दुर्गा प्रसाईंका समर्थकमाथि ज्यान मार्ने मुद्दा

दुर्गा प्रसाईंका समर्थकमाथि ज्यान मार्ने मुद्दा

मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईका केही समर्थकलाई ज्यान मुद्दा लाग्ने भएको छ । प्रसाई गिरफ्तारीको विरोधमा आगजनीमा उत्रिएका ८ जनाविरुद्ध प्रहरीले ज्यान सम्बन्धी मुद्धा दर्ता गर्न लागेको हो । 

प्रसाईं समातिएको भोलिपल्ट असोज ७ गते उनका समर्थकहरुले पूर्व-पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड–६ गिरीबन्धु-टी-इस्टेटनजिक डब्लुबी ७३ ई ३०५६ नम्बरको ट्रकमा आगजनी गरेका थिए । घटनमा ट्रक चालक र सहचालकको गम्भीर घाइते भएका थिए । तत्काल उनीहरुलाई प्रसाईले नै सञ्चालन गरेको विएण्डसी हस्पिटलमा लगिएको भए पनि त्यहाँ उपचार सम्भव नभएपछि भारतको नर्थ बंगाल मेडिकल कलेजमा रिफर गरिएको थियो । 

तर,  हिजो उपचारको क्रममा चालकको मृत्यु भएपछि यता प्रहरीले ट्रकमा आगजनी गर्नेहरुविरुद्ध मुद्धा दर्ता गर्ने तयारी गरेको हो । 

प्रहरीले शुरुमा आगजनीमा संलग्न १२ जनालाई पक्राउ गरेको थियो । तर, एक हप्ताको अनुसन्धानपछि ८ जनाविरुद्ध आपराधिक उपद्रो तथा ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भइसकेको छ । अब ज्यान सम्बन्धी अर्को मुद्धा पनि दर्ता गरिने जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले जानकारी दिए । 

‘८ जना हिरासतमै छन्, उनीहरुविरुद्ध दुई वटा मुद्धा दर्ता भइसकेका छन्’, उनले जनआस्थासँग भने, ‘हिजो चालकको ज्यान गयो, अब अर्को मुद्धा पनि दर्ता गर्दैछौ’

मृतक रायका आफन्तले हिजो साँझ न्याय माग्दै नाराबाजी र प्रदर्शन गरेर काँकडभिट्टास्थित नेपाल भारतको नाकासमेत अवरुद्ध पारेका थिए । तर, भारतीय प्रहरी र नेपाल प्रहरीको समन्वयपछि नाका खुलाइएको बताइन्छ । 

एसपी केसीका अनुसार ट्रकका सहचालक भने खतरामुक्त छन् ।
 

टिप्पणीहरू