एमाले अध्यक्षमाथि गम्भीर आरोप

एमाले अध्यक्षमाथि गम्भीर आरोप

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पार्टीका पाँच लाख सदस्यको स्वाभिमानी शीर झुकाएको र २८ लाख मतदाताको अपमान गरेको गम्भीर आरोप लागेको छ । उहाँले नयाँ पार्टी कार्यालय भवन निर्माणका लागि कहीं कतै औपचारिक छलफल नगरी र नेतृत्वलाई जानकारी नगराई व्यापारीसँग घाँटी जोडेको भन्दै स्थायी कमिटी सदस्य विन्दा पाण्डेले चर्को आलोचना गरेकी छन् । 

पाण्डेले आज सामाजिक सञ्जालमा लेख्दै अध्यक्षको पछिल्लो कदमले पार्टी सदस्यहरुको स्वाभीमानी शीर झुकेको र मतदाताको अपमान भएको दाबी गरिन् । उनले लेखेकी छन्, ‘साढे  पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शीर झुकाउने र २८ लाख मतदाताको अपमान गर्ने कदम हो यो ।’ 

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पत्नी राधिका शाक्य र भाटभटेनी डिपार्टमेन्टल स्टोरका अध्यक्ष मीनबहादुर गुरुङ/पत्नी सावित्री गुरुङसहित गत शुक्रबार पार्टी कार्यालय भवनको शिलान्यास गर्नुभएको थियो । कीर्तिपुर नगरपालिका २, स्थित १० रोपनी १४ आना घडेरीमा अर्को वर्ष घटस्थापनाभित्र कार्यालय निर्माण गरेर हस्तान्तरण गरिसक्ने जग्गादाता गुरुङले बताएका छन् । शिलालेखमा लेखिएको छ, ‘यस  जमिनको दाता : मीनबहादुर गुरुङ/सावित्री गुरुङ (भाटभटेनी) । उक्त जग्गाको लोकेशन चन्द्रागिरी नगरपालिकाको तीनथाना नजिकै सीमानामा पर्छ । 

२०७२ को महाभूकम्पले बल्खुको कार्यालयमा क्षति पुगेपछि एमाले कार्यालय धुम्बाराही,थापाथली हाइट हुँदै ललितपुरको च्यासलमा भाडामा सञ्चालन हुँदै आएको सन्दर्भमा उक्त भवन बनाउन लागिएको हो । अध्यक्षको कदमविरुद्ध नेताहरुले चर्को विरोध जनाउन थालेका छन् । 

सोही सन्दर्भमा नेतृ पाण्डेले अध्यक्षको उक्त कदम कालान्तरमा पार्टीको निम्ति आत्मघाती कदम हुने ठहर गरेकी हुन् । उनले लेखेकी छन्, ‘व्यापार व्यवसाय गर्नेले पारदर्शी रुपमा कम्पनीको सामाजिक दायित्वअन्तर्गत सामाजिक काममा सहयोग गर्नु कर्तव्य नै हो । तर, राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुबै गलत हो । दिनेले किन र कसरी दिए उनैलाई थाहा होला । तर, स्वीकार गर्नेले पार्टीको निर्णायक तहमा छलफल र निर्णय त परको कुरा जानकारीसमेत नहुने गरी गरिएको यो निर्णय दीर्घकालमा आत्मघाती साबित हुनेछ ।’

तत्कालीन अध्यक्ष मनमोहन अधिकारी र महासचिव मदन भण्डारीलगायतले उँचो बनाएको पार्टी अध्यक्ष ओलीले धुलिसात पार्न खोजेको अर्थ लागेको छ । उनले हालैको गम्भीर निर्णय फेर्न सुझाव दिएकी छन् । लेखिएको छ, ‘समय घर्की सकेको छैन । मनमोहन र मदनहरुले उँचो बनाएको पार्टीको इतिहास, वर्तमानमा बाँचेका स्वाभिमानी पार्टी पंक्ति र भावी सन्ततिका लागि एमालेको गौरव जोगाउने हो भने यो गÞलत निर्णय सच्याउनै पर्छ । समयमै सोचौं ।’

टिप्पणीहरू