प्रधानमन्त्रीबाट महिना बिराएर फेरि आक्रोश प्रकट
‘हनिमुन पिरियड’सम्म राम्रै इन्जोय गर्दै आउनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनयता आक्रोश पोख्न थाल्नुभएको छ ।
प्रधानमन्त्रीले सय दिनको परीक्षामा आफैँले ७० अंक लिएर प्रथम डिभिजनमा उत्तिर्ण भएको भने पनि सरकारको कामप्रति आम रुपमा असन्तुष्टि चर्किएको छ । तर, प्रधानमन्त्री ओलील़ाई भने विपक्षीहरुको निन्दा गर्नमै भ्याई-नभ्याई देखिन्छ ।
पछिल्लो दुई दिनमा मात्रै उहाँले आधा दर्जन सभा-समारोहको पर्दा उघार्नुभयो । ती कार्यक्रममा विपक्षी दलमाथि कडा व्यंग्य गर्दै सहभागीहरुलाई हौस्याउनुभएका उहाँले देशको अवस्थाले पीडामा रहेकालाई एकैछिन् भए पनि इन्टरटेन्मेन्ट गराउनुभयो ।
प्रधानमन्त्री ओलीले अस्ति शनिबार दुई कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । 'तेस्रो विश्व नेपाली साहित्यिक सम्मेलन'को उद्घाटन गर्न गौशालाको आनन्द होटल पुग्नुभएका उहाँले साहित्यिक पारामै अरुमाथि घोचपेच गर्नुभयो । आफ्नो गतिलाई रोक्न साना तत्वहरु लागि परेको तर कसैले नसक्ने उहाँको आत्मविश्वास प्रस्तुत भयो ।
‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बाल्छन् र आफ्ना पदचिह्न छाड्छन्’, अमेरिकामा गरेको बौद्धिक बहस स्मरण गर्दै भन्नुभयो, ‘तर केही साना तत्वहरुले हाम्रो अठोटलाई रोक्न भ्रामक हल्ला फैलाए । हामीलाई असफल गराउने नसोचे हुन्छ ।’
शनिबार नै जलवायु सम्मेलनको उद्घाटन गर्न पुग्नुभएका प्रधानमन्त्री ओलीले निन्दायुक्त भाषण गर्नुभएको थियो । विषय केन्द्रित नभई आफ्नो प्रशंसा र विपक्षीप्रति भडास पोख्ने काम त्यहाँ पनि भयो ।
‘दुई चार हजारको जुलुस निस्किएपछि भरे नै गयो सरकार, भोलि नै गयो सरकार भन्ने हुँदैन । खुर्सानी चपायो भने पिरो हुँदैन ? खाने बेलामा आँखा नदेख्ने, अहिले अरुलाई गाली गर्ने, अन्याय भो भन्ने ?’
