फोटोकाण्डले क कसलाई पार्ला फन्दामा ?

फोटोकाण्डले क कसलाई पार्ला फन्दामा ?
सुन्नुहोस्

‘जान्नेलाई छान्ने’ पार्टीका सभापति रवि लामिछानेको प्रहरी हिरासतमा रहेको तस्बिर सार्वजनिक भएपछि खैलाबैला छ । केही दिनदेखि सामाजिक सञ्जालमा भाइरल बनेको सो तस्बिरलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता–कार्यकर्ताले प्रहरीमाथि विभिन्न आरोप लगाइरहेका छन् । लामिछाने सुरक्षित छैनन् भन्दै उनीहरु फेसबुक लाइभमा आएका छन् । 

काठमाण्डौभन्दा तुलनात्मक रुपमा न्यानो पोखरामा दिउँसै सिरक ओढेर सुतिरहेको सभापति लामिछानेको तस्बिर सार्वजनिक गर्नेलाई प्रहरीले धुइँधुइती खोजिरहेको छ । नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारी हिरासतमा रहेको व्यक्तिको फोटो सामाजिक सञ्जालमा हालेर अनुसन्धान प्रभावित बनाउनेको खोजी भइरहेको बताउँछन् । ‘हामी अनुसन्धान गरिरहेका छौं । तस्बिर सार्वजनिक गर्नेको खोजी भइरहेको छ’,उनले भने । 

गत कात्तिक २ गते वनस्थलीस्थित पार्टी कार्यालयबाट समातिएका लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन कास्की प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइसकेको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्दिकरणजस्तो गम्भीर कसूरमा अनुसन्धान भइरहँदा उनको पार्टीका नेता–कार्यकर्ताले अनेक ‘प्रोप्रोगाण्डा’ गरेको देखिन्छ  । 

रास्वपानिकट डा.निकोलस भुसालले फेसबुकमार्फत आफूले तस्बिर खिचेको स्वीकारेका छन् । उनले हिरासतबाट निस्किसकेपछि सिसीटिभी रुममा फोटो खिचेको बताएका छन् ।

‘हो हो तिमीले जे भन्यौ त्यही मान्नुपर्ने हो र ? लु त यता केस गर्छु भनेर धम्की दिनुभन्दा केस हाल्न गैहाल्नुपर्ने होइन र जो कराउँछ, त्यो डराएको पनि हुन्छ ।’ निकोलसले नै सो च्याट पर्दाफास गरेको हुनसक्ने धेरैको अनुमान छ ।

 

फोटो सार्वजनिक भएपछि गृहमन्त्री रमेश लेखकले दोषीलाई कारबाही गर्न निर्देशन दिएका छन् । सो विषयलाई लिएर रास्वपाका केन्द्रीय सदस्य दीपक बोहोराले सामाजिक सञ्जालमार्फत प्रहरीको व्यवसायिकतामाथि प्रश्न उठाइरहेका थिए । तर, शंकाको सुई दीपकतिरै घुम्न थालेको छ । सरकारमाथि विभिन्न आरोप लगाइरहेका दीपक र निकोलसले नियोजित रुपमा तस्बिर खिचेर सामाजिक सञ्जालमा हालेको खुल्ने ह्वाट्सएप म्यासेजहरु बाहिरिएको छ ।

यी दुईले ‘प्लान’ बनाएर सरकार र प्रहरी संयन्त्रलाई विवादमा तान्न खोजेको च्याटबाट प्रष्ट हुन्छ । म्यासेजमा निकोलसले ‘रवि दाइले ३ बजे भन्नुभाछ’ लेखेका छन् । त्यसपछि दीपकले कुरा भयो ? भनेर प्रश्न गर्दा निकोलसको तर्फबाट ‘भयो दाइ, ३ बजे सुतेसी भन्नुभाछ ।’ भन्ने जवाफ आएको छ । उनले फोटो खिच्यौ भन्दै म्यासेज गरेपछि निकोलेसले रवि सुतिरहेको फोटो पठाइदिएका छन् । 

