भीम रावल निवासमा अलि अलि गर्दै समर्थकको भीड
नेकपा (एमाले)बाट निकालिएका पूर्वउपाध्यक्ष डाक्टर भीमबहादुर रावलको टोखास्थित निवासमा एकाएक चहलपहल बढेको छ । उनको पार्टी सदस्यता खोसिएको दिन बुधबार साँझदेखि त्यहाँ नेता–कार्यकर्ताको जमघट बढेको हो ।
अध्यक्ष केपी शर्मा ओलीबाट हेपिएका, जिम्मेवारी खोसिएका र 'उपाध्यक्ष-महासचिव' गुटबन्दीको चेपुवामा पारिएका जिल्ला र प्रदेश तहका कार्यकर्ता रावलको ‘आगामी राजनीति यात्रा’बारे छलफल गर्न टोखा पुगिरहेको बताइएको छ । रावलनिकट स्रोतकाअनुसार हिजो दिउँसो सुदूरपश्चिम,कर्णाली र लुम्बिनी प्रदेशका डेढ दर्जन बढी केन्द्रीय सदस्यले उनलाई भेटेर सल्लाह–सुझाव दिएका छन् ।
‘कमरेड भीम रावलसँग हिजो दिउँसो छोटो तर महत्वपूर्ण कुराकानी भयो', उनले भने, 'हामी १३–१४ जना केन्द्रीय सदस्य पुगेका थियौँ,अहिलेलाई यत्ति भनौँ कि हाम्रो बीचमा सकारात्मक छलफल भएको छ !’
भेटमा सहभागी अधिकांश नेताले उनलाई ‘एमालेको लिगेसी’ भन्दा बाहिर नजान सुझाएको बुझिएको छ । एकीकृत समाजवादी पनि विकल्प नहुने सल्लाह दिँदै अहिले नहतारिन आग्रह गरेको टोखा पुगेर फर्किएका एक केन्द्रीय सदस्यले जानकारी दिए ।
‘कमरेड भीम रावलसँग हिजो दिउँसो छोटो तर महत्वपूर्ण कुराकानी भयो', उनले भने, 'हामी १३–१४ जना केन्द्रीय सदस्य पुगेका थियौँ,अहिलेलाई यत्ति भनौँ कि हाम्रो बीचमा सकारात्मक छलफल भएको छ !’
स्रोतका अनुसार रावलले छुटाछुट्दै समूह बनाएर पालिका,जिल्ला र प्रदेश कमिटीमा असन्तुष्ट एमाले नेता–कार्यकर्ताहरूको सूची तयार पारिरहेका छन् । एक उपाध्यक्षनिकट केही एमाले केन्द्रीय सदस्यले पनि हौसला दिइरहेका छन् ।
निकटस्थहरूसँग भावी रणनीतिबारे छलफलमै रहेका रावललाई अहिलेसम्म केही केन्द्रीय सदस्यसहित १३ जिल्ला अध्यक्षले पनि समर्थन गर्ने वाचा गरेको बताइएको छ । आन्तरिक संवादसँगै उनले पत्रकार सम्मेलनको तयारी पनि गरिरहेका छन् ।
अध्यक्ष ओलीको ठाडो प्रस्तावमा महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमालले समर्थन गरेपछि बुधबार दिउँसो बसेको एमाले सचिवालय बैठकले रावलको सदस्यता खोस्नुका साथै स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनालाई छ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयले एमालेको तल्लो तहसम्मै खैलाबैला मच्चिएको छ ।
टिप्पणीहरू