उता पिएम बोल्नु, यता कान्छीमायालाई बाघले खानू

उता पिएम बोल्नु, यता कान्छीमायालाई बाघले खानू
सुन्नुहोस्

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको केही दिनअघिको एउटा भनाई निकै चर्चित रह्यो । त्यो हो–यति सानो देशले यति धेरै बाघ पाल्न सक्दैन, मान्छे खुवाएर बाघ पाल्न सकिँदैन । 

यो कुराले निकुन्जको मध्यवर्ती क्षेत्रका बासिन्दाहरुलाई केही खुसी बनाएपनि धेरैले प्रधानमन्त्री ओलीलाई उडाए । प्रधानमन्त्री ओलीले दिएको अभिब्यक्तिको केही दिन बित्न नपाउँदै मकवानपुरको मनहरी गाउँपालिका ७ मा घर छेवैबाट लगेर बाघले ७२ बर्षका कान्छीमायाँ रुम्बालाई खाएको छ । 

गत आइतबार घाँस काट्न घर नजिकै खोल्साको डिलमा पुगेकी कान्छीमायाको टाउको र फिलाका भाग बाघले खाएको अबस्थामा शव फेला परेको हो । घाँस काट्न गएकी कान्छीमाया अबेरसम्म पनि नफर्केपछि खोजी भएको थियो । जंगलतिर खोजेर फर्केका युवाहरुले एकाएक कान्छीमाया दौडिएर झाडीतिर भागेको जस्तो दृष्य झल्याकझुलुक देखे । युवाहरु त्यतै दौडिए । तर, दुर्भाग्य त्यहाँ कान्छीमाया भागेकी थिइनन्, उनलाई बोकेर बाघ दौडेको रहेछ ।

तस्बिरमा बाघको आक्रमणबाट मारिएकी कान्छीमाया र सुर्य बहादुर मोक्तानको बाख्रा

कान्छीमायालाई मारेकै भोलिपल्ट फेरि सोही स्थानका सूर्यबहादुर मुक्तानका बाख्राका खोरबाट समेत ७ वटा बाख्रा मारिए । तीमध्ये एउटा त बाघले बोकेरै जंगलतिर लगेको स्थानीयबासिन्दाले बताए । मनहरी गाउँपालिका ५ वडाका वडाध्यक्ष दीपेन्द्र अधिकारीले घटनाले गाउँमा शोक र त्रास दुबै बढेको बताए । ‘साँझपख ढोका खोलेर बाहिर निस्कने हिम्मत कसैले गरेका छैनन्’, उनले प्रतिक्रिया दिए । घटनापछि बाघ समात्ने तयारी धिमा गतिमा चलिरहेको छ । 

बाघलाई समातेर खोरमा थुन्नका लागि पर्सा राष्ट्रिय निकुन्जको सुरक्षार्थ तैनाथ नेपाली सेना, नेपाल प्रहरी तथा प्राविधिक टोली खटिएको छ । पर्सा राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रका बासिन्दाले यसरी हरेक बर्ष बाघलाई आहराको रुपमा आफैलाई खुवाएर बाघ बढाइरहेका छन् । त्यसको बदलामा निकुन्जको प्राकृतिक स्रोतको उपभोग गर्ने अधिकार स्थानीयबासिन्दालाई त छैन नै, उल्टै सैनिक शासनजस्तो व्यवहार निकुन्जले गर्नेगरेको पीडित मध्यवर्ती क्षेत्रका बासिन्दाहरु बताउँछन् । 


 

टिप्पणीहरू