गन्तव्य एकातिर, मन्तव्य अर्कैतिर

– तीर्थ सिग्देल
एउटा ट्रकमा लेखिएको थियो, गन्तव्य सही भए कसैको डर हुन्न । यात्रामा रहेको बेला देखिएको यो ट्रक साहित्यको एउटा हरफले धेरै कुराको अर्थबोध गरेको छ । वास्तवमा गन्तव्य सही भएमा कसैसँग डराउनुपर्दैन तर गन्तव्य निश्चित नभएपछि पाइला–पाइलामा डर हुन्छ ।
आजभोलि शक्ति र सत्तामा रहेकाहरूका तर्क र बहस अनि क्रियाकलाप नियाल्दा त्यस्तै अनुभूत हुन्छ । जति सुरक्षा उति नै डर अनि जति शक्ति उति नै घमण्ड । नेपालीप् राजनीतिको विडम्बना हो या नेतृत्वको सोच, जताततै देखिन्छन् यस्ता दृश्य, जहाँ उचाइमा पुगेका मान्छेहरूका अनुहारमा कालो पोतिएको छ । खै किन हो ? सिंहदरवारमा रित्तो गाग्री लिएर हर्क साम्पांगहरू पुग्दा भुइँचालो जान्छ । बालुवाटारदेखि सिंहदरवारसम्म सुरक्षा घेरा छ, तैपनि शासकहरूका मनमा शान्ति र अमनचैन छैन । मधेशवादीहरू पनि सत्तामै छन्, तैपनि सत्ता टिकाउने डर छ । कहीँ–कतै नभएको अभ्यास यहीँ छ, कांग्रेसदेखि एमालेसम्म सत्तामा छन्, तैपनि सिंहदरवारमा भूकम्प गइरहेको छ । रवि लामिछानेमाथि अदालती कारवाही चल्दा पनि सत्तासीनहरूको मनमा अशान्ति छ । दुर्गा प्रसाईंहरुले आगो बाल्दा बालुवाटार त्रस्त छ । सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्दा पर्खालबाहिर सुरक्षा बढ्छ, पार्टीका बैठकहरूमा सेनाको टुकडी नै पस्छ । संसदीय प्रणालीविपरीत अध्यादेश ल्याउँदा पनि ढुक्क हुने स्थिति छैन ।
बनको बाघले खाओस् नखाओस्, मनको बाघले खाएपछि कसैको केही लाग्दैन रे ! यो उखान होला तर आज नेपालको सन्दर्भमा यथार्थ सावित भएको छ । छँदाछँदैको कम्युनिष्टको दुईतिहाइ तुहाएर पोख्दै उठाउँदै गर्ने तरिकाले यो डर सिर्जना गरेको हो । हिउँदमा धान उठाइसकेपछि केटाकेटीहरू सिला खोज्न निस्कन्छन् । त्यतिबेला उनीहरूलाई लाग्छ, सिला खाजेरै भएपनि भकारी भरिन्छ । तर, सिला खोजेर आजसम्म भकारी भरिएको उदाहरण छैन । भएको भकारीको धान पोखेर सिला खोजेर भकारी भर्ने सपना देखेर कहाँ पूरा हुन्छ र ?
नेपाली राजनीतिमा अहिले यही स्थितिको अभ्यास गर्न खोजिँदैछ । गन्तव्य एकातिर, मन्तव्य अर्कोतिर छ । त्यही ट्रक साहित्यले दिएको सन्देश बुझे काफी हुन्छ । मुकुलुंगमा गोली चल्यो, त्यहाँ केवलकार बनाउन नदिने गरी आन्दोलन उठाइँदै छ । अलिअघि खुवालुङमा पनि लफडा भयो । कोशीमा पहिचानको मुद्दा पेचिलो बन्दै छ । भीम रावलले एमाले छाडे, कति मान्छे उनकै पछि लागे । मधेशवादीहरू मोर्चा कस्दैछन् तर उपेन्द्र यादवले न सत्ता छाडे न सडक । वामदेवलाई एमाले पसेर नाच्न मन थियो तर उनी यता न उताको भए । प्रचण्डलाई फेरि सत्ता चाहिएको छ त्यही भएर समाजवादी मोर्चा बनाउँदै आफ्नै पार्टी बलियो बनाउन लागेका छन् । स–साना पार्टीमा विकेट गिरेको गिर्यै छ । तैपनि, समाजवादी मोर्चाको रटान लगाइँदै छ ।
रामशरण बूढा भए, प्रकाशशरण बोल्छन् बेलाबेला । पुल, बाटो र रेल बनाउन छैन तत्परता । रेल विभाग बनाएर कति ढुकुटी रित्तियो ?
