'पूर्णबहादुरको सारङ्गी’ ले 'ह्रस्वदीर्घ' मालामाल
चलचित्र चलाउन फिल्मकर्मीले अनेक फण्डा गर्छन् । कहिलेकाहिँ त निर्माता, निर्देशकको कृतिम कन्ट्रोभर्सीसमेत सृजना गरेको पाइन्छ । तर, फण्डाले मात्र फिल्म चल्दैन भन्ने कुरा धेरै पटक पुष्टि भैसकेको छ ।
चलचित्र ‘ह्रस्वदीर्घ’को हकमा भने एउटा दुर्लभ संयोग जुरेको छ । निर्माण टिमले प्रदर्शनअघि सामान्य प्रचारबाहेक स्टन्ट गरेन । बरु प्रदर्शनपश्चात चलचित्रको कथा, पटकथा, संवाद र कलाकारको अभिनयको आलोचना भइरहेको छ ।
यसका बाबजुद पनि फिल्मले एक हप्तामै ६ करोड ग्रस कलेक्शन गरेको छ । आखिर यो कसरी सम्भव भयो ? कारण रोचक छ ।
कात्तिक ३० गते ‘ह्रस्वदीर्घ’ प्रदर्शन हुँदा हलहरुमा ‘पूर्णबहादुरको सारङ्गी’को दबदबा थियो । ३८ करोड कलेक्शन गरिसकेको उक्त चलचित्रको शोलाई हलहरुले विस्तारै घटाउँदै थिए । नयाँ चलचित्रलाई पर्दा दिनुपर्ने भएपछि हलहरुले शो घटाउनु स्वभाविक पनि हो । तर, यसको प्रत्यक्ष फाइदा ‘ह्रस्वदीर्घ’ले पायो ।
‘पूर्णबहादुरको सारङ्गी’ हेर्न हलसम्म पुगेका दर्शकले शो नपाएपछि के गरुन् ? त्यत्तिकै फर्किनुभन्दा धेरै दर्शकले चलिरहेको चलचित्र ‘ह्रस्वदीर्घ’ हेरे ।
चलचित्रकी अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाले चलचित्रले आफ्नै बलबुतामा दर्शकलाई हलसम्म तानेको दावी गरे पनि यथार्थतामा त्यस्तो देखिदैन । किनकि, ‘ह्रस्वदीर्घ’ हेरेका अधिकांश दर्शकहरुले दक्षिण भारतीय चलचित्रको ह्यांगओभरमा बनाएको भनेर प्रतिक्रिया दिएका छन् ।
जस्तो विश्व सुवेदीले ‘फोकटमा चार सय रुपैयाँ खेर गएको’ प्रतिक्रिया दिएका छन् । सँगै ह्रस्वदीर्घ हेर्न गएका अर्की दर्शक मीना बस्नेतले पनि ‘चलचित्रले स्क्याम हानेको’ बताएकी छन् ।
अहिले चलचित्रले प्रशंसा नपाए पनि लगानी उठाएकोमा निर्माण टिम ढुक्क देखिन्छ । सायद यसैलाई भनिदो हो, ‘लोगके चिन्ता मत कर, झोली भरचुका हे’ । अर्थात्, मानिसले आलोचना गरे पनि संयाेवगश् पैसा उठिसक्याे ।
टिप्पणीहरू