रास्वपाको आलोचना गर्दै देउवाद्वारा गठबन्धन नटुट्ने दाबी

रास्वपाको आलोचना गर्दै देउवाद्वारा गठबन्धन नटुट्ने दाबी फाइल फाेटाे
सुन्नुहोस्

सत्तारुढ दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले रवि लामिछाने पक्राऊ पर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले अनावश्यक हो-हल्ला गर्न आवश्यक नरहेको टिप्पणी गर्नुभएको छ । 

गृहजिल्ला डडेल्धुरा जानेक्रममा आज धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले त्यस्तो धारणा राख्नुभएको हो । कांग्रेसका नेताहरूलाई मुद्दा लाग्दा आफूहरूले कहिल्यै हल्ला नगरेको जनाउँदै देउवाले रास्वपाले पनि हो-हल्ला गर्न आवश्यक नरहेको बताउनुभयो । 

सहकारी ठगीको आरोपमा सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाका नेता-कार्यकर्ताले पोखरा, काठमाडौँसहित देशका विभिन्न जिल्लामा लगातार विरोध प्रदर्शन गर्दै आइरहेका छन् । सोही प्रसंगमा देउवाले भन्नुभयो, ‘हाम्रा साथीहरुमाथि पनि मुद्धा चलाइएकै हो, हामीले त कहिल्यै हो-हल्ला गरेनौँ । अदालत छ, कानुनको आफ्नै प्रक्रिया छ, अदालतलाई सहयोग गर्ने पो हो त !’

देउवाले वर्तमान गठबन्धमा कुनै समस्या नरहेको पनि स्पष्ट पार्नुभएको छ । गठबन्धनमा दरार आएको भन्ने चर्चाको प्रतिवाद गर्दै भन्नुभयो,  ‘गठबन्धनमा केही समस्या छैन, यो गठबन्धन साँत बुँदे सहमतिअनुसार पूरै समय जान्छ ।’

गठबन्धनलाई कमजोर पार्न अनावश्यक हल्लामात्र फैलाइएको देउवाको दाबी छ ।
 

टिप्पणीहरू