ओलीको माया लाग्छ भन्दै सरकारको विरोधमा नबोल्न निर्देशन
गत असार १७ गते एमाले र कांग्रेसबीच भएको सात बुँदे सहमति अनुसार एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री छन् भने गठबन्धन तलमाथि नभएमा अबको करिब १७ महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् । तर, कांग्रेसका दोस्रो तहका नेताहरुले खुलेयाम सरकारको आलोचना गर्न थालेपछि प्रधानमन्त्री ओलीले सभापति देउवामार्फत् चुप लगाइरहेको अवस्था छ ।
कांंग्रेस नेतृत्वले पार्टीका नेताहरुलाई किन सरकारविरुद्ध नबोल्न निर्देशन दिइरहेको छ त ? कारण हो- जसोतसो ओलीको पालो सकाएर आफू छैठौँ पटक प्रधानमन्त्री बन्ने सभापति देउवाको भोक । त्यसैले सरकार जतिसुकै आलोचित हुँदा पनि देउवा चुइङ्क बोलेका छैनन् ।
माघ १४ गते बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा आफ्नै नेताहरुलाई ‘सरकारको धेरै आलोचना नगर्नू’ भन्दै झपारेका देउवाले सार्वजनिक मन्चबाट पनि सोही कुरा दोहोर्याएका छन् । आज पोखरामा आयोजित जिल्ला पार्टी सभापतिहरुको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीसँग ‘जेलमा सँगै बसेको भएर माया लाग्ने’ पनि बताए ।
सभापति देउवाले प्रधानमन्त्री ओलीप्रति आफू ढुक्क रहेको र अविश्वास गर्नुपर्ने कुनै कारण नरहेको समेत स्पष्ट पारे । ‘ओली जी र म सँगै जेलमा बसेका साथी हौँ । धेरै दु:ख र कष्ट थियो, हामीलाई जेलभित्रको पनि जेलमा राखियो, माया लाग्छ’, उनले भने, ‘हामी दलको हिसाबले मुख्य प्रतिस्पर्धी भए पनि उहाँलाई अविश्वास गर्नुपर्ने केहि कारण छैन ।’
मुलुकमा राजनीतिक स्थिरता कायम गर्न लोकतन्त्रको लागि सँगै लडेको साथीसँग सहकार्य गरेको देउवाले सुनाए । ‘उहाँ र मैले देशको लागि सँगै दु:ख गरेका छौँ, दुवै पार्टी लोकतन्त्र स्थापनाको लागि लडेका हुन्, अहिले मिलेर सरकार बनाएका छौँ’ उनले थपे ।
उनले पार्टीका नेता तथा कार्यकर्तालाई स्थिर सरकारको लागि भए पनि धेरै नबोल्न दोहोर्याएर निर्देशन पनि दिए । उनले भने, ‘केही समस्या आउँछन्, त्यसलाई समाधान गरेर जानुपर्छ । स्थिरता भयो भने चाँडो विकास हुन्छ, धेरै बोल्नुहुन्न ।’
टिप्पणीहरू