अहिले वनभोजको सिजन छ । वनभोजमा खेलिने खेलमध्ये धेरै प्रख्यात छ, तातोआलु र हाँडी फुटाई । यी दुवै खेलको सान्दर्भिकता यहाँ झल्किन्छ । कसरी भने यी दुवै खेलमध्ये तातोआलुमा हातमा रहेको बल अर्कालाई पास गरेर कुर्सी ताकिन्छ । त्यसैगरी हाँडी फुटाउने खेलमा आँखामा पट्टी बाँधेर हाँडी फुटाउनु पर्ने हुन्छ । अहिले नेपालको सन्दर्भमा यी दुवै खेलको प्रयोगात्मक अभ्यास मात्र भइरहेको छ भन्दा फरक पर्दैन । हातमा रहेको तातोआलु रूपी बल अर्कालाई पन्छाएर कुर्सी ताक्ने र आँखामा पट्टी लगाएर अर्काको टाउकोमा डण्डी बर्साउने प्रवत्ति हुर्कंदै छ । र, त्यही खेलमा कांग्रेस अम्पायर बनेको छ र मधेशवादी दलहरू लाइन्समेन ।
दुई तिहाइको सरकार छ, तैपनि सरकार गिर्ने डर छ । प्रधानमन्त्री आफैँ सरकार गिर्दैन भनेर हिँडेका छन्् । शेखर कोइराला, गगन र विश्वप्रकाशहरू त्यहीँ निरिह छन् । रामशरण अब बूढा भए, प्रकाशशरण बोल्छन् बेलाबेला । अनि कांग्रेसका नेताहरू अध्यादेशको बिरोध गर्छन्, सत्ताको बचाउ । बरु व्यापारीले अध्यादेशको व्यापारीले स्वागत गरिसके । अर्थतन्त्र चलायमान हुन्छ भनिँदै छ । व्यापारीले ठीक छ भनिसकेपछि सक्किगो नि ! पुल, बाटो र रेल बनाउन छैन तत्परता । रेल विभाग बनाएर कति ढुकुटी रित्तियो ?
ताप्लेजुङकै जनतालाई नचाहिएको केवलकार बनाउन किन ताहुरमाहुर गरिन्छ ? त्यहाँ गोली नै चलिसक्यो । केवलकार बनाउन गोली चलाउने सरकारले अस्पताल, बाटो र पुल बनाउन किन बोली चलाएन ? पूर्व–पश्चिम राजमार्ग निर्माणको गति सुस्त छ । हुलाकीमार्गमा माईको पुल नबनेको वर्षौं भइसक्यो । मेलम्चीको पानी आइपुग्यो भनेर सिंहदरवारमा बनाइएको पानीको धारामा कमिला कुदेका छन् । सिंहरदवारभित्र संरचना ठडिएका ठडियै छन् । फाष्ट ट्र्याक कहिले बनिसक्ला ? बरु दमक टावर भाडामा लाग्दै छ । चीनमैत्री पार्क काँसघारी भइसक्यो । अब त्यहीँ कतै स्पोर्टस् एकेडेमी खोल्ने रे ! यस्ता कुरामा कसलाई छ चिन्ता ?
