सूचना आयोगको नियुक्तिले एमाले र चौतारीमा भाँडभैलो

सूचना आयोगको नियुक्तिले एमाले र चौतारीमा भाँडभैलो

राष्ट्रिय सूचना आयोगको रिक्त प्रमुख आयुक्त र आयुक्तहरुमा नियुक्त हुने सदस्यको टुंगो लागेसङ्गै सत्तारुढ एमाले र उक्त पार्टी निकट प्रेस चौतारी नेपालभित्र भाँडभैलो मच्चिएको छ । प्रमुख आयुक्तमा नेपाली काँग्रेस र दुई आयुक्तमा एमालेले भागबण्डा गरेपछि प्रस्तावित उम्मेदवारलाई लिएर एमालेनिकट पत्रकारहरुले असन्तुष्टि पोखेका छन् । 

प्रमुख आयुक्तमा डा. सुरेश आचार्य, आयुक्तहरुमा गगन विष्ट र दुर्गा भण्डारीको नाम सिफारिस भएको छ । आचार्य नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हुन् भने आयुक्तहरुमध्ये विष्ट प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष र भण्डारी प्रेस काउन्सिल नेपालकी सदस्य हुन् ।

आयोगको प्रमुख आयुक्त र आयुक्तको नाम सभामुखको अध्यक्षतामा सञ्चार मन्त्री र नेपाल पत्रकार महासंघको अध्यक्ष सदस्य रहेको सिफारिस समितिले प्रस्ताव गरेको हो । उक्त सिफारिशलाई मन्त्रिपरिषद्को बैठकले सदर गरेपछि प्रधानमन्त्रीले पद तथा गोपनीयताको सपथ खुवाउने कानुनी व्यवस्था छ ।

तर त्यसअघि नै झापालीलाई दोहोरो नियुक्ति दिइएको भन्दै सामाजिक सञ्जालमा चित्त दुखाइएको छ । उक्त नामलाई लिएर महासचिव शंकर पोखरेल समूह असन्तुष्ट देखिएको चर्चा छ ।

तर सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको रोजाइका नाममा प्रधानमन्त्री केपी शर्मा ओलीको अनुमोदन हुने भएपछि महासचिव निकटस्थ पत्रकारहरुले चर्को असन्तुष्टि व्यक्त गरेका छन् । यसबीच सिफारिस भएका नाममध्ये गगनलाई न्याय दिइएको उपाध्यक्ष विष्णु पौडेल समूहको ठहर छ । प्रेस काउन्सिल नेपालको सदस्यसमेत रहेकी झापाली दुर्गा भण्डारीको नामप्रति प्रेस चौतारीकी नेतृ टीका विष्टसँगै महासचिव समूह असन्तुष्ट देखिन्छ  ।

स्रोतका अनुसार महासचिव र उहाँको समूहले आयुक्तमा सुर्खेती पत्रकार टीका विष्टको नाम सिफारिस गरेको थियो । तर, उक्त नामा सञ्चार मन्त्रालय नपुग्दै चौतारीको मूल नेतृत्वले बाटैमा काटिदिएको असन्तुष्टहरुको आरोप छ ।

सिफारिसमा परेका नाम सार्वजनिक भएपछि चौतारी उपाध्यक्ष सविन प्रियासन पनि क्रुद्ध देखिन्छन् । महासचिव शंकरले टीकासँगै उनको पनि नाम सिफारिस गरेको बताइन्छ । तर,बुटवलवालाहरूको बक्रदृष्टिमा आफ्नो नाम परेको गुनासो गरेका छन् ।

टिप्पणीहरू