काभ्रेपलाञ्चोकका बाढीपहिरो प्रभावितलाई २०/२० लाख

काभ्रेपलाञ्चोकका बाढीपहिरो प्रभावितलाई २०/२० लाख

काठमाडौं महानगरपालिकाले बाढीपहिरो प्रभावित काभ्रेपलाञ्चोक जिल्लाका तीन स्थानीय तहलाई राहत तथा पुनःस्थापनाका निम्ति २०/२० लाख रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ । मेयर बालेन्द्र साह (बालेन) को अध्यक्षतामा आज बसेको विपद् व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको छ ।

बैठकले पनौती नगरपालिका, रोशी गाउँपालिका र बेथानचोक गाउँपालिकालाई सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको महानगरले जनाएको छ । गत साता आएको बाढीपहिरोले ठूलो जनधनको क्षति भएपछि विभिन्न स्थानीय तहले सहयोगका लागि आह्वान गरेका छन् । 

सोहीअनुसार बाढीपहिरोले धेरै क्षति पुर्याएका तीन वटा पालिकालाई महानगरको विपद् व्यवस्थापन कोषबाट रकम उपलब्ध गराउन लागिएको हो । महानगरले आन्तरिकतर्फ आफ्नो भौगोलिक क्षेत्रभित्र भएको क्षतिको विवरण पठाउन मातहतका वडा कार्यालयहरुलाई पत्राचार गरेको छ । 

साथै, अनाधिकृत बसोबासलाई भौतिक सहयोग गरेर असुरक्षित आवासलाई बढावा नदिनेबारेमा स्पष्ट पारेको छ । बाढीपहिरोको विपत्तिमा पनौती नगर क्षेत्रमा २० जनाको मृत्यु भएको छ । पाँच सय घर पूर्ण र सात सय १३ वटा घर आंशिक रुपमा क्षतिग्रस्त छन् । दुई हजारभन्दा बढी पशुधनको पनि क्षति भएको छ । 

त्यस्तै, रोशी गाउँपालिका क्षेत्रभित्र बाढीपहिरोमा परेर १२ जनाले ज्यान गुमाएका छन् । झण्डै पाँच सय घरमा पूर्ण र १५ सय घरमा आंशिक क्षति पुगेको छ । बाढीपहिरोमा खसीबोका र गाईभैंसी पाँच सय तथा कुखुराका दुई हजार चल्ला मारिएका छन् । 

उता बेथानचोक गाउँपालिकामा एक दर्जन व्यक्तिले ज्यान गुमाउँदा झण्डै एक हजार घरमा क्षति पुगेको छ । पालिकाको प्रशासनिक भवनसँगै साढे नौ हजार पशुधनको पनि क्षति भएको छ ।

टिप्पणीहरू