सर्वसाधारणलाई टीका : राष्ट्रपतिले साढे ३ बजेपछि, पूर्व राजाद्वारा ४ बजे
राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीको टीका दुई चरणमा लगाइदिनुहुने भएको छ । पहिले विशिष्ट व्यक्तिहरुलाई र त्यसपछि सर्वसाधारणको पालो निर्धारण गरिएको छ ।
पहिलो चरणमा अपरान्ह ३ बजेदेखि साढे ३ बजेसम्म प्रधानमन्त्रीलगायत सम्माननीयहरु, उपप्रधानमन्त्री, मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, सांसद्, संवैधानिक निकायका पदाधिकारी, निजामती, जंगी, प्रहरीतर्फका अधिकृत स्तरसम्मका कर्मचारीलाई टीका लगाउने कार्यक्रम तय गरिएको छ ।
त्यसलगत्तै बेलुकी ५ बजेसम्म सर्वसाधारणलाई टीका लगाइने राष्ट्रपति कार्यालयद्वारा यसअघि जारी सूचनामा उल्लेख छ । टीका लगाउन इच्छुक सर्वसाधारण मर्यादित पोशाकमा प्रवेशद्वार नम्बर १ बाट छिर्नुपर्ने छ ।
त्यसअघि राष्ट्रपति पौडेलले विजया दशमीको टीका बिहान ११ः३६ बजे ९४ वर्षीय दाजु डुण्डीराज पौडेलको हातबाट लगाउनुहुने छ । सोही अवसरमा राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट पनि दसैँको टीका, जमरा र प्रसाद ग्रहण गर्ने छन् ।
आफूले टीका ग्रहण गरेपछि प्रथम महिला सबिता पौडेलसहित परिवारका सदस्यलाई पनि शुभसाइतमा टीकाजमरा लगाइदिने कार्यक्रम रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
उता, पूर्वराजा ज्ञानेन्द्र शाहले पनि शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम छ । निर्मल निवासमा अपरान्ह ४ बजेदेखि टीका लगाइने जनाइएको छ ।
टिप्पणीहरू