यसकारण रविलाई रातारात पोखरा फर्काइयो

यसकारण रविलाई रातारात पोखरा फर्काइयो

सहरा चितवन बहुद्धेशीय सहकारीको रकम अपचलन सम्बन्धमा बयानका लागि अस्ति चितवन लगिएका रवि लामिछानेलाई रातारात पोखरा फर्काइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता र लामिछानेका समर्थकले हिजोजस्तै आज पनि हुलदंगा गर्नसक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रहरीले राति नै स्थलमार्ग हुँदै पोखरा पुर्याएको हो ।  

इन्स्पेक्टर नेतृत्वको टोलीले राति साढे १० बजे प्रहरी भ्यानमा राखेर चितवनबाट हिँडाइएकोमा आज बिहान साँढे पाँच बजे पोखरा पुर्याएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई यसअघि रुपन्देही, काठमाडौँ र चितवन लैजाँदा प्रहरीले जहाज प्रयोग गरेको थियो । 

हिजो जिल्ला सरकारी वकिलको कार्यालयमा लामिछानेको बयान चलिरहँदा बाहिर रास्वपा कार्यकर्ताले उग्र नाराबाजी गरेका थिए । प्रहरीले भीड नियन्त्रणको प्रयास गर्दा उनीहरु ढुंगामुढामा उत्रिएपछि दोहोरो झापड भएको थियो । जसका कारण एक इन्सपेक्टरसहित २२ प्रहरी जवान घाइते भएका छन् । उनीहरुको अहिले विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।  

आज पनि रास्वपाका कार्यकर्ताले प्रदर्शन गर्ने तयारी गरेको जानकारी पाएपछि लामिछानेलाई राति नै पोखरा लगिएको एसपी मिश्रले बताए । ‘उहाँलाई राति नै गाडीमा फर्काउनुको कारण चाहीँ हिजोको जस्तो घटना आज नदोहोरियोस् भन्ने हो’, उनले भने । 

स्वर्णलक्ष्मी सहकारीको बचत हिनामिनाबारे बयान लिएर सोमबार काठमाडौँबाट पोखरा फर्काइएका लामिछानेलाई मंगलबार चितवन लगिएको थियो । १६ घण्टा लामो बयानका क्रममा अनुसन्धान अधिकृतहरुले ७४ वटा प्रश्न सोधेका थिए । जसमध्ये अधिकांश प्रश्नको जवाफमा उनले इन्कारी बयान दिएका छन् । 

सहारा बचत तथा ऋण सहकारीमा ४४५ बचतकर्ताको ३७ करोड रकम हिनामिना भएको जानकारी छ नि  ? भन्ने प्रश्नमा लामिछानेले ‘खै, मैले पनि तपाईहरुले भनेपछि अहिले थाहा पाउँदैछु’ भनेका थिए । 

स्मरण रहोस्, लामिछाने तत्कालनी प्रबन्धक निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा पोखराको सूर्य दर्शन, काठमाडौँको स्वर्णलक्ष्मी, रुपन्देहीको सुप्रिम र चितवनको सहरालगायत सहकारीबाट ६७ करोड रकम गैरकानुनी ढंगले प्रवाह भएको संसदीय विशेष छानविन समितिको निष्कर्ष छ । पोखरा, काठमाडौँ, रुपन्देही र चितवनमा बयान दिइसकेका लामिछानेविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भैसकेको छ । 

वीरगञ्जको सानो पाइला सहकारीको रकम अपलचनसम्बन्धमा हिजोमात्रै जिल्ला अदालतले लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

 

टिप्पणीहरू