प्रहरीको मूलढोकामा आत्मदाहको प्रयास
-नमस्कार शाह
जिल्ला प्रहरी कार्यालय बाँकेको गेटमा एक पुरुषले हालै आत्मदाहको प्रयास गरेका छन् । आफैँमाथि प्रज्वलनशील पदार्थ छर्केर नेपालगञ्ज उपमहानगरपालिका–२२ बिर्ता गाउँका वाजिद अलि शेषले गत सोमबार आत्मदाहको प्रयास गरेका हुन् ।
कार्यालयको गेटमा ड्युटीमा बसेका प्रहरीले उनको हर्कत देखेपछि नियन्त्रणमा लिएका थिए । आफ्नी छ महिनाकी गर्भवती श्रीमतीलाई कुटपिट गर्ने र कुटपिट गर्न उक्साउनेलाई पक्राउ गरेर कारबाही गर्न बाँके प्रहरीले ढिलाइ गरेपछि शेष आक्रोशित भएको बताइन्छ ।
आफूले जाहेरी दिए पनि दोषीलाई पक्राउ नगरेको कारण शेषले आत्मदाहको प्रयास गरेको बताएका छन् । गत मंसिर २० गतेका दिन छ महिनाकी गर्भवती श्रीमती आशियामाथि बिर्ता गाउँका केही महिलाले कुटपिट गरेका थिए । आशियालाई आफूमाथि गाउँलेले कुटपिट गर्नुको कारण हालसम्म थाहा छैन ।
पसलमा बसेको बेलामा एक्कासी केही महिलाले हातपात गरेको बखत सीसीटीभी क्यामेरामा कैद भएको दृश्य सार्वजनिक समेत भएको छ । उक्त दृश्यमा एक पुरुषसमेत कुटपिटमा संलग्न देखिन्छन् ।
त्यसरी कुटपिट गर्न उक्साउने व्यक्ति वाजिदका काकासँग लेनदेनको विवाद भएकासोही ठाउँकै मेराज खान रहेको वाजिदको आरोप छ । उनका अनुसार, काकासँगको लेनदेन विषयमा छलफलका लागि वाजिद वडा प्रहरी कार्यालय नेपालगञ्जमा गएको बेलामा उक्त घटना भएको थियो । बाजिदले भने, ‘तिम्रा श्रीमान मेराविरुद्ध प्रहरीमा गएको भन्दै श्रीमतीलाई आफुसहित महिलाहरु लगाएर उनले कुटेछन् ।’
जानकारी अनुसार बाजिदका काकाले स्थानीय मेराज खानलाई सापटी दिएका थिए । लामो समयसम्म पनि रकम फिर्ता नपाउँदा उनले खानसँग पैसाका लागि बारम्बर आग्रह गरे । सापटी लिएका मेराज खानले रकम नदिने र आफूसँग निहुँ खोजे उल्टै फसाइदिने धम्की दिएको बताइन्छ । सोही विषयमा वाजिद वडा प्रहरी कार्यालय गएका थिए ।
काका ससुरासँगको विवादको रिस मेराजले बुहारी त्यसमा पनि छ महिनाको गर्भवती आशिया र गर्भमा हुर्कदै गरेको छ महिने शिशुसँग पोखे । आसिया घरमै बसिरहेका बेला मेराज खानको परिवारले उनलाई घर भित्रबाट घिसार्दै सडकमा सडकमा पुर्याएको सिसिटिभीमा देख्न सकिन्छ ।
श्रीमती अनाहकमा कुटिएपछि वाजिदले मंसिर २१ गते वडा प्रहरी कार्यालय नेपालगञ्जमा उजुरी दिए । त्यसपछि प्रहरीले २२ गते गाउँ पुगेर कुटपिटमा संलग्न भएको भिडियोमा देखिएका पाँच जनालाई नियन्त्रणमा लियो । जिल्ला प्रहरी कार्यालय बाँकेमा पुर्याएको केही समय नबित्दै पूर्व शहरी विकासमन्त्री मोहम्मद ईस्तियाक राईका विश्वासपात्र आविद खानमार्फत् सबै छुटेका हुन् ।
पीडितका श्रीमान् भन्छन्, ‘सबै छुटेपछि जिल्ला प्रहरी कार्यालय बाँकेले हाम्रो जाहेरी नै लिन मानेन । कुनै अमुक नेताको दबाबमा प्रहरी परेर हाम्रो जाहेरी दर्ता गर्न मानेन । कुटपिटमा संलग्न छ जनाको नाममा जाहेरी दिन खोज्दा प्रहरीले तीन जनाको नाममा मात्रै जाहेरी दिन हामीलाई दबाब दियो । मंसिर २० गतेको घटनाबारे पुस २ गते मात्रै मुश्किलले जाहेरी दर्ता भएको हो ।’
वाजिदले मेराज खान, राबिया शेख, हसरतुन खान, खलसुम जहाँ खानरफिकुन खान र बब्लु खानसमेतको विरुद्धमा जाहेरी दिएका छन् । प्रहरीले तीन जनाको नाम हटाउन लगाउँदै मेराज, खलसुम र हसरुतको नाममा मात्र जाहेरी लिएको थियो ।
‘जाहेरी दर्ता भएपनि दोषीहरु समातिएनन्,’ उनी भन्छन्, ‘लगातारको दबाबपछि पुस ८ गते कुटपिटमा संलग्न महिलालाई समात्न प्रहरी गाउँ आयो, महिला आरोपितलाई पुरुष प्रहरीले समात्न सकेनन् । विवादबीच प्रहरीले महिलाहरुलाई जिल्लामा हाजिर हुन आदेश दिएर फक्र्याे ।’
यसरी रित्तै फर्केको प्रहरीको विश्वास नलागेपछि आफू जिल्ला प्रहरी कार्यालयमा ती महिलाहरु हाजिर हुने आशामा पुगेको बताउँदै भने, ‘घण्टौँ कुर्दा पनि ती महिला प्रहरी कार्यालयमा आएनन्, न त प्रहरीले मेरो कुरा सुन्यो ।’
प्रहरीले बेवास्ता गरेपछि आफुले आत्मदाहको प्रयास गरेको उनी बताउँछन् । घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले भने, ‘प्रहरीले गहिरो अनुसन्धान गरिरहेको छ ।’ अनुसन्धानमा कहिलेकाहीँ ढिलो भएपनि उक्त घटनामा प्रहरी गम्भीरताका साथ लागेको उनको दाबी छ ।
टिप्पणीहरू