प्रशासकीय अदालतको आदेशपछि डेपुटी गभर्नरहरुको जिम्मेवारी हेरफेर
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दुई जना डेपुटी गभर्नरको जिम्मेवारी हेरफेर गरेका छन् । हिजोदेखि लागु हुनेगरी गरिएको हेरफेरमा डेपुटी नीलम ढुंगाना तिम्सिनाको जिम्मेवारीमा रहेको मानव संशाधन व्यवस्थापन विभाग (जनशक्ति) अर्का डेपुटी बमबहादुर मिश्रको जिम्मामा राखिएको छ ।
एक हजारभन्दा बढी कर्मचारी रहेको बैंकमा नियुक्ति, सरुवा, बढुवा, विभागीय कारबाहीका लागि उक्त विभाग निकै शक्तिशाली मानिन्छ । मनपर्ने कर्मचारीलाई विशेष माया देखाउन र मननपर्नेलाई कारबाही गर्न मानव संशाधनको जिम्मेवारीमा रहेका डेपुटीको हात बढी हुने गरेको छ ।
विगतमा एकाध अवस्थामा बाहेक पहिलो नम्बरका डेपुटीलाई जनशक्ति हेर्ने जिम्मेवारी दिँदै आएकोमा गभर्नर अधिकारीले आफ्नो कार्यकाल सकिन चार महिना बाँकी छँदा नीलमको जिम्मेवारीमा रहेको विभाग खोसेर मिश्रलाई दिनुलाई वरिष्ठ कर्मचारीहरुले अर्थपूर्ण मानेका छन् । एक जना कार्यकारी निर्देशक भन्छन्, ‘विगतमा आफ्नो ढिपी र लहडमा सेवाबाट हटाइएका निर्देशक थानेश्वर आचार्यलाई प्रशासकीय अदालतले बहालीको आदेश दिएपछि म्याडम अहिले अप्ठेरोमा पर्नुभएको हो । उनै आचार्यलाई पुनर्बहाली गराउने टिप्पणीमा हस्ताक्षर गर्दा आफ्नै थुक मुखमा परेझैँ हुने भएकाले गभर्नरले इज्जत जोगाइदिनुभएको हुनसक्छ ।’
आफूलाई विभागीय सजायअन्तर्गत सेवाबाट हटाइएको सम्बन्धमा बैंक सञ्चालक समितिलाई प्रतिवादी बनाउँदै निर्देशक थानेश्वरले दायर गरेको मुद्दामा प्रशासकीय अदालतका अध्यक्ष डिल्लीराज घिमिरे, सदस्य रिता मैनाली र कृष्णप्रसाद पौडेलको इजलासले कात्तिक २७ गते बहालीको आदेश गरेको थियो ।
सर्वोच्च अदालतबाट यसअघि भएका विभिन्न पाँच वटा आदेशलाई नजिर मान्दै प्रशासकीय अदालतले गरेको निर्णयमा आचार्यलाई पदबहाली गर्न भनिएको हो । गत चैत ६ गते सेवाबाट हटाइपछि उनी अदालतको शरणमा गएका थिए । आदेशमा अधिकृत तृतीय तहको सिफारिसलाई कार्यकारी निर्देशक हुँदै डेपुटी गभर्नर र सञ्चालकले ठाडो सदर गर्नुले पीडितप्रति पूर्वाग्रह राखेको प्रष्ट भएको ठहर गरिएको बताइन्छ ।
बैंकले गत पुस २७ गते नगरकोटमा आयोजित आवासीय मनोरञ्जनात्मक कार्यक्रममा यौन दुर्व्यवहार भएको जनाउँदै एक जना डेपुटी गभर्नरले झण्डै एक महिनापछि बैंकमा मातहतको विभागलाई दबाब दिएकी थिइन् । कागजातमा जुस लेखेर व्यवहारमा रक्सी चलाइएको उक्त कार्यक्रममा धेरैजसो अधिकृतहरु रात छिप्पिँदै गएपछि नशामा रमेका थिए ।
त्यसको धेरै दिनपछि टक्सार महाशाखामा कार्यरत निर्देशक आचार्यसँग सुनका सिक्का खरिद प्रयोजनका लागि आरोप लगाउने डेपुटी गभर्नर फोनमा कुरा गरेर बबरमहल नै पुगेको धेरै कर्मचारीले बताएका छन् । तर, त्योभन्दा निकै दिनपछि पुस २७ गतेको कार्यक्रमको कुरो निकालेर उनले अधिकृत प्रथमभन्दा मुनिका महिला कर्मचारीहरु मात्र रहेको कमिटीबाट पुरुष अधिकृतलाई दोषी ठहर गर्दै कारबाही गर्नुपर्ने अडानमा पुगेपछि गभर्नर, सञ्चालक समिति बाध्य भएको एक जना सञ्चालकले बताए ।
गभर्नर अधिकारी र केही सञ्चालकसँग कडा शब्दमा आफ्ना कुरा राखेर आचार्यलाई पदमुक्त गराउन डेपुटी अग्रसर भएपछि गभर्नर अधिकारी र सञ्चालकहरु मुद्दा जितेर आउने बलियो प्रमाण रहेको भन्दै उनलाई सेवाबाट हटाउन मञ्जुर भएको त्यतिबेलै चर्चा चलेको थियो । आगामी चैतमा गभर्नरको निम्ति दौड शुरु गरेसकेकाले डेपुटी गभर्नर जसरी पनि उक्त घटनामा आचार्यलगायत अन्य केहीलाई मुछेर अघि बढेको घटनाक्रमले पनि देखाउँदै आएको छ ।
प्रशासकीय अदालतको पछिल्लो बैंकका गभर्नर, डेपुटी गभर्नरलगायत सञ्चालकहरुको प्रशासकीय क्षमतामाथि नै प्रश्न चिन्ह उठाइदिएको छ । सोही सन्दर्भमा बैंकको मानव संसाधनको जिम्मेवारी ढुंगानाबाट मिश्रलाई दिएको अर्थ लगाइएको हो ।
याे पनि...
राष्ट्र बैंकको निर्णय अदालतद्वारा बदर, डेपुटी गभर्नरको चाहनामा ‘ब्रेक’
टिप्पणीहरू