देखिन्छ ।

असोज ४ गते २२ जनाको टोली बोकेर अमेरिका जानुभएका प्रधानमन्त्री पर्सि नेपाल आइपुग्ने कार्यक्रम छ । विश्वका अधिकांश मुलुकका कार्यकारी प्रमुख अत्यावश्यक अवस्थामा मात्रै दुईदेखि बढीमा तीन दिन खर्चेर महासभामा पुग्ने चलन हो तर हाम्रा सबैजसो कार्यकारी प्रमुखहरु उच्च अधिकारीसहित जम्बो टोली बोकेर बेपर्वाह हप्तौं विदेश भ्रमणमा व्यस्त हुने क्रमलाई यस पटक प्रधानमन्त्री ओलीले निरन्तरता दिनुभएको छ । 

प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री डा.आरजू राणा देउवा अमेरिकामा कोभन्दा को कम शैलीमा भेटघाटमा व्यस्त देखिनुभएको छ । प्रधानमन्त्रीसँगै छँदा परराष्ट्रमन्त्रीले अन्य मुुलुकका प्रधानमन्त्रीसँग र कतिपय मुलुकका विदेशमन्त्रीले हाम्रा प्रधानमन्त्रीसँग गरेको भेटका दृश्यले कूटनीतिक क्षेत्रलाई काउकुती लगाएको सहजै अनुमान गर्न सकिन्छ । अनावश्यक संख्या बढाउन गरिएको भेट,विभिन्न कार्यक्रममा सहभागिता र महासभा बाहेकका कार्यक्रममा सम्बोधनको खासै औचित्य नदेखिएको निश्चित छ ।

यता गृहमन्त्री रमेश लेखकले केन्द्रीय सुरक्षा समितिको बैठक डाकेर सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले विपदजन्य घटनाबाट जनधनको क्षति हुन नदिन तीन तहकै सरकारले समन्वय गरेको बताउनुभएको छ । तर, व्यवहारमा उक्त समन्वयको सामान्य अंश पनि देखिएको छैन । आज सार्वजनिक बिदा परेकोले हुनसक्छ प्रदेश सरकारको उपस्थिति सामाजिक सञ्जालमा पनि देखिएको छैन ।

टिप्पणीहरू