रास्वपाको गाडी प्रहरीको नियन्त्रणमा
सभापति रवि लामिछाने रिहाइको माग गर्दै सडक प्रदर्शनमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले प्रयोग गरेको गाडी प्रहरीले नियन्त्रमा लिएको छ ।
आज पोखरामा प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्यास हानेको प्रहरीले गाडी पनि समातेको हो । उक्त गाडी रास्वपाको टोलीले माइकिङ र साउन्ड सिस्टमको लागि प्रयोग गर्दै आएको थियो ।
सांसद सोभिता गौतमले भाषण गर्दागर्दै प्रहरीले चावी लिएपछि प्रदर्शनकारी आगो भएका छन् । गौतमपछि बोलेका रमेश प्रसाईंले गाडीमा उक्लिएर प्रहरीसँग चावी मागिरहेका छन् ।
प्रहरीले भने प्रदर्शनकारीलाई वाईचोकमै रोकेर राखेको छ । यता, निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीले सो पार्टीको पोखरा–२९ का सभापति प्रभात पौडेलसहित सात जनालाई नियन्त्रणमा लिएको छ ।
उनीहरुलाई मातहतका प्रहरी कार्यालयमा राखिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए ।
उनले भने, ‘निषेधित क्षेत्र तोड्न खोज्ने र अराजक गतिविधि गर्ने सात जनालाई अहिलेसम्म पक्राउ गरिएको छ । उनीहरुलाई मातहतका प्रहरी कार्यालयमा राखिएको छ ।’
सहकारी ठगीमा लामिछाने पक्राउ परेपछि उनका कार्यकर्ताहरुले गत कात्तिक ३ गतेदेखि विरोध प्रदर्शन गरिरहेका छन् । लामिछाने कात्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् ।
तेस्रो पटक म्याद थपको लागि आज उनलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । कास्कीमा म्याद थपपछि लामिछानेलाई सुप्रिम सहकारीको घोटाला अनुसन्धान गर्न रुपन्देही लैजाने प्रहरीको तयारी छ ।
टिप्पणीहरू