जनार्दनले भावुक हुँदै सम्झिए प्रचण्डसँगको पहिलो भेट

जनार्दनले भावुक हुँदै सम्झिए प्रचण्डसँगको पहिलो भेट

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा उपमहासचिव जनार्दन शर्माले राखेको लिखित 'सुझाव प्रस्ताव'ले छोडेको तरंग साम्य भैसकेको छैन । नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको प्रश्न उठाएका उनले अध्यक्ष प्रचण्डबाटै आफूविरुद्ध भ्रम फैलाइएको आरोप लगाएका थिए । त्यसयता प्रचण्ड-जनार्दन सम्बन्धबारे विभिन्न टिप्पणी र चर्चा भैरहेका छन् । 

यसैबीच शर्माले प्रचण्डसँगको पहिलो भेट, दोस्ती र मतभेदबारे विस्तृतमा खुलाएका छन् । उनले एक पोडकास्डमा लामो अन्तर्वार्ता दिँदै प्रचण्डको नामाकरण विषयमा रोचक खुलासासमेत गरे । 

प्रचण्डसँग पहिलो पटक ०४२ सालमा भेट भएको र शुरुमा ‘विश्वास’ नामले चिनेको शर्माले बताएका छन् । ‘कमिटीको मिटिङ थियो, पातलो-पातलो एउटा युवा गईपुगे, अर्को एउटा मोटो-मोटो गोरो मान्छे थिए’, उनले भने, ‘मिटिङ सुरु भएपछि थाहा भयो, विश्वास भन्ने मान्छे रैछन् उनी, त्यतिबेला नाम विश्वास थियो उनको ।’

शर्माले प्रचण्डसँगको उक्त पहिलो भेटमै राजनीतिक असहमति राखेको पनि बताएका छन् । त्यसबेलाको सन्दर्भ स्मरण गर्दै भने, ‘त्यहाँ सन्दर्भ कस्तो थियो भने पार्टी फुट वा विभाजन केही भैराखेको थियो । मोहनविक्रमलाई कारबाही गरेको वा गर्ने वातावरण त्यस्तै केही थियो । त्यही कुरामा उहाँले व्याख्या गरिराख्नुभएको थियो । तर, मलाई उहाँको कुरा चित्त बुझेन । र मैले सिधै तपाईको कुरा मन परेन भने ।'

शर्माका अनुसार त्यसबेलाका विश्वासलाई उनले देशमा राजतन्त्रको अन्त्य कसरी गर्ने ठोस कुरा भन्न आग्रह गरेका थिए । त्यस्तै, जनयुद्धको तयारी सम्बन्धमा पनि प्रश्न सोधेको उनले स्मरण गर्दै सुनाएका छन् । 

'सामन्तवादको अन्त्य कसरी गर्ने, के हो प्लान ? त्यो भन्नुस् । लड्न पर्छ कि पर्दैन् ? लड्ने हो भने लड्ने कसरी हो ? अनि हतियार कहाँ पाइन्छ ? तालिम कहाँ गर्ने हो ? त्यो कुरा चाहियो यहाँ । मैले सिधैँ यो प्रश्न गरेको थिएँ’, अन्तर्वार्तामा शर्माले भनेका छन् । 

पहिलो संवादमै आफूहरु एक-अर्काप्रति प्रभावित भएको पनि शर्माले सम्झिए । ‘उहाँले मलाई बडो राम्रो प्रश्न गर्नुभयो भनेर ४५ मीनेट मेरै प्रश्नको उत्तर दिनुभयो । मलाई पनि उहाँको उत्तर निकै चित्त बुझ्यो', उनले भने, 'मेरो दायाँ र बायाँ अलि सिनियर साथीहरु थिए । खड्गबहादुर बुढा र मस्तबहादुर श्रेष्ठ मेरो दुइतिर थिए । मैले उनीहरुलाई त्यतिबेलै मलाई यो नेताको उत्तर चित्त बुझ्यो । यो नेताले एकदिन देश खान्छ भनेको थिएँ ।' 

त्यो भेटपछि प्रचण्डसँग राम्रो दोस्ती बनेको शर्मा बताउछन् । कहिलेकाहीँ हुने मतभेदलाई उनले ‘सिर्जनात्मक बहस’को संज्ञा दिँदै भने, ‘त्यसपछि हाम्रो दोस्ती कहिल्यै टुटेन । हामीबीच पनि मतभेद भइरहन्छ । तर, ती सबै सिर्जनात्मक हुन् । रिसराग, आक्रोशको हैन ।’

तीनचोटि मुलुकको कार्यकारी प्रमुख भैसकेका र गणतान्त्रिक आन्दोलनका नेतृत्वकर्ता प्रचण्डको जन्मनाम छविलाल दाहाल हो । तर, शिक्षक जागिर छाडेर पूर्णकालीन राजनीतिमा लागेपछि नाम पुष्पकमल दाहाल भयो । भूमिगतकालमा प्रहरीबाट बच्न उपनाम राख्ने चलनअन्तर्गत निर्माण, विश्वासलगायतका थुप्रै नामले चिनिएका उनै पुष्पकमल अन्तिममा प्रचण्डका रुपमा स्थापित भए । 

प्रचण्डले उपनाम धेरै परिवर्तन गरेको शर्मा बताउछन् । प्रगतिशील साहित्यको राम्रो पाठक भएकाले त्यहिँबाट प्रचण्ड नामाकरण भएको हुनसक्ने शर्माको अनुमान छ । 

‘किरणजीलाई विस्थापित गरेर उहाँ नेता हुन आईपुग्नुभयो । त्यतिवेला उहाँको नाम प्रचण्ड बन्यो । पहिला विश्वास थियो, प्रचण्ड बन्यो । तर, प्रचण्डको नाम कसले राख्यो मलाई थाहा छैन्’, उनले भने, ‘ त्यो भन्दा पहिला अझै निर्माण भन्ने नाम राख्नुभएको थियो, त्यसलाई हटाएर पछि प्रचण्ड राख्नुभयो । प्रगतिशिल साहित्यमा राम्रो रुची थियो । त्यो नाम उहाँले आँफै राखेको होला ।’

टिप्पणीहरू