कता हरायो एमालेको साइबर सेना ?
‘सैं पनि एमाले, मै पनि एमाले’ भन्दै गाउँ–शहरका गल्ली–चोक घन्काउने नेकपा (एमाले) का कार्यकर्ता आजकल ‘बा’ अर्थात् अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सामाजिक सञ्जालमा हमला हुँदा पनि चुपचाप छन् । संसद विघटनताका विपक्षीलाई खुइल्याउन महेश बस्नेतहरूले बनाएको ‘साइबर सेना’ समेत अध्यक्षको बचाऊमा कतै देखिएको छैन ।
असार १७ गते मध्यराति शेरबहादुर देउवासँग सात बुँदे लिखत गरेर सत्तामा उक्लिएका प्रधानमन्त्री ओलीको लोकप्रियता निरन्तर घट्दो छ । पहिलो र दोस्रो पटक सरकारको नेतृत्व गर्दा वाहवाही कमाएका उनीविरुद्ध टुँडिखेल, दशरथ रंगाशाला र दरबारमार्गमा मूर्दावादको नारा लाग्यो । सामाजिक सञ्जालमा विरोधको स्वर चर्किंदो छ । कतिसम्म भने मानवीय समवेदना जोडिएका फेसबुक स्टाटसमा समेत गालीको वर्षा हुने गरेको छ । दुई सातायता ओलीले भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंह, बालगायक सचिन परियार र पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधनप्रति श्रद्धाञ्जली प्रकट गर्दै फेसबुकमा लेखेका स्टाटसमाथि आएका प्रतिक्रियाको प्रवृत्ति हेर्दा एमालेमाथि नकारात्मकतामा रमाउने नयाँ पुस्ताको भरोशा टुटेको मात्र होइन वितृष्णा थप बढेर गएको प्रष्ट बुझिन्छ । ओलीलाई गाली गर्दै नकारात्मक भाव जन्माउने किसिमका प्रतिक्रियाको ओइरो लाग्दा सरकार र ओलीसँगै एमाले भने रक्षात्मक देखिन्छ ।
सामाजिक सञ्जालमा व्यक्त अध्यक्ष तथा प्रधानमन्त्री ओलीका प्रायः सबैजसो धारणामा नकारात्मक प्रतिक्रिया आइरहँदा एमाले नेतृत्व, कार्यकर्ता र साइबर सेनाको कमाण्डरले मुखमा पानी हालेर बसेको स्थिति छ । अर्कोतिर, नेताहरूको नामै तोकेर सिध्याइदिन उकास्ने रतन कार्की जस्तालाई जापानबाट समातेर ल्याउने हल्ला चलाउने तर कारबाही गर्न नसक्ने प्रवृत्तिले पनि अराजकतालाई मलजल गरिरहेको छ । पार्टीभित्रै फरक मत राख्नेलाई ‘भीम रावल’ बनाइदिने, विपक्षीमाथि शत्रुतापूर्ण व्यवहार गर्ने र उट्पट्याङ कुरा गरेर हवाई सपना देखाउने स्वभाव र कार्यशैली पनि यसनिम्ति उत्तिकै जिम्मेवार छ । त्यसैकारण साइबर सेनाले चाहेर पनि अध्यक्षको बचाउ गर्न नसक्ने अवस्था बन्दै छ ।
उपमहासचिव प्रदीप ज्ञवालीले २०७१ सालमा लेखेको ‘जबज र पार्टी जीवनको लोकतान्त्रीकरण’ पुस्तकको आवरण पृष्ठ सामाजिक सञ्जालमा व्यापक सेयर भइरहेको छ । यसको पछाडिको कारण जबजको प्रचार भने होइन । पार्टीबाट निकालिएका डाक्टर भीमबहादुर रावल र ६ महिनाका लागि निलम्बित नेत्रीद्वय डा. विन्दा पाण्डे र उषाकिरण तिम्सेनामाथिको कारबाहीप्रति असन्तुष्टिस्वरूप किताबको कभर त्यसरी भाइरल गराइएको हो । कभर पृष्ठसँगै ‘तिम्रो लोकतान्त्रिकरण कता गयो ?’ भन्नेजस्ता प्रश्न तेस्र्याइएको छ । अध्यक्षले आन्तरिक लोकतन्त्रलाई निमोठिएको दर्शाउन लाक्षणिक उद्देश्यसाथ सञ्जालमा सेयर गरिएको यसबाट प्रष्टै बुझिन्छ ।
