डेढ दर्जन सिडिओ फेरिए, २७ कर्मचारी यताउता

डेढ दर्जन सिडिओ फेरिए, २७ कर्मचारी यताउता

गृह मन्त्रालयले एकै पटक ठूलो संख्यामा सहसचिव तथा उपसचिवस्तरका कर्मचारीको सरुवा गरेको छ । 

मन्त्रालयले एकसाथ डेढ दर्जन प्रमुख जिल्ला अधिकारीसहित २७ जनाको सरुवा तथा पदस्थापन गरेको हो । जसअनुसार रुपन्देहीका सिडिओ गणेश अर्याललाई पर्सा पठाइएको छ भने उनको ठाउँमा गृहका सहसचिव वासुदेव घिमिरेलाई लगिएको छ । 

पर्साका सिडिओ दिनेशकुमार भुसालको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयमा सरुवा भएको छ । पाल्पाका सिडिओ आनन्द काफ्लेलाई मन्त्रालय तानेर त्यहाँ सहसचिव तोयनारायण सुवेदीलाई पठाईएको छ । 

महोत्तरीका सिडिओ शिवराम गेलाल दोलखा पुगेका छन् भने उनको स्थानमा गृहमा कार्यरत लालबाबु कवारीलाई लगिएको छ । तनहुँका प्रजिअ जर्नादन गौतमलाई गुल्मी सरुवा गरेर सहसचिव श्यामकृष्ण थापालाई त्यहाँ ल्याइएको छ । 

गोरखाका सिडिओ भोला दाहालको सप्तरीमा सरुवा भएको छ । उनको स्थानमा धनकुटाका प्रजिअ पुण्यविक्रम पौडेल आएका छन् । धनकुटामा भने दोलखाका सिडिओ टुवराज पोखरेललाई लगिएको छ । 

यता, इलाका प्रशासन कार्यालय रौतहटका उपसचिव नेत्रप्रसाद शर्माको प्रजिअको रुपमा ताप्लेजुङ पदस्थापन भएको भएको छ । सप्तरीका सिडिओ मेखबहादुर मग्राँतिलाई जाजरकोट लगिँदा उनको ठाउँमा गोरखाका भोला दाहाल आएका छन् । 

गुल्मीका सिडिओ कृष्णप्रसाद शर्मालाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभाग पाँचथरमा खटाइएको छ । बैतडीका सिडिओ भीमकान्त शर्मालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तानेर त्यहाँ गृहका उपसचिव दीर्घराज उपाध्यायलाई लगिएको छ । 

बाराका सिडिओ शशिभर घिमिरे गृह मन्त्रालयमा ल्याइएका छन् । यस्तै, ताप्लेजुङका रवीदन्द्रप्रसाद आचार्य, जाजरकोटका उमाकान्त अधिकारी र ललितपुरका सिडिओ तुलसीबहादुर श्रेष्ठको गृह मातहत सरुवा भएको छ । 

सहसचिव विनोदकुमार खड्का र रमेश ढकालको क्रमशः प्रमुख जिल्ला अधिकारीका रुपमा संखुवासभा र ललितपुरमा सरुवा भएको छ । 

रुपन्देहीका सहायक सिडिओ रामचन्द्र अर्याललाई इलाका प्रशासन कार्यालय बुटवल लगिएको छ । त्यहाँ कार्यरत उपसचिव मोहनराज जोशी सिडिओका रुपमा डोटी पुगेका छन् भने त्यहाँका गोपालप्रसाद अर्याल भक्तपुर आइपुगेका छन् । 

भक्तपुरकी सिडिओ रोशनीकुमारी श्रेष्ठलाई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था प्राधिकरणमा सरुवा गरिएको छ ।

टिप्पणीहरू