कति मनपर्या हो यिनलाई भैंसी !

कति मनपर्या हो यिनलाई भैंसी !

–रेशमनन्दन चन्द्रवंशी

‘म अम्रिका कहाँ भुइँसी दुन गा हुँ र दूध लिएर आउने’ प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुको प्रश्नमा तुरुन्त जवाफ दिए । सोध्ने पत्रकार पनि त्यस्तै उरन्ठेउला नै थिए, कसरी ओलीलाई उत्तेजित पार्ने र रमाइलो जवाफ हात पारेर मिडियामा हेडिङ बेच्न पाउँला भन्ने खालका । 

त्यसैले प्वाक्क सोधिहाले,‘संयुक्त राष्ट्रसंघमा नेपालको सहभागिताबाट नेपालले के फाइदा लियो ?’ बिरानो मुलुक अम्रिकाबाट १५–१६ घन्टा उडेर गर्मी मुलुक कतारमा ट्रान्जिट लिएर स्वदेश फर्किदाँ कम्ती पट्यारलाग्दो हो ७० नाघेका मुन्छेलाई । प्रश्न सोध्नेलाई थाहै नभएको हो र राष्ट्रसंघमा हुलका हुल लिएर जाँदा र फर्कंदा के–के फाइदा हुन्छ भन्ने कुरा । अनि अम्रिका गएकै दिनको भोलिपल्टतिर तिम्रा भाषण सुन्न आएका होइनौँ भन्दै परराष्ट्रमन्त्रीसहित कालो झण्डा खाँदाको तातो रिस छँदै थियो । 

अरू जे भए नि अम्रिकी राष्ट्रपतिको जोडीसँग सपत्नी हात मिलाएर फोटो खिच्न पाइन्छ । अनि त्यही भेटघाटलाई स्वदेशमा राष्ट्रपतिसँग भेटेर गज्जबसँग हाम्रा समस्या राख्न पाइयो भन्ने गफ दिए भइहाल्यो । भत्ताको कुरा छाडौँ । अनेक–अनेक देशका अनेक–अनेक राष्ट्रपति, प्रधानमन्त्री, नेताहरूलाई भेटेर देशको विकासका कुरा र देशाँ शान्ति छाएको गफ दिन पनि पाइन्छ । 

जति जनासँग भेटियो, त्यतिसँग फोटो पोज–पोजका । अनि गोरखापत्राँ फ्रन्ट पेजाँ फोटो त दिनदिनै । स्वदेशको भन्दा विदेशको विदेशी नेतासँग खिचेको फोटो पो फोटो । लौ हेर, हामी कति सुनियौँ र कति देखियौँ भन्दै कुर्लिन कसैले रोक्न सक्दैन । 

हाम्रा ‘उखाने’ अध्यक्षलाई जिस्काउन हाम्रा पत्रकार पनि ख्यालका छन् र भन्या । भैंसी दुने कुरा सुन्दा पत्रकारका गोल सबै मुर्छा परेर हाँसेकै हुनुपर्छ । पोर परार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत उज्जयनको कालेश्वर गएर शिवबाबाको भ्रमण गरी फर्केका थिए क्यार । अनि स्वदेश फर्केसी तल्लो संसदाँ भारत गएर मुर्रा भैंसी लिएर आएको कथा सुनाउँदा पूरै संसद् तीन दिनसम्म मुर्छा परेर हाँसेको कसैले बिर्सेको छैन । 

भारत गएर तिनले जर्सी गाई ल्याउन सक्थे, सिँगारी बाख्रो ल्याउन सक्थे, च्यान्टे घोडा वा सेता हात्ती वा सिंह यानि शेर ल्याउन सक्थे । नभए मुजुर वा कालिज वा चीलै पनि । पुकदा जनयुद्ध सकिएदेखि नै भैंसीका भक्त भएका हुन् । शुरुमै उनले पुजारीहरू लगाएर चतरा, रामधुनीतिर भैंसीपूजा गरेको सम्झना पनि सबैलाई हुन्छ । पहिलेपहिले गोत्रहत्याको पाप नलागोस् भनेर काशी गई गोत्र नै परिवर्तन गर्ने थियो जस्तो कि पृथ्वीनारायण शाहले काश्यपबाट भारद्वाज गोत्र लिए र पूर्वगोत्रजलाई युद्ध गरेर वा छलकपट गरेर मार्ने चलन चलाए । सायद जनयुद्धका कमाण्डर पनि जनहत्याको दोषबाट मुक्त हुन चाहन्थे । 

नेकपामा हुँदा एकै ज्यान भएका दाहाल र ओली अलि पानी बाराबारका स्थितिमा छन् । संयोग पनि कस्तो भने दुवै ब्राह्मण परिवारबाट आएका । कम्युनिष्ट भएपछि ब्राह्मणवादबाट मुक्त दुवैले जवानीमा भैंसीका मासु र मःमः त कति खाए होलान्, कति । जनयुद्धताका गाईगोरुका पनि मासु खाएको कुरा मिडियामा आएकै थियो । प्रथम महिला भैंसी (राँगा ?) को मासु खाने परिवार वा जातबाट आएकी हुनाले (शाक्य, बज्राचार्य परिवार नखाँदा हुन् कि) प्रमले नचाख्ने कुरै भएन महिष मांस । 

उहिल्यै तेह्रथुमतिर बाल्य–किशोरकालमा भैंसी चढाएको सम्झना पनि अहिले दिमागमा ताजै होला । नत्र त्यत्रो पाताल प्रवेश गरेर नयपालमा फिर्ती भएका महान् उखानबाजेले युएनओमा भाषण गरेको फाइदा के भो भनी सोधेका प्रश्नका जवाफमा भैंसी नै आउने गरी जवाफ दिँदैनथे होलान् नि । तर के गर्नु भैंसी पालेर जति दुध दोए नि देउताले त्यो चढ्दैन । महान् माक्र्सवादीबाट रामनामी ओढ्दै रामवादीमा ओर्लेका अध्यात्मवादीले रामजानकी–हनुमानका पूजा गर्दा भैंसीको दूध त चढाएका छैनन् होला, पञ्चामृत बनाएनन् होला । बिचरा रामवरण यादव पनि अहिले त्यही भैंसी चढेको बाल्यकाल सम्झिरहेका होलान् ओलीले भैंसीको दूधको उखान हालेकाले । 

हुन त नेकपा विभाजन ताका र त्यसपछि उनी सधैँ हान्ने भैंसी जस्तो नै देखिन्छन् । पार्टी बाहिरका विपक्षी मात्रै हैन, पार्टीभित्रकै भीम रावल जस्ता १० भाइ (एक दिदी वा बहिनी पनि छिन्) लाई बदलाको भावना लिएदेखि उनको अनुहार त्यस्तै भा देखिन्छ । बिचरा त्यत्रा सम्भावना भएका रावल उनीसँग चुनाव लडेदेखि नै पाखा परे । कठै उनलाई अझै पनि अत्यन्त बदलाका भावना भाका पाषाण हृदयप्रति आशा र भरोसा छ । 

अब दक्षिणतिर जान खुट्टा उचालिरहेका उनी त्यहाँबाट भैंसी वा गोरु के ल्याउँदा हुन्, हेर्नु छ । हुन त उताबाट निम्तो आएकै छैन । त्यसैले उनी उत्तरतिर लाग्न बेर छैन, दक्षिणका जाली र छुद्र छिमेकी छाडेर । त्यसो भए त उनी महान् राष्ट्रवादी बनिहाल्थे ।

टिप्पणीहरू