दलित भनेर हेपेको ड्राइभरको गुनासो, उपाध्यक्षले भने - मिथ्या आरोप
प्युठानका एक जनप्रतिनिधिले आफ्नै सवारी चालकमाथि जातीय विभेद गरेको पाइएको छ । झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोखरेलले चालक रेशम सुनारलाई दलित भएकै कारण कामबाट हटाउन खोजेको थाहा भएको हो ।
गत वर्ष चैतमा कार्यपालिका बैठकले एउटा गाडी भाडामा लिने निर्णय गरेको थियो । त्यसनिम्ति सार्वजनिक सूचना जारी गरिएकोमा हेमराज भट्टराईको पिकअप गाडी छनोटमा पर्यो । गाडी धनी भट्टराई राष्ट्रिय जनमोर्चाका तर्फबाट निर्वाचित वडा नं ६ का वडा सदस्यसमेत हुन् ।
उक्त गाडीका चालक थिए, रेशम सुनार । चार वर्षदेखि गाडी चलाउँदै आएका उनी गाउँपालिकाले भाडामा लिएपछि गत बैशाख १ गतेदेखि जनप्रतिनिधिको ड्राइभर बने । त्यसपछि सुरु भयो उनीमाथि जातीय विभेद ।
नेपाली कांग्रेसबाट निर्वाचित उपाध्यक्ष पोखरेलले रेशमलाई दलित भएकै कारण अपशब्द बोल्ने र विभेदजन्य व्यवहार गर्ने गरेको बताइन्छ । कतिसम्म भने दलित भएकै आफूसँगै बसेर खाना खानसमेत नदिएको रेशमले गुनासो गरेका छन् ।
‘उपाध्यक्षले कयौँ पटक हेपाइ प्रकारको व्यवहार गरेका थिए’, उनले भनेका छन्, ‘म दलित भएकै कारण रातको समयमा सँगै हिँड्दा खानासमेत नखुवाई बेवारिसे अवस्थामा छाडेका छन् ।’
त्यसो त, गाउँपालिकाले असार मसान्तसम्मका लागिमात्रै गाडी भाडामा लिने सम्झौता गरेका थियो । करार सकिएपछि प्रमुख प्रशासकिय अधिकृतले तीन महिना म्याद थप गरेकोमा उक्त म्याद पनि गत असोज मसान्तबाट सकिएको छ ।
पुन: म्याद थपको लागि भने कार्यापालिका बैठक निर्णय गर्नुपर्ने हुन्छ । यही मौका छोपेर उपाध्यक्ष पोखरेलले दलित ड्राइभरले चलाउने गाडी भाडामा लिन सकिंदैन भन्दै सवारी धनी भट्टराईलाई समेत 'बल्याकमेल' गरेको एक कर्मचारीले जानकारी दिए ।
पोखरेलको भनाई उदृत गर्दै ती कर्मचारीले भने, ‘ड्राइभर दलित भएको कारण मलाई घरमा जान समस्या भयो, ड्राइभर चेन्ज गर्ने भए गर, नत्र गाडीको लागि म्याद थप गरिन्न ।’
दलित भएकै कारण रोजीरोटी खोसिने अवस्था आएपछि चालक रेशमले हारगुहार गर्दै दलित सञ्जाल समितिमा निवेदन दिएका छन् । उनले भनेका छन्, ‘यो ममाथि मात्रै होइन, सिंगो दलित समुदायमाथिको अन्याय हो । समाजको अभिभावकत्व पूरा गर्ने जिम्मेवारीमा रहेका जनप्रतिनिधिले नै यस्तो अन्याय गरेपछि न्याय खोज्न कहाँ जाने ? ’
घरमा लगेर सुताएकाे पाेखरेलकाे दावी
उपाध्यक्ष पोखरेलले भने चालकमाथि कुनै विभेद नगरेको दावी गरेका छन् । रेशमलाई आफ्नै घरको खाना खुवाएको र सुताएको उनको जिकिर छ ।
‘ममाथि लगाइएको आरोप सरासर गलत हो’, पोखरेलले दावी गरे, ‘त्यो ड्राईभर भाइलाई मैले मेरो घरमा लगेर खाना खुवाएको छु, मेरो छोराछोरी सुत्ने कोठामा सुताएको छु, कसरी विभेद हुन्छ ? ’
आफूमाथि राजनीतिक प्रतिशोध साँधेर भ्रम फैलाइएको उनको भनाई छ । ‘अहिले गाउँमा म चर्चित छु, त्यो गाडी धनी र ड्राईभर भाइले मेरो राजनीतिक भविष्य समाप्त गर्न यो सबै गरिरहेका छन्’, उनले थपे ।
यस सम्बन्धमा वास्तविकता के हो ? भनेर हामीले गाउँपालिका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीलाई सोधेका थियौँ । जवाफमा उनले सुनाए, ‘मैले पनि यो हिजोमात्रै थाहा पाएँ, साँझसम्म गाडी धनी, चालक र उपाध्यक्षलाई सँगै राखेर छलफल गर्छु ।’
टिप्पणीहरू