दीपकले पहिले सो फोटो आफ्नो फेसबुकमा हाल्न र त्यसपछि युट्युबर भोजराज थापालाई भनेर भाइरल बनाउन निकोलसलाई भनेका छन् । गएको डिसेम्बर १५, आइतबार खिचिएको तस्बिर हो त्यो । सोमबार निकोलसले आफ्नो सामाजिक सञ्जालमा सो तस्बिर सेयर गरे । त्यो लामिछानेको तस्बिर हो भन्ने कसैले थाहा पाएनन् । दीपकले आफ्नो सामाजिक सञ्जालमा तस्बिर पोष्ट गरेपछि सो विषय चर्चामा आएको हो । उनले कास्की प्रहरीसँग तस्बिर खिच्नुको कारण र त्यसको मूल्य सोधेका छन् । 

उनले लेखेका छन्,‘अन्याय गर्नुको पनि हद हुन्छ । रवि दाइ हिरासत कक्षमा सुतेको सिसीटिभीको यो फोटो कास्की प्रहरीले कसलाई पठाउन स्क्रिनसट गरेको होला ? अनि, के उद्देश्यका लागि सार्वजनिक गरियो ? कति हो यो फोटोको मूल्य ? न्याय मरेको छैन् भने कसैले न कसैले त यसको मूल्य चुकाउनुपर्ला ।’

अस्ति स्ट्याट्स लेखेका उनी हिजो फेसबुकमा लाइभ आए । उनले ‘कसले प्रहरीको हिरासतमा भएको रवि दाइको फोटो हेर्न चाह्यो ?’ भन्दै प्रहरीलाई प्रश्न गरेका छन् । सो फोटो कहाँबाट आयो ? कसरी आयो ? केका लागि खिचियो ? कसलाई पठाउन खिचियो ? भनेर आफैं पनि छानबिन गर्ने बताएका छन् । फोटोको सत्यता र प्रहरीको सुरक्षा कमजोरीको विषयमा फेसबुक लाइभमार्फत थप सवाल गर्ने बताएका दीपक नै प्रश्नको घेरामा परेका छन् । 

उनले योजना बनाएर निकोलसलाई तस्बिर खिच्न पठाएको म्यासेजबाट छर्लङ्ग हुन्छ । तर, उनले भने फेक स्क्रिनसट बनाएर आफ्नो चरित्रहत्या गर्न खोजेको प्रष्टीकरण दिएका छन् । स्क्रिनसटहरु फर्जी भएको दाबी गर्दै आएका उनले आफ्नो स्वतन्त्र अभियानलाई दबाउन नसक्ने बताएका छन् । फेसबुकमार्फत उनले साइबर ब्यूरोमा निवेदन दिएको जानकारी पनि गराए । 

पत्रकारिता पेशामा हुँदा फेक काम गर्ने कैयौंलाई प्रहरीको हिरासतमा पठाएको बताउँदै उनले निकोलसले लामिछानेसँग भेटेकोबारे कुनै जानकारी नभएको ठोकुवा गरेका छन् । उनको सो भिडियोमा धेरै गाली आएको छ । एक जना सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्,‘तपाईंहरुले बनाएको चाँहि सबै सत्य हुने,तपाईंहरुको बनाएको चाँहि सबै फेक हुने ! फेक काम र स्टन्ट गरेर भ्रम फैलाउनचाँहि घण्टे ग्याङ नै अहिले अगाडि छ ।’ उज्जवलमणि हुमागाईं लेख्छन्,‘तेरिमा घण्टे,तिमीहरु आफू सही जे गरे नि,अरुले सप्रमाण पेश गर्दा अरु गलत ।’

रामचन्द्र खनाल भन्छन्,‘हो हो तिमीले जे भन्यौ त्यही मान्नुपर्ने हो र ? लु त यता केस गर्छु भनेर धम्की दिनुभन्दा केस हाल्न गैहाल्नुपर्ने होइन र जो कराउँछ, त्यो डराएको पनि हुन्छ ।’ निकोलसले नै सो च्याट पर्दाफास गरेको हुनसक्ने धेरैको अनुमान छ । 

स्रोत भन्छ,‘यो प्रि–प्लानिङ रुपमा गरिएको देखिन्छ । निकोलसलाई फोटो खिच्न लगाएर कसरी लिक भयो ? कानुन लाग्छ कि लाग्दैन भन्दै सरकारमाथि लाञ्छना लगाउने र प्रहरीको अनुसन्धान प्रभावित बनाउने यिनीहरुको खेल हो । यसमा रवि, निकोलस र दीपकको बराबरी हिस्सेदारी देखिन्छ । निकोलसले पहिले मैले गरेको भन्यो । अब अहिले अप्ठेरो पर्ने भएपछि च्याट सार्वजनिक गरिदियो ।’

टिप्पणीहरू