रविका कार्यकर्ता उग्र, घम्साघम्सीपछि अश्रुग्यास प्रहार
रवि लामिछाने पक्राउको विरोधमा पोखराको सडकमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्तामाथि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।
निषेधित क्षेत्रमा प्रवेश गरेका उनीहरुलाई सम्झाइबुझाई गर्दा नमानेपछि प्रहरीले अश्रुग्यास हानेको हो । वाइचोकमा भेला भएर सहिदचोकतिर अघि बढेका रास्वपा कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको बताइएको छ । त्यसक्रममा प्रदर्शनकारी र प्रहरीबीच केहीबेर घम्साघम्सीसमेत भएको थियो ।
सहकारी ठगीको आरोपमा पक्राउ परेका लामिछाने कात्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् । तेस्रो पटक म्याद थपको लागि आज उनलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । पुन: म्याद थप गरेर सभापतिलाई हिरासतमा राख्ने तयारीप्रति असन्तुष्ट हुँदै सडकमा उत्रिएका रास्वपा कार्यकर्ता उग्र भएका हुन् ।
कास्कीमा म्याद थपपछि लामिछानेलाई सुप्रिम सहकारीको घोटाला अनुसन्धान गर्न रुपन्देही लैजाने प्रहरीको तयारी छ ।
रास्वपाले भने राजनीतिक प्रतिशोध राखेर आफ्ना सभापतिलाई पक्राउ गरिएको भन्दै सरकारलाई दबाब दिन निरन्तर प्रदर्शन गर्दै आइरहेको छ ।
टिप्पणीहरू