फस्टाउँदै फिल्म बजार, एक महिनामा ७० करोडको व्यापार
वर्षैभरी दर्शकको खडेरी लाग्ने सिनेमा हलहरुमा पछिल्लो एक महिनायता छुट्टै रौनक छाएको छ । दशैँ-तिहारको अवसर पारेर प्रर्दशनमा आएका सबैजसो चलचित्रले उल्लेख्य कमाई गरे ।
सामान्यत: विगतमा वर्षभर हुने कूल व्यापार यसपटक सीमित चलचित्रले नै गरिदिए । यो नेपाली सिने क्षेत्रका लागि सुखद कुरा हो ।
गत असोज १७ गते घटनास्थापनाको अवसर पारेर प्रदर्शन भएको ‘बेहुली फ्रम मेघौली’ले दुई सातामा चार करोड कलेक्शन गर्यो । दर्शकको राम्रो प्रतिक्रिया र सुखद अकुपेन्सी हुँदा-हुँदै हल सञ्चालकहरुले पर्दा नदिएको भन्दै निर्माण टिमले तेस्रो हप्ताबाट चलचित्र रोकेको थियो । निर्देशक तथा अभिनेता निश्चल बस्नेतले अहिले ओटीटी प्ल्याटफर्म (एमएसएम)मा यो चलचित्र हेर्न सकिने प्रबन्ध गराइसकेका छन् । जसको लागि दर्शकहरुले निश्चित शुल्क तिर्नुपर्ने हुन्छ ।
विदेशका लागि प्रदर्शन अधिकारको बिक्रीलाई हेर्ने हो भने चलचित्रले करिब ६ करोड बढीको व्यापार गरेको देखिन्छ । समग्रमा, अभिनेत्री समेत रहेकी निर्मात्री स्वस्तिमा खड्काले लगानी उठाएर राम्रै मुनाफा कमाइन् ।
त्यसको एक हप्तापछि (असोज २४ गते) फूलपातीको अवसरमा तीन चलचित्र प्रदर्शनमा आए, ‘छक्का पञ्जा ५’, ‘१२गाउँ’ र ‘ज्वाइँसाब’ । चलचित्र प्रदर्शनअघि समीक्षकहरुको दाबी थियो, ‘निर्माताहरुको इगो कारण तीनवटै चलचित्रको भविष्य धरापमा छ, सबै डुब्छन् ।’ तर, यो दाबी गलत सावित भएको छ ।
‘छक्का पञ्जा ५’ ले स्वेदश तथा विदेशबाट २१ करोड कलेक्शन गरेको निर्माण टिमको दाबी छ । प्रदर्शनको दिन सबैभन्दा बढी पर्दा पाएको यस चलचित्रमा दिपकराज गिरी, केदार घिमिरे, वर्षा शिवाकोटी लगायतको अभिनय छ ।
त्यस्तै विराज भट्टको कमब्याक तथा उनका छोरा समिर भट्टले डेब्यु गरेको फिल्म ‘१२गाउँ’ले पनि दर्शकमा बेग्लै उत्साह ल्यायो । यो चलचित्रले अहिलेसम्म २५ करोड बढी कलेक्शन गरेको बुझिएको छ । चलचित्र अझै प्रदर्शनमा रहेकाले कलेक्शन बढ्न सक्ने देखिन्छ ।
प्रदर्शनको दिन औसत पर्दा पाएको चलचित्रलाई ‘वर्ड अफ माउथ’ले धेरै सहयोग गरेको देखिन्छ । यो चलचित्र हेर्न मिश्रित दर्शकहरु हलसम्म पुगेका थिए । पुराना पुस्ता विराजलाई हेर्न हलसम्म पुगेको देखियो भने समिर नयाँ पुस्ताको आकर्षणको केन्द्रमा रहे । जे भए पनि बाबु-छोराको केमेस्ट्रीले नेपाली चलचित्रको व्यापारमा उछाल ल्याएको कुरामा कुनै सन्देह छैन ।
सोही दिन प्रदर्शनमा आएको ‘ज्वाँइसाब’ ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’को चेपुवामा पर्यो । तर कन्टेन बलियो भएकै कारण दुई हप्तामा चार करोड बराबरको व्यापार गरेको बुझिएको छ । प्रदर्शनको दिन सबैभन्दा कम पर्दा पाएको चलचित्रले ‘वर्ड अफ माउथ’का आधारमा दर्शकको साथ पाएपछि निर्माता लगानी उठाउन सफल भएका छन् ।
कात्तिक १५ गते लक्ष्मीपूजाको अवसर पारेर ‘पूर्ण बहादुरको सारङ्गी’प्रदर्शनमा आएको छ । चलचित्रले ६ दिनमै पाँच करोड कलेक्सन गरेको दाबी गरिएको छ । विजय बराल, प्रकाश सपुत, मुकुन भुषालको मुख्य अभिनय रहेको यस चलचित्रले चौतर्फी प्रशंसा पाइरहेको छ ।
चलचित्रको कथा र सन्देश बलियो रहेको समीक्षकहरुको समीक्षा र ‘वर्ड अफ माउथ’काे कारण चलचित्रको व्यापार आक्रमक बन्दै गएको छ । यतिबेला कलाकारहरु विभिन्न हलमा पुगेर दर्शकहरुको प्रतिक्रिया बुझिरहेका छन् । विदेशमा प्रदर्शन अधिकारको बिक्रीलाई समेत आधार मान्ने हो भने यस चलचित्रले पनि १० करोड भन्दा बढी कलेक्शन गर्ने अनुमान लगाउन सकिन्छ ।
यसरी एक महिनाको अवधिमा पाँच चलचित्रले करिब ७० करोड बराबरको व्यापार गरेका छन् । जबकि यसअघि वर्षभरी प्रदर्शन भएका चलचित्रको कुल व्यापार ५० करोड पनि पुग्दैनथ्यो ।
हुन त ‘चलचित्रको पैसा, भगवान भरोसा’ भन्ने सिनेवृतमा उखान नै छ । राम्रो हुँदा-हुँदै पनि फिल्म सुपरफ्लप भएका र औसत ठानिएका चलचित्र सुपरहिट भएका कयौँ उदाहरण छन् । तर, पछिल्लो एक महिनाको व्यापारले के पुष्टि गरेको छ भने, मौलिक कथामा प्रिमियम क्वालिटीकाे चलचित्र बनाउन सके सिनेमा चलाउन कठिन छैन ।
टिप्पणीहरू