कांग्रेससँगको गठबन्धनमा बनेको वर्तमान सरकार अहिलेसम्मकै उत्कृष्ट सरकार भएको उहाँको दावी थियो । लोकतन्त्र र जनताको लागि काम गर्न कांग्रेस-एमाले मिलेको बताउँदै भन्नुभयो, ‘परिवर्तन साकार पार्न लड्ने कुराहरुमा यी दुई पार्टीहरु सदैव अग्रणी रहेका हुन् र यिनले असाधारण योगदान पनि गरेका छन् । याे अहिलेसम्मकाे उत्कृष्ट सरकार हाे ।’
उहाँले माओवादी केन्द्रको खबरदारी सभालाई लक्षित गर्दै दुई-चार हजार भीडले आफूलाई केही फरक नपार्ने पनि बताउनुभएको छ । त्यस्तै, रास्वपा सभापति रवि लामिछाने पक्राउको प्रसंगमा भन्नुभयो, ‘देख्नुभयो होला नि, सहकारी ठगी प्रकरणमा उल्लेखनीय कामहरु भइरहेका छन् । तर अनुसन्धानलाई प्रभाव पार्न केही छिट्फुट मान्छेहरु सडकमा उफ्रिएको देख्दा अचम्म लागिरा"छ ।’
हिजो आइतबार ओलीले तीन वटा कार्यक्रमको उद्घाटन गर्नुभयो । बिहान गैरआवासीय नेपाली संघ (एनआरएनए)बको कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निन्दा गर्नुभयो ।
शनिबारको खबरदारी सभामा प्रचण्डको अभिव्यक्ति कोट्याउँदै भन्नुभएको थियो, ‘हिजो मात्रै एकजना उफ्रिउफ्री कराउँदै थिए । हामीले हतियार बिसाएको मात्रै हो, चलाउन बिर्सिएको छैन भनेर । उनीहरुले हतियार बिसाएको छैन, त्यो साँचो हो । बेइमानी गर्या छ । तर तिनीहरुका हतियारमा खाक्सी नलगाएको धेरै भइसक्यो । पुछपाछ नगरेको धेरै भइसक्यो । माटामुनि राखेको हतियार निकालेर चलाउन खोज्दा पड्किदैन । त्यो उनीहरुले बुझे हुन्छ ।’
आफूलाई हतियार चलाउन नआउने तर बिसाउन लगाउन उपायबारे चाहिँ राम्ररी जानकारी भएको उहाँले कटाक्षपूर्ण जवाफ दिनुभयो । माओवादीले धम्क्याउन खोजेको आरोप लगाउँदै भन्नुभयो, ‘अहिले पनि हतियारको धम्की दिने ? निकालौं हतियार,पड्काइदिउँ ? भनेर धम्काउँछन् । कसलाई धम्काएको ? कसलाई सुनाएको ? नेपाली समाजलाई होइन ? यस्ता प्रवृत्ति छन् ।’
त्यस्तै, दिउँसोतिर पार्टी सम्वद्ध नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको कार्यक्रममा पनि उहाँले माओवादी र रास्वपामाथि कडा टिप्पणी गर्नुभयो ।
शुरुमा रास्वपा सभापति रवि लामिछाने लक्षित टिप्पणी आयो, ‘दुई चार हजारको जुलुस निस्किएपछि भरे नै गयो सरकार, भोलि नै गयो सरकार भन्ने हुँदैन । खुर्सानी चपायो भने पिरो हुँदैन ? खाने बेलामा आँखा नदेख्ने, अहिले अरुलाई गाली गर्ने, अन्याय भो भन्ने ?’
त्यस्तै, उहाँले रास्वपा सांसदहरुलाई माननीय भन्न पनि घिन लागेको बताउनुभयो । ‘अदालतअगाडि गएर उफ्रिएको छ, दवाव दिएको छ, कराएको छ । हाम्रो मान्छे छोड्दे भन्ने एउटा कुरा हुन्छ, अरुलाई तथानाम गाली गरेको छ, असभ्यता देखाएको छ । साह्रै घिनलाग्दो स्तरमा झरेको छ’, प्रधानमन्त्रीले भन्नुभयो, ‘त्यस्तोमा फेरि माननीय सांसद भनिएकाहरु छन् । कोही चुनेका, कोही टिपेका, विभिन्न खालका । भेट्दा माननीय भन्नुपर्छ, बोलि सुन्दाखेरी अचम्म लाग्छ ।’
पार्टीकै अर्को भातृ संस्था राष्ट्रिय युवा संघको कार्यक्रममा पनि ओलीले विपक्षी दलहरुप्रति भडाँस पोख्नुभएको थियो । यसरी प्रधानमन्त्री ओली पछिल्लो समय आफू सहभागी कार्यक्रममा विषयकेन्द्रीत धारणा राख्ने भन्दापनि आत्मप्रशंसा र विपक्षीको निन्दामा रमाएको देखिन्छ ।
टिप्पणीहरू