त्यही त, गन्तव्य सही भएपछि कसैको पनि डर हुन्न रे ! तर, यहाँ हात्ती, कमिला र मुसा बिरालाको छलजस्तो स्थिति छ । सत्तासीनहरू बीचमै मेल छैन, आपसमै डर छ । आफ्नै घरमा मुसा पसेपछि अर्काको के भर हुन्छ र ? सहकारी क्षेत्र तहसनहस भयो । कसैलाई पक्रेर थुन्दैमा पीडितको पैसा पाइन्छ र ? सहकारी अध्यादेश ल्याउँदैमा अब छविहरूले पैसा तिर्लान् ? तैपनि भनिँदै छ, अर्थतन्त्र लयमा फर्कंदै छ भनेर । अब सत्ताको गति बढ्छ । गिरिबन्धुको बगान बेचिन्छ । अरु सबै भ्रष्टाचारका फाइल बन्द हुन्छन् । खोलानाला सुकुम्बासीलाई बाँडिन्छ अनि हाम्रा पालामा जग्गा दिएको हो भनेर भोट मागिन्छ । र, वर्षौंसम्म चुनावमा त्यही गीत बजाइन्छ । मनमोहन अधिकारीका पालामा शुरु गरिएको वृद्ध भत्ताको आज पनि गीत गाइन्छ । सत्ता जोगाउन अनेक गरिन्छ यहाँ । महेश बस्नेत र ऐन महरहरू खुलेआम भाषण ठोक्छन् । शोभा पाठकहरू जेल जालान् । आशिका तामाङलाई पक्राउ गरिसकियो । सत्तासीन दलमा असमझदारी छैन भन्न शंकर पोखरेललाई भ्याइनभ्याइ छ । अब कसले भन्छ, यो देशमा सरकार छैन भनेर । गर्दै छ त काम ।
एकपटक अशान्ति बढेपछि गाउँले मिलेर ठूलाठालुकहाँ गएछन् र भनेछन्– केही गर्दिनुपर्यो । गाउँमा अशान्ति बढ्यो, चोरीचकारी बढ्यो । अनि कहिल्यै नमिल्ने ठूलाठालुहरू भेला भएर बुद्धि लगाउँदै भनेछन्, अब हामी तिमेर्को समस्याको समाधान गर्छौं । त्यो एउटा जमाना थियो, ठूलाठालु मिलेपछि कुरै सकिन्थ्यो । सामन्तहरू मिलेपछि गाउँमा तत्काल शान्ति छाउँथ्यो । बलियाले हात मिलाएपछि अरुको कामै थिएन । तैपनि, ठूलाठालुहरू मिल्दैमा गाउँमा शान्ति आएन । अझ बढी अशान्ति छायोे । गोरुचोरी बढ्यो । कुखुरा हराए । त्यो एक प्रकारको मूर्दाशान्ति थियो । स्खलनपछिको निद्राजस्तो ।
बूढापाकाहरू भन्थे– डर न भरको मान्छे काम लाग्दैन । बरु कडा शासन भएका देशमा डर छ । मध्यपूर्वमा राजतन्त्र छ, देश बनेको छ । युरोप, अमेरिकामा लोकतन्त्र छ, देश बनेको छ । देश बन्नुमा तन्त्रले फरक पार्दैन तर शासन कडा होइन, प्रशासन कडा चाहिन्छ । यहाँ त ठीक उल्टो छ । यस्तै अर्को भनाइ छ । डरको शासन र रहरको आसन हुनुपर्छ रे ! यहाँ शासनमा होइन, कानुनमा होइन, बरु शासकमा डर छ, प्रशासकमा डर छ । मन नमिले पनि सँगै बसेका छन् । न विचारको लडाइँ छ, न आचारको प्रश्न । न भविष्यको चिन्ता, न देशको । छ त आजको चिन्ता मात्र । एक छाक भात, आलु र टमाटरको । शंकर कोइरालाको एब्स्ट्रयाक्ट चिन्तनः प्याज निबन्धजस्तै ।
टिप्पणीहरू