आन्तरिक किचलोले रास्वपामा आक्रोश, प्रदर्शन प्रभावकारी हुने परियारको विश्वास

आन्तरिक किचलोले रास्वपामा आक्रोश, प्रदर्शन प्रभावकारी हुने परियारको विश्वास

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डिपी अर्याल र प्रमुख सचेतक सन्तोष परियारमाथि दोहोरो भूमिका खेलेर पार्टीमा आन्तरिक द्वन्द्व चर्काएको आरोप लागेको छ । 

सभापति रवि लामिछानेको पक्राउ विरुद्ध सडक संघर्ष अघि बढिरहेका बेला प्रधानमन्त्रीसँग गोप्य भेटवार्ता गरेका यी दुईमाथि यस्तो आरोप लागेको हो । आफूहरुलाई दिनभर आन्दोलनमा उतारेर नेताहरु साँझ बालुवाटार छिरेपछि कार्यकर्तापंति रुष्ट बनेको र विरोध प्रदर्शनका कार्यक्रम प्रभावित भएको बताइएको छ ।  

गएको हप्ता सोमबार (कात्तिक ११ गते) पार्टीका अन्य पदाधिकारीलाई थाहै नदिइ उनीहरुले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए । सभापति लामिछानेप्रति नरम भैदिन आग्रह लिएर गएका उनीहरुलाई प्रधानमन्त्रीले ‘मेरो काट्टो खान आउनु भएको होला’ भनेर रुखो जवाफ दिएपछि राति ११ बजे बालुवाटारबाट फर्किए । 

त्यसको केही दिनपछि उपसभापति अर्यालले नै कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट्न खोजेको र समय नपाएपछि परराष्ट्रमन्त्री डा. आरजु राणासँग समय मागेको खबर सार्वजनकि भयो ।  

उपसभापतिद्वय अर्याल र डा. स्वर्णिम वाग्लेबीच कार्यवाहक सभापतिका लागि 'हानथाप' चलिरहेको भनिएका बेला यो घटनाले थप किचलो बढेको नेताहरु बताउँछन् । आन्तरिक बेमेलकै कारण सडक प्रदर्शनका कार्यक्रम सुस्ताएको तल्लो तहका कार्यकर्ताको बुझाई छ । 

नेतृत्व पंक्तिका नेताहरुको 'अनस्योर मूभमेन्ट'ले कार्यकर्तामा निराशा छाएको र आन्दोलनका कार्यक्रम प्रभावित भएको प्रदेशस्तरका एक नेताले जानकारी दिए । उनका अनुसार अहिले पार्टीमा सभापति लामिछानेको अभाव निकै खड्किएको छ । उनले जनआस्थासँग भने, ‘सभापतिज्यू हुँदा पार्टीभित्र आन्तरिक किचलो खासै थिएन, अहिले त के गरे-के गरे, दुवै जना उपसभापतिज्यूमा कमान्डिङ क्षमता देखिएन ।’

उता लामिछानेलाई आज तेस्रो पटक म्यादको लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । म्याद थप गरेर रुपन्देही पुर्याउने प्रहरीको तयारी छ ।

प्रमुख सचेतक परियारलाई ‘तपाईहरुको आन्दोलनको किन तुहियो ?’ भनेर जनआस्थाले प्रश्न गरेको थियो । जवाफमा उनले भने, ‘आन्दोलन तुहिएको होइन । तिहारले केही दिन स्थगित भएको मात्र हो । एक दुई दिनमा बैठक बसेर आन्दोलनको कार्यक्रम तय गर्छौ ।’

त्यसो त, रास्वपा कार्यकर्ताले आज पनि पोखरामा प्रदर्शन गरिरहेका छन् । तर, पहिलेजस्तो कार्यकर्ताको सहभागिता देखिएको छैन । तर परियारले भने बिस्तारै प्रदर्शनमा कार्यकर्ताको उपस्थित बढ्दै जाने विश्वास व्यक्त गरे । 

‘कार्यकर्ता भेला हुने क्रम जारी छ । त्यहाँ सहकारी पीडितहरु धेरै भएकाले उहाँहरुको छुट्टै आन्दोलन होला । जे भए पनि पोखरामा चार पाँच हजार कार्यकर्ता जम्मा हुन्छन् आज’, उनले भने । 

स्मरण रहोस्, अघिल्लो साता बसेको रास्वपा केन्द्रीय समिति बैठकले उपसभापति अर्याललाई सडक आन्दोलन र अर्का उपसभापति वाग्लेलाई नागरिक संवादको जिम्मेवारी दिएको थियो । तर, अर्याल आफैँ राजनीतिक संवादमा अग्रसर भएपछि वाग्ले असन्तुष्ट भएका हुन् ।
 

टिप्पणीहरू