जेलभित्र जताततै बिरामीको जोखिम

जेलभित्र जताततै बिरामीको जोखिम

एकातिर क्षमताभन्दा दोब्बर कैदीबन्दी, अर्काेतिर २ अर्ब बढी लागतमा निर्माण सम्पन्न भएका कारागारलाई उद्घाटन सकिएको ६ महिना बित्दासमेत पूर्ण क्षमतामा चलाउन कठिन । भदौमै विदुर नगरपालिका–६ स्थित खम्पाक्याम्प (चण्डीपोखरी) मा नुवाकोट कारागार बन्यो, जहाँका ४ ब्लकमा महिला र पुरुष गरी १ हजार ३ सय ७० जना कैदीबन्दी राख्न मिल्ने भए पनि हालसम्म आधाभन्दा कमलाई मात्र राखिएको छ । जबकि काठमाडौंको डिल्लीबजार, जगन्नाथदेवल, नख्खुलगायत कारागारमा क्षमताभन्दा दोब्बर कैदी छन् । 

देशभरका ७५ कारागारमध्ये सबैभन्दा धेरै कैदीबन्दी काठमाडौंको जगन्नाथदेवलमा छन् । त्यहाँ २०८ महिलासहित १८७७ कैदी छन् भने २८८ महिलासहित १६९२ थुनुवा गरी ३५७९ रहेकामा २९१ विदेशी छन् । कारागार व्यवस्थापन विभागका अनुसार यसको क्षमता २२ सय मात्र हो । यस्तै, डिल्लीबजार कारागारमा ३११ कैदी, ३२२ थुनुवा गरी ६३३ बन्दी रहेकामा ३३ विदेशी छन् । नख्खु कारागारमा ८९९ कैदी, ४८२ थुनुवा गरी १३८१ छन्, जहाँ विदेशी ९० लाई थुनिएको छ । जगन्नाथदेवलमा रहेकामध्ये २२ सयभन्दा बढी बिरामी छन् जसमध्ये १६९२ थुनुवा रहेको कारण स्थानान्तरण गर्न समस्या भएको सरकारी अधिकारीहरूको जिकिर छ । 

नख्खु कारागारबाट असोजसम्म ४ सयलाई स्थानान्तरण गरेर नुवाकोट पठाइएपछि त्यहाँ १३८१ कैदी छन्, जसको क्षमता एक हजार मात्र हो । यस्तै, डिल्लीबजार कारागारबाट १४ कैदी नुवाकोट पठाइएको छ । कैदीबन्दीमध्ये केही बिरामी र थुनुवा रहेको कारण सार्नमा समस्या भएको बुझिएको छ । हालै, निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइएको नुवाकोट कारागारमा भदौयता २३ महिलासहित ६९३ कैदी र ३८ थुनुवा गरी ७३१ कैदीबन्दी छन् । उक्त कारागारको क्षमता १३७० हो । सो कारागार निर्माणमा व्यापक अनियमितता भएको विषयले बजार गर्माइरहेको छ । नेपालका कारागारमा कूल २९ हजार ४ सय ८४ कैदीबन्दी छन् । जसमा महिला १६७०, कैदीतर्फ १७ हजार ३ सय ३३ पुरुष, ९६३ महिला गरी १८ हजार २९६ छन् भने १० हजार ४ सय ८१ पुरुष, ७०७ महिला गरी ११ हजार १ सय ८८ थुनुवा रहेको केन्द्रीय कारागार विभागले जनाएको छ । 

६५ बर्ष माथिका ४३९, आश्रित बालबालिका ८३ रहेका छन् भने १५१४ विदेशी नागरिक नेपालको जेलमा छन् । यस्तै, कैदी बालकको संख्या ७५२, कैदी बालिका २०, थुनुवा बालक ७६३, थुनुवा बालिका १६ गरी १३५१ बालबालिकालाई देशभरका ९ वटा बाल सुधार गृहको जिम्मा लगाइएको छ । जसमध्ये सबैभन्दा धेरै बालसुधार गृह बाँकेमा २६७, भक्तपुरमा २५६, मोरङमा २४१ रहेको बुझिएको छ । गत पुस मसान्तसम्मको आँकडाअनुसार, झापा कारागारमा १६९१ कैदी रहेकामा ७०९ थुनुवा हुन् । झुम्का सुनसरीमा १७४३, मोरङ कारागारमा ११०८, पर्सामा १३८० कैदी छन् । भीमफेदीमा १०६१ रहेका छन् । हाल देशका पाँच जिल्ला कारागारविहिन छन् । धनुषा, बारा, भक्तपुर, पूर्वी नवलपरासी, पूर्वी रुकुम जिल्लामा कारागार छैनन् भने काठमाडौँमा सेन्ट्रल, भद्रगोल (सुन्धारा) र डिल्लीबजार (चारखाल) छन् । यस्तै, दाङको घोराही र तुल्सीपुरमा पनि दुई दुई वटा जेल छन् ।

भारत, बेलारुस, पाकिस्तान, जाम्बिया, भुटान, क्यानाडा, बोलिभिया, बर्मा, चीनलगायत एक दर्जन देशका १५१४ विदेशी कैदीबन्दी छन्, ती कारागारमा । जसमा सबैभन्दा धेरै भारतीय छन् । कैद भुक्तान गरिरहेकामध्ये सबैभन्दा धेरै जबर्जस्ती करणीको मुद्दाका ९ महिलासहित ५४५६, लागुऔषधमा २४४ महिलासहित ३२५९, कर्तव्य ज्यानमा ३७७८, चोरी ९९८, सवारी ज्यान ६ सय छन् । विभिन्न ७४ मुद्दामा १८ हजार २९६ कैदी रहेकामध्ये ११ हजार १ सय ८८ थुनुवा छन् । पछिल्लो समय अपराध कर्ममा जोडिने नेपालीको संख्या बढ्दै छ । ०६८ असार मसान्तसम्ममा जम्मा १३ हजार ६८ कैदीबन्दी रहेकोमा १३ बर्षमा यो संख्या दोब्बर बढेर २९ हजार ४ सय ८४ पुगेको देखिन्छ ।
 

टिप्पणीहरू