अमेरिकी राष्ट्रपतिको शपथ ग्रहणअघि उत्तर कोरियाको शक्ति प्रदर्शन
उत्तर कोरियाले धेरै वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । पूर्वी तटबाट उत्तरले धेरै वटा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।
स्थानीय समयअनुसार बिहान साढे ९ बजेदेखि प्रहार गरिएका ती क्षेप्यास्त्रहरु झण्डै २५० किलोमीटर दूरीसम्म पुगेको बताइन्छ । एक साताअघि उत्तर कोरियाले नयाँ मध्यम दूरीको हाइपरसोनिक बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो ।
उता अमेरिकामा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सोमबार पदभार ग्रहण गर्दैछन् । उत्तर कोरियाले अमेरिकाका सहयोगी राष्ट्रहरु जापान र दक्षिण कोरियालाई दबाबमा राख्ने उद्देश्यले उक्त क्षेप्यास्त्र प्रहार गरिएको हुनसक्ने आकलन गरिएको छ ।
यता दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोई साङ–मोकले उत्तर कोरियाको उक्त कार्यलाई उत्तेजनापूर्ण गतिविधिको संज्ञा दिएका छन् । उनले उत्तर कोरियाका पछिल्ला गतिविधिबाट संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावहरूको उल्लंघन भएको दाबी गरेका छन् ।
टिप्पणीहरू