अध्यक्षमाथि यत्रो आक्रमण हुँदासमेत कार्यकर्ता प्रतिवादमा नउत्रिएको भनिँदा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न जानेहरूको ताँती लागिरहेको छ । अध्यक्षको पेलाइमा परेका कार्यकर्ता संरक्षणको खोजीमा शहरबाट टाढा पूर्वउपाध्यक्षको निवास भङ्गालतिर धाउन थालेको धेरैको बुझाइ छ । कुनै समय ओलीको खास मान्छे भनेर चिनिएका प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङहरू पछिल्लो समय कोर टिमबाट आउट भएको भनिँदै छ । अलिअलि डिफेन्ड गर्ने विष्णु पौडेल, राजन भट्टराई र भानुभक्त ढकालहरूले पनि खासै मुख खोलेका छैनन् । नेतृत्वपंक्ति नै चुइँक्क नबोलेपछि तलका कार्यकर्तालाई पनि हाइसञ्चो हुनु स्वाभाविकै हो । कुनै बेला रहरलाग्दो संगठन भएको एमालेमा नेतृत्वमाथि घेराबन्दी हुँदा पार्टीपंक्ति किन चुपचाप ? यसको कारण खोतल्दै एक नेता भन्छन्– ‘अध्यक्षको आफ्नै कर्मले यो अवस्था निम्तिएको हो ।’ राजा र हिन्दूराष्ट्र फर्काउने घोषित नीति बोकेको पूर्वपञ्चहरूको पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग चुनावी तालमेल गर्नेदेखि राप्रपा नेपालका अध्यक्ष कमल थापा र हृदयेश त्रिपाठीहरूलाई सूर्य चिह्न सापट दिने, होलीवाइन उपनामबाट बदनाम क्रिश्चियन नेता एकनाथ ढकाललाई अर्को पार्टीको अध्यक्ष भैकन समानुपातिक सांसद बनाउनेजस्ता निर्णय ओलीकै बलमा भयो । एनजिओमा काम गर्नेलाई ल्याएर एकैचोटी मन्त्री र सांसद बनाइयो भने पार्टी सदस्यतासमेत नलिएका दुर्गा प्रसाईंजस्ता विवादित पात्रलाई एकैचोटी केन्द्रीय सदस्यमा भर्ती गरियो ।
अध्यक्षको रुचिको पात्र हुनु एक मात्र योग्यताले विमला पौडेललाई एकैचोटि परराष्ट्रमन्त्रीको कुर्सीमा पुर्याइदियो । समग्रमा जबजको ‘ज’ नजान्नेहरूलाई ल्याएर शिरमै राख्ने काम ओलीबाटै भयो । संगठनको नीति, नियम र मर्यादा मिचेर गरिएका यस्ता कदमको ठूलो फेहरिस्त नै तयार हुन सक्छ ! तर, अध्यक्ष ओलीलाई ‘बा’ भन्नेहरूले मात्र होइन ‘दश भाइ समूह’का नेताले समेत कहिल्यै प्रश्न उठाएनन् ।
विगतको यस्तो कर्मले इमान्दार कार्यकर्तालाई अहिले अध्यक्षको बचाउमा बोल्न नैतिक संकट परेको उनै एमाले नेताको बुझाइ छ । बरु कमल थापा, ह्रयदेश त्रिपाठीलगायत अन्य पार्टीका नेतालाई सूर्य चिह्नमा चुनाव लडाउने पार्टी नेतृत्वसँग डा.भीम रावललाई गलहत्याउने नैतिकता नहुनुपर्ने हो भन्नेहरू क्रमशः मुखरित हुन थालेका छन् । रावल, पाण्डे र तिम्सेनामाथि अन्यायपूर्वक कारबाही गरिएकोमा कमला बोहोरा, भगवती न्यौपाने, विद्यासुन्दर शाक्य, कर्ण थापालगायतले सहानुभूति जनाएको अवस्था छ । सार्वजनिक रूपमा अध्यक्षको आलोचना नगरे पनि काभ्रेमा समानान्तर गतिविधि चलाइरहेका केन्द्रीय सदस्य तथा सांसद गोकुल बाँस्कोटाको मौन असन्तुष्टि प्रकट भैरहेको छ ।
कुनै बेला ओलीको आलोचना गर्नेमाथि झम्टिएर जाइलाग्ने उनले विश्वासपात्रहरूसँगको भित्री छलफलमा ‘मलाई चैं किन कारबाही गरेनन् होला !’ भनेर व्यंग्य गरेका छन्। आफूलाई कारबाही गर्दा सांसद पदसमेत नरहने भएकाले हच्किएको उनको बुझाइ छ । अध्यादेश ल्याएर साना पार्टी तोडफोड गरी एमालेमा मिसाउने र कांग्रेसलाई टपेर संसद्को पहिलो दल बन्ने योजनामा रहेका ओलीले आफ्नै सांसदमाथि कारबाहीको तरबार उज्याइहाल्ने सम्भावना तत्काललाई नरहेको विश्लेषण बाँस्कोटाहरूको छ ।
– कमला ओली
टिप्पणीहरू