रुस–युक्रेन युद्धसँगै काठमाडौं–मस्को उडानको चर्चा

रुस–युक्रेन युद्धसँगै काठमाडौं–मस्को उडानको चर्चा
सुन्नुहोस्

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि रुसी राजदूत अलेक्सेई नोभिकोभले शिष्टाचार भेट गरेका छन् । उहाँहरुबीच सिंहदरबारस्थित संसद सचिवालयमा रहेको अध्यक्षको कार्यकक्षमा कुराकानी भएको छ ।

भेटमा दुई देशबीचको सम्बन्ध, सहयोग, सहकार्य र संसदीय अनुभव आदानप्रदानलगायत विषयमा कुराकानी भएको जनाइएको छ । अध्यक्ष दाहालले नेपाल–रुस सम्बन्ध विगतदेखि नै सुमधुर रहेको उल्लेख गर्नुहुँदै जनस्तरको सम्बन्धले दुई देशको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गनुभयो । 

उहाँले मुलुकको संघीय संसदमा नेपाल–रुस संसदीयमैत्री समूह गठन गरिएको पनि जानकारी गराउनुभएको छ । मैत्री समूहले दुवै देशबीचको संसदीय सम्बन्ध, अनुभव र भ्रमण आदानप्रदान गर्न सहज पुग्ने अध्यक्ष दाहालको भनाइ छ । 

नेपाली विद्यार्थीलाई रुसमा अध्ययनका लागि छात्रवृत्तिको संख्या वृद्धि गर्न र काठमाडौं–मस्को सीधा हवाई सुविधा सुचारुका निम्ति पहल गर्न पनि उहाँले राजदूत नोभिकोभसँग आग्रह गर्नुभएको छ । अध्यक्ष दाहालले रुस–युक्रेन युद्ध भएपछि नेपाली नागरिकहरु विभिन्न माध्यमबाट रुसी सेनामा भर्ती हुने गरेको घटनाप्रति चासो व्यक्त गर्नुहुदैँ  नेपाल सरकारले रुसी सरकारलाई गरेको आग्रह पनि स्मरण गराउनुभएको थियो । 

साथै, नेपालको कृषि, प्रविधि र ऊर्जाको क्षेत्रमा लगानीका लागि रुसी लगानीकर्तालाई प्रोत्साहित गर्न र भ्रमणको वातावरण बनाउनका निम्ति समेत आग्रह गर्नुभयो । जवाफमा राजदूत नोभिकोभले रुसका लगानीकर्ताहरु नेपालमा विद्युत उत्पादनमा लगानी गर्न इच्छुक रहेको बताउनुभयो । 

उहाँले जलविद्युत उत्पादन, हवाइ सेवा विस्तार, अन्तरिक्षमा संयुक्त उडान, प्रविधि लगायतका क्षेत्रमा रुसले नेपालमा काम गर्ने भन्दै त्यसका लागि लगानीको वातावरण बनाउन नेपाल सरकारलाई पहल गरिदिन आग्रह गर्नुभयो ।

हाल रुसमा ४२ जना नेपाली पूर्ण छात्रवृत्तिमा अध्ययन गरिरहेको र केही समयमै छात्रवृत्तिको संख्या बढाएर दुई सयसम्म पुर्यउने योजना रहेको पनि राजदूत नोभिकोभले जानकारी दिनुभयो । उहाँले नेपाल–मस्को सीधा हवाई सेवा विस्तारका लागि आफूले निरन्तर पहल गरिरहेको र नेपाल सरकारले थप पहल गरेमा सेवा शुरु गर्न गाह्रो नहुने समेत तर्क व्यक्त गर्नुभएको छ ।

टिप्पणीहरू