प्रकाश श्रीमानविरुद्धको उजुरी पानीको फोकामा फेरिँदै

प्रकाश श्रीमानविरुद्धको उजुरी पानीको फोकामा फेरिँदै

संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेका प्रकाशमानसिंह राउतमाथि खोट लगाउने विषय नभेटे पनि उपसभामुख इन्दिरा राना मगरले उनलाई घरबार बिगारेको गुनासो गरेकी छन् । राउतले भने कानुनी रूपमै धर्मपत्नीसँग पारपाचुके लिएका थिए । राउतविरुद्ध संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरे पनि घर बिगारेको विषयले प्राथमिकता नपाउने दावी कानुनविद्हरूको छ । कसैले यो विषय संसदीय समितिमा उठान गरे पनि पानीको फोका सावित हुने दावी गरिँदै छ । त्यसो त राउतमाथि विभिन्न राजनीतिक दल र तिनका प्रभावशाली नेताहरूसँग सम्बन्धित मुद्दा र संवैधानिक इजलासबाट छिनोफानो गर्नुपर्ने कतिपय चर्चित मुद्दालाई पन्छाउँदै बाटो क्लियर गर्दै आएको आरोप पनि लाग्ने गरेको छ । 

राउतलाई सहज सिफारिस गर्नुका पछि दल र तिनका नेताहरूको आ–आफ्नै दाउ चलेको बताइन्छ । एमालेको चाहना संवैधानिक नियुक्ति पाएका ५२ भाइको नियुक्ति बदर नहोस् भन्ने देखिन्छ भने (माओवादी केन्द्र)ले दिनमणि पोखरेललाई सर्वोच्चमा लाने र रास्वपा अध्यक्ष रवि लामिछानेको ध्याउन्न राहदानी, सहकारी र सीधाकुरा डटकमलगायत लफडाबाट सुरक्षित अवतरणको आशा रहेको दावी स्रोतले गरेको छ । राउतलाई सिफारिस गर्दा निर्वाचन आयोगमा लान लागिएका कृष्णमान प्रधानजस्तै संसदीय समितिबाटै कपितय विषय निरूपण गर्न उचित हुने राय दिइएको बताइन्छ । 

न्यायाधीश नियुक्ति सम्बन्धी नियमावली संशोधन गर्न बार एशोसिएसनले दवावस्वरूप सर्वोच्च अदालत घेराउ गरेको थियो । त्यसपछि बार र बेञ्चबीच भएको छलफलमा सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतको संयोजकत्वमा एउटा समिति गठन भयो । जसमा रामप्रसाद भण्डारी, गोपालकृष्ण घिमिरे, अञ्जिता खनाल र न्याय परिषद्का सचिव यम बुढा थिए । त्यसबेला सोको प्रतिवेदनमा मतैक्यता हुन नसकेपछि कार्यान्वयन हुन नपाई त्यत्तिकै थन्किएको छ । त्यसबखत संशोधनकै पक्षमा धेरैको रायविरुद्ध सदस्यसचिव यम बूढा खडा भइदिए । उनले हस्ताक्षर गर्न नमानेपछि प्रतिवेदनले हावा खाएको बताइन्छ । 

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू