अमेरिका बसेर जसले रास्वपाको चुल्हो चलाउँछन्
अरुको एकोहोरो खोइरो खन्ने, आफू कमजोरी गर्दै जाने, तर स्वीकार नगर्ने ! यस्तो स्वभाव र कार्यशैलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने एकपछि अर्को अप्ठेरोमा परिरहेका छन् ।
अमेरिका र नेपालको नागरिकता एकैसाथ खल्तीमा राखेर नेपालमा टेलिभिजन कार्यक्रम चलाउँदै कानुन हातमा लिएका उनले अदालतले दोषी ठहर गर्दासमेत गल्ती महसुस गरेनन् । उल्टै राज्यका निकायमाथि नै प्रश्न उठाए । दुबै देशको राहदानी बनाएका उनले अनुकूलता हेरेर पालैपालो प्रयोग गरे । फरक–फरक राहदानी देखाएर सन् २०१४ को जुन ५ (अमेरिकी पासपोर्ट नम्बर ५१२९६६९८१) देखि २०२२ को जनवरी १६ ( नेपाली पासपोर्ट नम्बर ०८८३४८३८) दर्जनौँ मुलुकको यात्रा गरेको अध्यागमनको रेकर्डमा अहिले पनि सुरक्षित छ । त्यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ । तर, उनले यो तहको गैरकानुनी काम गरेकोमा पश्चाताप हैन ढाकछोप गर्दै आएका छन् ।
ठगीको आरोप लाग्दा लामिछाने शुरुमा ‘गैर सदस्यले सहकारीको रकम लिन नपाउने कानुनी व्यवस्था थाहा नभएको’ टापटिपे जवाफ दिएर उम्किएका थिए । तर, सञ्चारमाध्यमले लगातार प्रश्न उठाइरहेपछि फरार आरोपित जिबी राईको टाउकोमा दोष थोपरेर उन्मुक्त हुँदै आए । आफूमाथि उठेका प्रश्न पन्छाउन ‘जिबी राईका सबै कारोबारको जिम्मेवार म हुनुपर्ने ?’ भन्दै अहिले पनि तर्किने गर्छन् । ‘जिबीको पैसा र आफ्नो आइडिया’ले सञ्चार क्षेत्रमा तहल्का पिट्ने भन्दै खोलिएको ग्यालेक्सी टेलिभिजनको प्रवन्ध निर्देशक र ‘स्वेट शेयर’ लिएका लामिछानेले त्यहाँ भएका आर्थिक कारोबार र लगानीको स्रोतबारे जानकारी नरहेको बताउँदै आएका थिए । संसदीय छानबिन समितिले उक्त रकम परिचालनमा उनको मुख्य भूमिका रहेको निश्कर्ष दिएपछि बल्ल ‘ग्यालेक्सीमा आएको रकमको नैतिक जिम्मेवारी लिन्छु’ भन्ने ठाउँमा पुगे । गल्ती स्वीकारेर सच्याउनुभन्दा ढाकछोप गर्न खप्पिस लामिछाने अन्ततः अनुसन्धानको दायरामा तानिएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसूरमा मुद्दा चलाउनेगरी अनुसन्धान भैरहेको छ ।
सहकारी ठगीमा अनुसन्धान चलिरहँदा लामिछानेमाथि अर्को डरलाग्दो कसूरमा संलग्न रहेको आरोप लागेको छ । उनका व्यावसायिक साझेदार जिबी राईले रहस्य खोल्दै नेपालबाट हुण्डी गरेर रकम अमेरिका पठाएको दाबी गरेका हुन् । उपनिर्वाचनका बेला लामिछानेले अमेरिकामा रहेका मोहनजंग थापाको नाममा ५ करोड हुण्डी गर्न लगाएको जिबीको तर्फबाट लेखिएको इमेलमा जिकिर गरिएको छ ।
लामिछाने पहिलो पटक गृहमन्त्री रहुञ्जेल पटक–पटक करिब १२ करोड मोहनलाई पठाएको उनको दाबी छ । प्रहरी अनुसन्धानकै क्रममा रहेको उक्त आरोप पुष्टि हुने आधार देखिए हुण्डी कारोबारको अभियोगमा पनि लामिछाने अनुसन्धानमा तानिन सक्नेछन् । अमेरिकामा लिलाम हुनै लागेको रविको घर निखन्न उक्त रकम प्रयोग भएको जानकारहरु बताउँछन् । यसरी जिबीसँग पैसा लिने म्याग्दीका मोहन आफैँमा विवादित पात्र हुन् । सन् २००३ मा उनलाई बाल्टिमोर जिल्ला अदालतले नक्कली आइडी कार्ड बनाउने धन्दा चलाएको अभियोगमा सजायँ सुनाएको र हेलिकोप्टरबाट लखेटी लखेटी गिरफ्तार गरेको थियो ।
नेपालको म्याग्दीबाट अमेरिका पुगेका थापा बाल्टिमोरमा बस्छन् । २५ वर्षदेखि अमेरिकामा रहेका र हाल रास्वपा केन्द्रीय सदस्य रहेका उनीविरुद्ध ५० भन्दा बढी मुद्दा चलेको छ । अधिकांश मुद्दामा दोषी ठहर भएका उनले अमेरिकामा फर्जी लाइसेन्स र परिचयपत्र बनाएको घटनामा अमेरिकाको एफबिआईले अनुसन्धान गरेर मुद्दा चलाएको थियो । सोही अभियोगमा दोषी ठहर भई २ वर्षभन्दा बढी जेल बसेका थिए ।
उनीविरुद्ध अहिले पनि ६ वटा आपराधिक मुद्दा चलिरहेको छ । सन् १९९९ देखि २०२२ सम्म ५० भन्दा बढी मुद्दा दर्ता भएका छन् । सन् २००२ अक्टोबरमा पक्राउ परी जेल पठाइँदा मेरिल्याण्ड एमभिए परिचयपत्र र सवारी लाइसेन्स ५ सय जनालाई बनाएको अभियोग लागेको थियो । रवि गृहमन्त्री हुँदा यिनी नेपाल आएर प्रहरीको सरुवा–बढुवामा मज्जैले संलग्न रहेका प्रमाणहरु सुरक्षित छन् ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू