त्यो दिन सेनाले उडाइदिएको भए...

त्यो दिन सेनाले उडाइदिएको भए...

अघिल्लो शुक्रबारदेखिको अविरल वर्षाले मच्चाएको वितण्डा र सो क्रममा राजधानी शहरमै घण्टौँ उद्धारको प्रतीक्षा गर्दासमेत मानिसलाई बाढीले बगाएको खबर सरकारका लागि निकै भारी पर्‍यो । गृहमन्त्रीदेखि जिम्मेवार धेरै निकायले आफ्नो कमजोरी ढाक्न अनेकौं प्रयत्न गरे । तर, जनताले सरकारका लापरबाही र नागरिकको सुरक्षामा देखाइएका हेलचेक्य्राइँबारे टिप्पणी गर्न अझै छोडेका छैनन् । ललितपुरस्थित टहरोको छानोमा उद्धारका लागि गुहार माग्दै बसेकाहरूले व्यहोरेको अकाल मृत्यु र चनिकलाल तामाङ नामक एक नागरिकले देखाएको बहादुरी सारा नेपालीको मुखमा अझैसम्म झुण्डिरहेको छ । 

तर, समाचार स्रोतका अनुसार यदि सेनाले त्यसबेला राज्य र नागरिकप्रतिको उत्तरदायित्व थोरै मात्र पनि महसुस गरिदिएको भए न त्यो घटना हुन्थ्योे न सरकारले नै यति धेरै आलोचित बन्नुपथ्र्याे । हवाई क्षेत्रसँग सम्बन्धित स्रोतका अनुसार वास्तवमा त्यो दिन जुन उचाइमा हेलिकप्टर उडाएर उनीहरूको उद्धार गर्न सकिन्थ्यो । त्यहाँ उचाइसम्म उडान मौसमले बाधा पुर्‍याउँदैनथ्यो । तर, सेनाले आग्रह मानेन र तत्काल उडान गरेन । जबकि त्यसबेला गृहको कमाण्ड सेन्टरले जंगी अड्डालाई स्पष्ट रूपमा उद्धारका लागि अनुरोध गरेको हो । 

त्यसो त नागरिकको तहबाट पनि कमजोरी नभएको होइन । सरकारले पूर्व सूचना पठाएर सचेत रहन जानकारी गराएको थियो । एसएमएसमार्फत सबैका मोबाइलमा बाढी पहिरोबाट बच्न र सुरक्षित रहन आह्वान भएकै हो । नख्खुकै घटनालाई हेर्ने हो भने घरमा बाढी पस्नेबित्तिकै उनीहरू बाहिर भाग्न सक्थे । तर माथिल्लो तला हुँदै छानासम्म पुगे । अर्को शब्दमा भन्दा नागरिकले बाढी र झरीलाई निकै कम आँके र ठूलो जनधनको क्षति व्यहोर्न बाध्य बने । घर बगाएर ल्याएका कारण भित्रका धेरै धारिला हतियार, जस्तापातालगायत अन्य सामग्रीले ठोक्किने, आफैँलाई घाइते बनाउने सम्भावनासमेत रहँदा रहँदै सशस्त्र प्रहरीले बाढीभित्र हेलिने आँट गरेको थियो । तर, उर्लंदो भेलले डुंगा पनि पल्टाइदियो । ११ जवान बगे र पौडेर ज्यान जोगाए ।

त्यसो त कमजोरी सेनाको मात्रै  होइन, झ्याप्ले खोलामा नेपाल प्रहरीले गाडी नपठाइदिएको भए जुन दुर्घटना भयो र ठूलो संख्यामा मानिसले ज्यान गुमाए त्यो हुने थिएन । राति गाडी नचलाउनु भन्ने उर्दी छँदै थियो । सडकमा अगाडि बढिरहेका गाडीलाई नेपाल प्रहरीले बेलैमा रोकिदिएको भए झ्याप्ले खोलामा न जामका कारण गाडीको लाइन लाग्थ्यो न त ठूलो पहिरोमा एकैसाथ धेरै सवारी साधन बग्ने र दर्जनौं मानिसले ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना हुन्थ्यो । तर, दुःखद घटनाको जिम्मेवारी तत्तत निकायले लिएका छैनन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू