प्रधानमन्त्रीका सामु ती युवती देखा पर्नासाथ....
14.21K shares
![प्रधानमन्त्रीका सामु ती युवती देखा पर्नासाथ....](https://janaaastha.prixacdn.net/media/albums/smk_k0Y8qKbeK6.jpg)
माघ ३ गते शुक्रबार नक्सालको म्यारियट होटलमा हाल ३ हजार मेगावाट विद्युत उत्पादन गरिरहेका निजी क्षेत्रका स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) स्थापनाको २५ औँ वर्ष प्रवेशको उपलक्ष्यमा ‘रजत जयन्ती’ मनाइँदै थियो । प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहेको कार्यक्रममा ऊर्जामन्त्री दिपक खड्का, विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, पूर्वमन्त्री तथा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, रास्वपा उपसभापतिसमेत रहेका अर्थशास्त्री डाक्टर स्वर्णिम वाग्ले, सञ्चार उद्यमी रामेश्वर थापा, इपानका अध्यक्ष गणेश कार्की, सिइओ भीम गौतम, उपमहासचिव प्रकाश दुलाल, घनश्याम पौडेल, चिलिमेका नारायण र केदार अधिकारीलगायत ऊर्जा क्षेत्रका एकसे एक विज्ञ, लगानीकर्ता र सरोकारवाला उपस्थित थिए ।
प्रधानमन्त्री ओली बोल्दै गर्दा हलमा प्रवेश गरिन्, साडी चोलोमा सजिएर आफूलाई एमाले नेता महेश बस्नेतको कान्छी श्रीमती दावी गर्ने धादिङकी शोभा पाठक । पूर्व उद्योगमन्त्रीसमेत रहेका बस्नेतसँगको अन्तरंग सम्बन्धका कथा बाहिर आएपछि एक वर्षदेखि लफडा झेल्दै आएकी उनी प्रधानमन्त्री सहभागी कार्यक्रममा देखिएपछि खासखुस चल्न थाल्यो– ऊर्जा लगानीकर्ता वा कुनै सरोकारवाला निकायमा नरहेकी यिनी इपानको कार्यक्रममा कसरी पुगिन् ?
बस्नेतसँग मुद्दा मामिला खेपेर अड्डा–अदालत धाइरहेकी उनी एक वर्षदेखि ओलीलाई भेटेर आफ्ना पीडा सुनाउन प्रयासरत छिन् । पार्टीपंक्तिमा ‘बा’ भनेर चिनिने ओलीलाई युवासंघको पूर्वकेन्द्रीय सदस्य रहेकी शोभा भने ड्याडी संबोधन गर्छिन् । बस्नेतसँग विवाद शुरु भएदेखि नै बालकोट पुगेर ड्याडीलाई भेट्ने प्रयास थियो । तर, प्रवेश पाइनन् । ओली प्रधानमन्त्री भएर बालुवाटार र सिंहदरबारमा सुरक्षा चेकजाँचका कारण भेट्न सम्भव नभएपछि सार्वजनिक कार्यक्रमलाई उनले ‘टार्गेट’ बनाएकी हुन् ।
‘म ड्याडीलाई आफ्नो कुरा सुनाउने पक्षमा थिएँ तर छिर्नेबित्तिकै प्रहरीले शोभा म्याडम हजुर नै हैन भनेर घेरा हाली दाहिनेपट्टीको कुनामा लगेर लक गरिदिए’, शोभाले भनिन्, ‘पार्टीमा खराब चरित्र भएका मान्छेलाई बोकेर हिँड्ने अनि बाहिर आदर्श र नैतिकताका गफ छाँटेर हुँदैन । यो कुरा उहाँलाई भन्न चाहन्थेँ ।’
ओलीको इशारामा प्रहरीले भेट्न नदिएको उनको बुझाइ छ । प्रधानमन्त्रीको वरपर बसेकाहरूले आफ्नो उपस्थितिबारे इशाराले जानकारी गराएको र त्यसपछि एसएसपीको नेतृत्वमा बर्दिधारी प्रहरी खटाएर आफूलाई रोकेको गुनासो गर्दै भनिन्, ‘१२–१५ जना प्रहरीले मलाई घेरेर बसे । बोल्दा बोल्दै मलाई देख्नासाथ उहाँ (प्रधानमन्त्री) ले त ऊर्जाको कार्यक्रममा वन र बाघसम्बन्धी भाषण गरेर २ मीनेटमै निस्कनुभयो ।’
महेशले पत्नीवत् सम्बन्ध कायम राखेको, तर सोही रूपमा स्वीकार नगरेको भन्दै गत वर्ष फागुनमा शोभा सामाजिक सञ्जालमा एकाएक प्रकट भएपछि यी दुईको अन्तरंग सम्बन्ध बाहिर आएको हो । त्यतिबेलैदेखि पार्टी अध्यक्ष ओलीलाई भेटेर राम कहानी सुनाउने योजना पूरा नभए पनि फोनमा भने संवाद टुटेको छैन । दशैं फूलपातीको दिन बिहान ओली आफैँले फोन गरेर ‘के छ बेटा ?’ भनी सोधेकोमा उनले ‘जिउँदो लाश बनाइहाल्नुभयो, बाँचिरहेको छु’ भनेर जवाफ फर्काइन् । पार्टीको बदनाम भएको भन्दै सबै कुरा बिर्सिदिन ड्याडीले गरेको आग्रहमा ‘ठीक छ, तपाईंको छोराले राम्रो काम गरेको छ, फूलमाला लगाइदिनु’ भन्दै रिसाएकी थिइन् । त्यसपछि फोन काटेका ओलीले लगत्तै बस्नेतलाई फोन गरेर गाली गरेको पनि उनलाई थाहा छ । त्यही भएर हरेक वर्ष ‘बा’ को हातबाट दशैँको टीका लगाउने गरेका बस्नेतले यसपटक बालुवाटारमा प्रवेश पाएनन् । टीका थाप्न सपरिवार पुगेका उनलाई गेटबाटै फर्काइएको शोभा बताउँछिन् ।
बस्नेतले दिल्ली लगेर गर्भपतन गराएको भन्दै आएकी र पछिल्लो पटक अस्पतालका कागजपत्रसमेत सार्वजनिक गरेकी शोभाले अध्यक्ष ओलीको सल्लाहमै आफूहरु दिल्ली गएको खुलासा पनि गरेकी छन् । उनले भनिन्, ‘जाने बेला एयरपोर्टबाट फोनमा कुराकानी भएको थियो । ड्याडीले दुई जनासँग पालैपालो १३ मीनेट कुरा गर्नुभएको हो । महेशलाई सुरक्षित रूपमा लिएर जानुसमेत भन्नुभएको थियो ।’
प्रसूतिसम्बन्धी उपचारको निम्ति दिल्ली जाँदा सीतामढीस्थित भारतीय जनता पार्टी (भाजपा) की एक महिला विधायकको क्वार्टरमा उनीहरू बसेका थिए । त्यसको चाँजोपाँजोचाहिँ आफूलाई लैनचौरको भित्रिया दाबी गर्ने एमाले केन्द्रीय सदस्य सञ्जीव झाले मिलाएको बताइन्छ । त्यस्तै, बिजेपीका महामन्त्री दुश्यन्तकुमार गौतमसँग चिनजानमा रहेकी शोभाले बस्नेतलाई भेटाएकी थिइन् । तर, गर्भ गिराउन मञ्जुर नगरेकी उनले बसेकै क्वार्टरमा राति विष सेवन गर्न खोजेपछि लफडासमेत भएको थियो ।
नेपाल फर्केर फेरि जनकपुरमा विष सेवन गरेकी उनको त्यहाँ एक जना प्रहरीको कोठामा उपचार गराइएको थियो । लिभिङमा बसेर रमाइलो गरेका तर श्रीमती बनाउन नचाहेका बस्नेतले प्रमाण मेटाउन त्यहीबेला प्रहरीकै सामुन्ने हस्पिटलका कागजपत्र च्यातेर फालेको शोभाको दाबी छ । गुप्तरूपमा चल्दै आएको वर्षौंदेखिको सम्बन्ध यही घटनापछि क्रमशः बाहिरिएको हो । गत वर्ष फागुन ९ गते युवासंघको केन्द्रीय सदस्यबाट राजीनामा दिएर शोभा पार्टी महासचिव शंकर पोखरेललाई घटनाबारे बेलिबिस्तार लगाउन च्यासल पुगेकी थिइन् । पार्टी केन्द्रीय कार्यालय सचिव डाक्टर भीष्म अधिकारीलाई भेटेर उजुरी पनि दर्ता गराइन् । त्यसपछि अनुशासन आयोगका अध्यक्ष केशव बडाल र वकिलसहित पाँच जनाको टोलीले बयान लिएर पार्टीलाई औपचारिक जानकारी गराए पनि उजुरीउपर कुनै निर्णय भने भएन ।
यता, प्रहरीमा पनि किटानी जाहेरी दिएकी उनीमाथि युवासंघका कार्यकर्ताले अनामनगर थापागाउँको अपार्टमेन्टमा पुगेर सांघातिक हमला गरेका थिए । बस्नेतकै योजनामा ज्यान मार्ने उद्देश्यसाथ आक्रमण भएको शोभाको दाबी रहँदै आएको छ । उच्च अदालत पाटनको आदेशपछि टेकु प्रहरीमा अर्को जाहेरी दर्ता गराएकी उनले अझै न्याय पाउने आशा भने मारिसकेकी छैनन् । ‘अदालतले मुद्दा चल्न सक्ने भनेको छ तर प्रहरीले मान्छे समात्दैन’, उनको गुनासो छ, ‘दिल्लीबाट हस्पिटलको सबै सक्कली डकुमेन्ट ल्याएर सनाखत गराएकी छु । तर, किन हो समात्दैन ।’ प्रधानमन्त्री ओलीले समेत आफूलाई कानुनी लडाइँ लड्न सुझाव दिएको शोभाको दाबी छ ।
14.21K shares
टिप्पणीहरू