मामाहरुले नै सताउने थाहा हुँदाहुँदै लखेटियो ती नानीलाई ...

‘मलाई यहाँबाट लग्यो भने मामाले मार्छ’ भन्थिन् उनी । केही साताअघि माइती नेपाल चितवनमा भेट्दा आमाले जिन्दा या मूर्दा लिएर जान्छु भनेको सुनाउँदै थिइन् । उनले भनेजस्तै कुकृत्य मधेसतिर भएको पनि छ । हालै केही दिन अघिमात्रै मोरङमा एउटी बालिकालाई आफ्नै आमाबाबु र मावली मिलेर मारेको घटना बाहिरिएकै बेला उनलाई यताबाट पठाइएको छ ।
पहिले आमाबाबु नै आएर लान खोज्दा पनि गएकी थिइनन् । ‘मामाघरमा लगेर बेसरी कुट्छन्,मारेर भागी भनिदिन पनि सक्छन्’, हामीसँग यही भनेकी थिइन् उनले । विराटनगर–५ मा प्रेम सम्बन्धकै निहुँमा आमाबाबु र मावली परिवार मिलेर १४ वर्षीया चाँदनी यादवको हत्या गरी खाल्डो खनेर शव गाडेको अवस्थामा शुक्रबार फेला परेको थियो । मृतक चाँदनीको पनि मावली नेपाल र घर भारतमा हो ।
चितवनबाट अस्ति भारततर्फ पठाइएकी मुस्लिम चेली मामाघर रौतहटको सिमरा, भवानीपुरबाट भागेर आएपछि भरतपुरमा सहाराको रुपमा भेटिएका एक पुरुषसित पतिपत्नीसरह बस्दै थिइन् । एकदिन अचानक राति मामा पुलिस लिएर आए । भरतपुर,बसेनीस्थित घरबाट पुरुषलाई रातारात प्रहरी हिरासतमा लगेर उनलाई माइती नेपालको संरक्षण गृहमा राखिएको थियो ।
‘मामाघरमा लगेर बेसरी कुट्छन्,मारेर भागी भनिदिन पनि सक्छन्’, हामीसँग यही भनेकी थिइन् उनले ।
आफू २३ वर्ष भएको बताउने खातुन थरकी उनी हेर्दा पनि युवतीझैं देखिन्छिन् । तर उनका मामा र आमाबाबुहरुले बालिका नै भएकी बताउँदै पुरुषमाथि शुरुमा जबरजस्ती करणीकै मुद्दा चलाउन खोजेका थिए । पछि अभद्र व्यवहार कसुरमा २०/२२ दिन थुनेर पुरुषलाई छोडियो भने केटीलाई दुई महिना चार दिन माइती नेपालमा राखेर अन्ततः आमाबाबु भएतिरै पठाइएको हो ।
उतिबेला छोरी जान नमान्दा भारतको पञ्चायतबाट १७ वर्ष जनाउने गरी बनाएर ल्याएको कागज चितवन प्रहरीमा पेश गरी फर्केका आमाबाबु त्यसपछि सम्पर्कमै आएनन् । यहाँबाट प्रहरीले नै दैनिक जसो फोन सम्पर्क गर्दा पनि अरु बच्चाले उठाउने तर उनीहरु सम्पर्कमा नआउने अवस्था भयो । यता अहिलेसम्म उनको उमेरकै यकिन नभइरहेको स्थितिमा श्रीमान भनिएका पुरुषसँग जिम्मा लगाउने कुरो पनि भएन । इण्डियाको संघ–संस्थासित समन्वय गरेर माइती नेपालले उनलाई पुर्याउन लगेको जिल्ला प्रहरी कार्यालय चितवनको महिला तथा बालबालिका शाखा प्रमुख प्रहरी निरीक्षक निलम तामाङ बताउँछिन् । उनलाई पठाउने सम्पूर्ण व्यवस्था माइती नेपालले नै गरेको डिएसपी ज्ञानकुमार महतोले बताए ।
पछिल्लो समय आफैं जान तयार भएर उनलाई आमाबाबु भएको ठाउँमा पठाइएको माइती नेपाल चितवनका प्रमुख ईश्वर गिरीले बताएका छन् । बताइएअनुसार केटीको घर भारतको बिहार हो । आमाबाबु उतै बस्छन् । मानव बेचविखन तथा लैंगिक हिंसाविरुद्ध काम गर्ने भारतकै एकजना सामाजिक अभियन्ता स्वच्छ रक्सौल संस्थाका अध्यक्ष रन्जित सिंहसँग सम्पर्क गरी सुरक्षित रुपमा माइती नेपालकै महिला कर्मचारीको साथ लगाएर उनलाई पठाएको बताइएको छ ।
केटी पढे लेखेकी छैनन् । सानैदेखि मामाघरको घरधन्दा,खेतीपाती र वस्तुभाउको काम गरेर हुर्किएको बताउने उनले मामाले भनेजस्तो नहुँदा हातखुट्टा बाँधेर,बेल्ट फुकालेर पिट्नेदेखि लिएर पछिल्लो समय आफूलाई बेच्न लागेको थाहा पाएपछि भागेर चितवन आएको सुनाएकी थिइन् ।
टिप्पणीहरू