आँखा नदेख्नेले हिँड्ने ठाउँ कहाँ हो ?

आँखा नदेख्नेले हिँड्ने ठाउँ कहाँ हो ?

पेप्सीकोलाबाट बबरमहल धाउनु दीपक प्रधानको दैनिकी हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी उनी सेतो छडीले बाटो खुट्याउँदै हिँड्छन् । तैपनि त्यति सजिलो छैन उनका लागि कार्यालय पुग्न । कहिलेकाहींँ चोट बोकेरै कर्मथलो पुग्छन्, दृष्टिविहीन र अपाङ्गता भएकाहरूलाई काठमाडौँ उपत्यकामा व्यवस्थित फुटपाथ नभएको दीपकको गुनासो छ । उनका अनुसार ‘फरक क्षमता’ भएका मानिसहरूको लागि सहज फुटपाथ निर्माण गरिदिनुपर्छ । साँघुरो फुटपाथबाट पैदलयात्रा गर्दा ठोक्किएर शरीरमा चोट लागेको अनुभव उनीसँग छ । ‘विभिन्न ठाउँमा यात्रा गरिरहँदा बाटोको समस्या झेल्नुपरेको छ ।

दीपक प्रश्न गर्छन्, ‘काठमाडौँका मेयर बालेन आफैं इन्जिनियर हुनुहुन्छ । जनताको समस्या बुझेको खोई ?’ बालेनले ‘डोजर’ चलाएर घरहरू भत्काउने मात्र नभई अपाङ्गहरूका लागि फुटपाथ पनि बनाउनुपर्ने उनी माग गर्छन् । 

हेर्दा चौडा रहेको फुटपाथमा पनि अपाङ्गता भएका मानिसहरूलाई हिँड्न असहज भएको अनुभव छ । फुटपाथमा अस्तव्यस्त पार्किङ, जथाभावी ठडिएका बिजुलीका खम्बा र ट्रान्सफर्मरहरूको कारण हिँड्दा ठेस लाग्ने गरेको उनले बताए । ‘एकदिन राम्रोसँग हिँडेको सडक अर्को दिन भत्किएको हुन्छ,’ उनी भन्छन् । दृष्टिविहीनको लागि फुटपाथमा ‘टेक टायल’को व्यवस्था गरिदिएको छ । ‘हिँड्न सजिलो होस् भनेर एल्लो पाथ (पहेंलो बाटो) बनाइएको छ तर व्यवस्थित छैन’, आफूले हिँडिरहेको बाटो देखाउँदै उनले भने, ‘हामीले चढ्ने गरेको पुलमा पनि एल्लो पाथ बनाउनुपर्छ ।’

उनलाई सबैभन्दा धेरै तनाव नागरिक उड्डयन प्राधिकरणको फुटपाथले दिइरहेको छ । ‘समस्या धेरै छन् तर अहिलेको लागि ठूलो समस्या भनेको मेरो कार्यालय बाहिरको फुटपाथ हो’, आफ्नो दुःख सुनाउँदै उनले भने, ‘फुटपाथ र सडकको ग्याप धेरै छ । होसियारी नअपनाउँदा खुट्टा भाँचिने सम्भावना छ । त्यसैले यो समस्या चाँडै हटोस् भन्ने चाहन्छु ।’ 

एक दशकदेखि पत्रकारितामा सक्रिय जीवन बानियाँको अनुभव पनि उस्तै छ । ‘हाम्रोलागि बनाइएको टेक टायलमा पनि रुखहरू छ या त बिजुलीको पोलहरू छ । त्यसैलाई पछ्याउँदै हिँड्ने हो भने रुख, कि त पोलमा ठोकिन्छौँ’, उनले दुखेसो पोखे । 

त्यसैगरी जथाभावी राखिएको बोर्डको कारण पनि आफूजस्ता धेरै दृष्टिविहीनहरू घाइते भएको उनले बताए । केही दिनअघि भृकुटीमण्डप जाँदा भोगेको घटना सुनाउँदै भने, ‘मेरो खुट्टामा केही कुरा अल्झियो । तर धन्न, पछाडि कोही आइरहनुभएको रहेछ । उहाँले नै बचाउनुभयो । होइन भने त्यो दिन मेरो टाउको फुट्ने पक्का थियो ।’

सडक पेटीमा बनेका खाल्डोहरूको कारण दृष्टिविहीन, अपाङ्ग मात्र नभई बालबालिका र वृद्धवृद्धाले दुःख भोगिरहेको उनको बुझाइ छ । ‘हामीलाई चाहिएको कम्फरटेबल साइडवाक हो ।’ सरकारलाई भन्न चाहन्छन्, ‘फुटपाथमा सपाङ्ग मात्र हिँड्दैनन्, हामीले हिँड्ने बाटो पनि त्यही हो ।’

काठमाडौँ आफैमा साँघुरो शहर हो । चक्रपथ पनि त अब साँघुरो भइसकेको छ । साँघुरो शहर, साँघुरा सडक । साँघुरा घरहरू । व्यापारिक भवनहरू । खचाखच मोटर गाडी । त्यसैले खुम्चाएको एकबित्ते फुटपाथमा पनि पैदलयात्रुलाई हिँड्न मुस्किल छ । 

कतै सडक छन्, फुटपाथै छैन । कतै भएका फुटपाथहरूमा पनि बिजुलीका खम्बाहरू ठोक्किन पुग्छन् । हरेक दिन पाँच किलोमिटर सडकमा हिँडेरै जागिर भ्याइरहेकी सरिता केसी भन्छिन् ‘कतै कतै फुटपाथ छन्, त्यो पनि पूरै हिँड्न मिल्दैन ।’

(साभार:जनआस्था-साप्ताहिकबाट)

 

टिप्पणीहरू